जी-सेभेन समूहको सम्मेलनमा पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जी-सेभेन समूहको सम्मेलनमा सहभागिता जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपी का अनुसार जेलेन्स्की शनिवार हिरोसिमा पुगेका हुन् । उनी कूटनीतिक वार्ताका लागि हिरोसिमा पुगेको रिपोर्टमा उल्लेख छ ।
जापानले हिरोसिमा भ्रमण गर्ने जेलेन्स्कीको निर्णय रुस विरुद्ध आफ्नो राष्ट्रको रक्षालाई प्रभाव पार्ने वार्तामा भाग लिने उनको ‘बलियो इच्छा’ बाट प्रेरित रहेको जनाएको छ ।
ईयू अधिकारीलाई उद्धृत गर्दै एपीले जनाए अनुसार जेलेन्स्कीले आइतबार दुई सत्रहरूमा भाग लिनेछन् । पहिलो सत्र जी-सेभेन सदस्यहरूसँग मात्र हुने र युक्रेनको युद्धमा केन्द्रित रहने जनाइएको छ ।
दोस्रो सत्रमा जी-सेभेनसँगै आमन्त्रित अन्य राष्ट्रहरू समावेश हुने र सो सत्र शान्ति र स्थिरतामा केन्द्रित हुनेछ ।
यस्तै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानका अनुसार सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र जेलेन्स्कीबीच प्रत्यक्ष भेटघाट समेत हुनेछ ।