‘दाउराको विकल्प एलपी ग्यास होइन, बिजुली चुलो ग्यासभन्दा सस्तो’ – Nepal Press

‘दाउराको विकल्प एलपी ग्यास होइन, बिजुली चुलो ग्यासभन्दा सस्तो’

पोखरा । केही समयअघिसम्म नेपालका सहरी क्षेत्रमै भान्साकोठामा काठ, दाउराको प्रयोग हुन्थ्यो । विज्ञान प्रविधिको विकास र सुविधाको चाहनाले नेपाली भान्साकोठामा ग्यास चुलोको प्रयोग बढ्दै गयो । ग्यासको प्रयोग सहरी क्षेत्रदेखि गाउँसम्मै फैलिएको छ ।

गाउँघरका अधिकांश भान्साकोठामा खाना बनाउन काठ, दाउरा होइन, ग्यासको प्रयोग गरेको पाइन्छ । एलपी ग्यासमात्रै वार्षिक ६५ अर्ब रुपैयाँको नेपालमा भित्रने गरेको छ । वार्षिक अर्बौं रुपैयाँ बाहिर जाँदा एलपी ग्यासको पनि विकल्प खोजिन थालिएको छ । विद्युतको पहुँच पुगेको धेरै क्षेत्रमा विद्युतीय चुलो प्रयोग हुन थालेको छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले भान्साकोठामा दाउराको विकल्प ग्यास नभएर विद्युतीय उपकरण भएको बताए । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यशालामा प्रमुख सचिव पन्थले आयातित उपकरण प्रमुख गर्नु राष्ट्रका लागि फाइदा नहुने जिकीर गरे ।

‘आयातीत इन्धनले खाना बनाइराखेका छौं । ती इन्धन हिजो पनि दाउराको विकल्प थिएन, आज पनि होइन र भोलि पनि हुने छैन’, उनले भने, ‘दाउराको विकल्प एलपी ग्यास होइन, विकल्पको रुपमा आफ्नै देशमा उत्पादन हुने बिजुलीबाट बल्ने चुलो हो । विद्युतीय चुलो प्रयोग नगरी सुखै छैन ।’

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालका प्रमुख नारायण ज्ञवाली एलपी ग्यासभन्दा विद्युतीय उपकरण सस्तो रहेको जानकारी दिए ।

‘अहिले विद्युत महसुलदर पनि सस्तो छ, ग्यास भन्दा विद्युतीय चुलो नै सस्तो पर्छ, ढुक्क भएर प्रयोग गरे हुन्छ’, उनले भने, ‘हामीले केन्द्रीय ल्याबमा पनि परीक्षण गरेर ग्यासबाट कति खर्च हुन्छ र विद्युतबाट कति खर्च हुन्छ भनेर एउटा प्राक्टिकल अनुभव गरेका छौं ।’ उनकै भनाइमा एक सिलिन्डर ग्यासलाई १८/१९ सय रुपैयाँ पर्छ, तर विद्युतीय चुलोबाट खाना पकाउँदा बिजुलीको महसुल त्यतिका तिर्नुपर्दैन ।

प्रदेश नीति तथा योजना आयोगका सचिव ऋषिराम तिवारीले ‘एक घर एक विद्युतीय चुलो’ कार्यक्रम तिनवटै तहको समन्वयमा अगाडि बढाउनुपर्ने बताए । हाल गण्डकीमा ९९.५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको उनले सुनाए ।

उनका अनुसार २ हजार ८८४ घरधुरीमा विद्युतको पहुँच पुगेको छैन । ‘गण्डकीका अधिकांश घरधुरीमा विद्युतको पहुँच पुगेको छ, विद्युतको पहुँच पुगेको घरधुरीमा विद्युतिय चुलो प्रयोग गर्न सजिलो हुन्छ,’ उनले भने ।

अजम्बरी विकास फाउन्डेसनका कार्यकारी निर्देशक सुवर्ण कपालीले विद्युतीय उपकरणको बारेमा ज्ञानको कमी भएको बताए । नेपाल जस्तो देशमा प्रयोग गर्न सहज भएको भन्दै उनले सबैलाई जनचेतना पुर्याउनुपर्ने उल्लेख गरे ।

‘विद्युतीय उपकरणको प्रयोगका बारेमा थाहा पाउन सकेका छैन, राइस कुकरको बारेमा केही थाहा होला । तर, धेरै उपकरणका बारेमा सबैलाई थाहा छैन, यसबारे जानकारी गराउनुपर्छ,’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेश प्रमुख जगदीश जोशीले भान्साकोठामा विद्युतीय उपकरणको प्रयोग सहज र भरपर्दाे रहेको जिकीर गरे । उनले भने, ‘विद्युतीय उपकरण सजिलो र भरपर्दाे छ । प्रयोग गर्दा चनाखो हुनुपर्छ । समस्या आउँछन्, समस्या नआउने गरी हामी अगाडि बढेका छौं, समस्या आयो भन्दैमा प्रयोग गर्न छोड्न हुन्न ।’

हिमवन्ती नेपालकी आरती श्रेष्ठले विद्युतीय उपकरण प्रयोगका बारेमा सबैलाई थाहा नभएकाले प्रयोगका जानकारी गराउन जरुरी रहेको बताइन् । उनले खरिद गर्दानै प्रयोग बारे सुसुचित गराउनुपर्ने उल्लेख गरिन् ।

‘सबै प्रदेशमा पुग्नुपर्छ जस्तो लाग्छ । ग्रामिण क्षेत्रमा पनि पहुँच पुग्नुपर्छ । प्रयोग गर्न नजानेको पनि हुन सक्छ । खरिद गर्दानै सबै बुझेर जानुपर्छ, जसले गर्दा प्रयोग गर्न सजिलो हुन्छ’, उनले भनिन् ।

पर्वतको फलेवास नगरपालिकाकी उपमेयर शोभाकुमारी क्षेत्रीले गाउँपालिकाले विद्युतीय उपकरण प्रयोगलाई प्राथमिकता दिँदै आएको बताइन् ।

‘विद्युतिय उपकरण प्रयोग गर्न गाउँपालिकाले पनि सहयोग गरेको छ । आएका समस्या समाधान गर्न विद्युत प्राधिकरणसँग सहकार्य गर्दै आएका छौं । आगामी दिनका यी कुरालाई समेटेर जान्छौं’, उनले भनिन् ।

गण्डकी प्रदेशको ऊर्जा मन्त्रालयका सचिव डा. सन्तोष कैनीले गण्डकीको पञ्चवर्षीय योजनामा १ लाख २५ हजार घरधुरीमा विद्युतीय चुलो पुर्याउने लक्ष्य राखिएको बताए ।

उनले कार्यविधि र मापदण्ड बन्न नसक्दा उक्त लक्ष्यअनुसारको काम अगाडि बढ्न नसकेको जिकीर गरे । ‘विद्युतीय चुलोसम्बन्धी कार्यविधि, मापदण्ड बनेको छैन, त्यसैले समस्या आएको छ,’ उनले भने, ‘कार्यविधि बनाउँछौं र काम अगाडि बढाउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *