सुदूरपश्चिम सरकार विस्तारको प्रारम्भिक खाका : कैलालीको वर्चस्व, महिला सहभागिता राज्यमा सीमित – Nepal Press

सुदूरपश्चिम सरकार विस्तारको प्रारम्भिक खाका : कैलालीको वर्चस्व, महिला सहभागिता राज्यमा सीमित

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री कमल बहादुर शाहले सरकार विस्तारको गृहकार्य गरिरहेका छन् । उनको हातमा मन्त्री बन्नेहरूको नाम पुगिसकेको छ तर, मन्त्रालयको भागबन्डा भने अझै मिलिसकेको छैन।

आफू मुख्यमन्त्री भएको भोलिपल्टै २७ माघमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई नियुक्त गरेका थिए ।

१०० दिनको उपलब्धी सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले हिजै सरकारलाई पूर्णता दिने दाबी गरेका थिए । तर, अहिले सम्म सरकारले पूर्णता पाउन सकेको छैन । आज सरकार विस्तार गर्ने तयारी भएपनि अहिले सम्म भागबन्डा मिलेको छैन । मुख्यमन्त्रीको गोजीमा रहेको नामहरू पनि असमावेशी रहेको आरोप सुरु भएको छ ।

मुख्यमन्त्री र भौतिक मन्त्री दुबै कैलालीका हुन् । माओवादीले मन्त्रीमा सिफारिस गरेका रमेश धामी, नागरिक उन्मुक्तिले मन्त्रीको लागि सिफारिस रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरी दुबै जना कैलालीका हुन् ।

उनीहरु दुबै जना मन्त्री भए मुख्यमन्त्री सहित सात मन्त्रालयमा ५ मन्त्री कैलालीका हुनेछन् । माओवादीले सिफारिस गरेका अर्का झपट साउद अछामका हुन् । काङ्ग्रेसबाट मन्त्री बन्दै गरेका पृथ्वी बहादुर सिंह बझाङका हुन् । कांग्रेसका पृथ्वी बहादुर सिंह र नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी मध्ये एक मन्त्री बन्ने छन् ।

सिंह मन्त्री भए कैलालीबाट मुख्यमन्त्री सहितका ७ मन्त्रालयमा ४ मन्त्री कैलाली हुने छन् चौधरी मन्त्री भए मुख्यमन्त्री सहित सात मन्त्रालयमा ६ मन्त्री कैलालीका हुने छन् ।

सुदूरपश्चिम प्रदेश साबिकका सेती र महाकाली अञ्चल मिलेर बनेका हुन् । तर, यस अघिका सबै र अब हुने सबै साबिक सेती अञ्चलबाट मात्रै समेटिएको आरोप पनि लागिरहेको छ ।

महाकाली अञ्चलमा कञ्चनपुर, डडेल्धुरा,दा र्चुला र बैतडी छन् । कैलाली पछि ठुलो निर्वाचन क्षेत्र रहेको कञ्चनपुर हो । कैलालीमा प्रतिनिधि सभा तर्फ ५ निर्वाचन क्षेत्र हुन् । प्रतिनिधि सभा तर्फ ५ क्षेत्र रहेको कैलालीमा फूल मन्त्री ४ जना बन्ने पक्का भइसकेको छ । नागरिक उन्मुक्तिले २ मन्त्रालय पाउँदा कैलालीबाट ५ मन्त्री हुने छन् ।

यता कञ्चनपुरमा प्रतिनिधि सभा तर्फ ३ क्षेत्र छन् । यहाँबाट अहिले सम्मको प्रारम्भिक खाका अनुसार कोही मन्त्री छैनन् । डडेल्धुराबाट माओवादीले गीता माललाई राज्य मन्त्री बनाउन सिफारिस गरेको छ । तर, यहाँबाट फुल मन्त्री शून्य छ । दार्चुलाबाट पनि फूल मन्त्री शून्य छ ।
मुख्यमन्त्री र अघि नियुक्त भएका दुई मन्त्री दुबै पुरुष हुन् ।

मुख्यमन्त्रीले पाएका नामहरूमा अहिले सम्म राज्य मन्त्री बाहेक महिला मन्त्री हुने सम्भावना छैन। राज्य मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पाउँदैनन् । यस अवस्थामा सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकमा महिला सहभागिता शून्य हुने अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर