हुलाकी मार्गमा पर्ने पुल निर्माणमा दादागिरी, सम्पन्न गर्ने म्याद गुज्रेको ९ वर्षमा पनि बनेन – Nepal Press

हुलाकी मार्गमा पर्ने पुल निर्माणमा दादागिरी, सम्पन्न गर्ने म्याद गुज्रेको ९ वर्षमा पनि बनेन

विराटनगर । झापाको लेहेरा खोलामा पुल बन्न थालेको ७ वर्ष पुरा भयो । हुलाकी सडक मार्ग अन्तर्गत मेची रतुवा सडक खण्डको लेहेरा खोलामा पुल बनाउन २०७३ असार ३ गते लामा/बाम्ती जेभी काठमाडौसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०७५ साल असार २९ गते सम्ममा सो पुल बनिसक्नु पर्ने थियो । तर सम्झौताअनुसार पुल बनिसक्नु पर्ने म्याद गुज्रिएकै ५ वर्ष बितिसक्दा पनि सो खोलामा पुल बनेको छैन ।

हुलाकी सडक आयोजनाका अनुसार अहिलेसम्म सो पुलको प्रगति विवरण ८० प्रतिशत मात्रै सम्पन्न भएको छ । ४ करोड ६४ लाख ४१ हजार १६० रुपैयाँमा ठेक्का लागेको सो पुल बनी नसक्दा हुलाकी सडक आयोजन सञ्चालन हुन सकेको छैन ।

पटक पटक म्याद थप गर्दै लामा/बाम्ती जेभीले यस वर्षको असार मसान्त सम्ममा काम सम्पन्न गरिसक्नु पर्ने छ । तर यही गतिमा भइरहेको कामले थपिएको समय अवधिमा समेत कम सम्पन्न गर्न देखिँदैन ।

हुलाकी सडक आयोजना अन्तर्गत झापा, मोरङ र सुनसरीको खण्डमा लेहेरामा जस्तै अन्य ४ वटा खोलामा पनि वर्षौँदेखि पुल बन्न सकेको छैन ।

कोरोना लगायतका बाहाना बनाउँदै पहुँचका भरमा ठेकेदार कम्पनीहरूले पटक पटक म्याद थप गर्दै आएका छन् । पहुँच र प्रभावका भरमा सम्झौताको म्याद गुजार्दै म्याद थप गर्दै आएका ठेकेदारहरूले पुल निर्माणको काम सम्पन्न नगर्दा झापाको कनकाई, झापाकै सानो माई, बिरंङ र भुतानी खोलको पुल निर्माणको काम अलपत्र परेका छ ।

झापाको बिरङ्ग खोलामा २०७१ साल पुस ९ गते नै पुल निर्माण सम्पन्न भइसक्नु पर्ने हो । ठेकेदार कम्पनी लामा÷मैना चुली जेभीले काम सम्पन्न गरिसक्नु पर्ने मिति भन्दा ९ वर्ष ढिला हुँदा पनि पुल निर्माणको काम सम्पन्न गरेको छैन ।

सो पुल निर्माणका लागि २०६८ साल असार १३ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०७१ साल पुस १० गते निर्माण सम्पन्न गर्नु पर्ने उल्लेख छ । तर सम्झौता सकिएको ९ वर्ष बित्दा पनि पुलको काम सकिएको छैन ।

हुलाकी सडक आयोजनाका इन्जिनियर प्रमोद खतिवडाले पुल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत भएको बताए ।
सो पुल निर्माणका लागि १५ करोड ५० लाख ५८ हजार ६ सय रुपैयाँ बजेट विनियोजन भएको छ ।

२०७२ साल जेठ २ गते निर्माण सम्पन्न भइसक्नु पर्ने झापाको कनकाई नदीको पुलको भौतिक प्रगति ८० प्रतिशत मात्रै भएको छ ।

सो पुल निर्माणको ठेक्का पप्पु/महादेव जेभीले पाएको छ । ३४ करोड ९ लाख २ हजार ४७० मा सो पुलको ठेक्का सम्झौता २०६८ साल जेठ २ गते भएको थियो ।

सम्झौताअनुसार निर्माण सम्पन्न गर्नु पर्ने सो पुल निर्माणको काम अलपत्र हुँदा हुलाकी सडक आयोजना अन्तरगत मेची रतुवा सडक खण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

पटक पटक ताकेता गर्दा पनि पुल निर्माणको काम सम्पन्न नभएको हुलाकी सडक आयोजनाले जनाएको छ । यस्तै झापाकै सानो माई खोलाको पुल निर्माण पनि अलपत्र परेको छ । सो पुल निर्माणको ठेक्का निर्माण कम्पनी लामा/बाम्ती जेभीले नै पाएको छ । सो पुलको काम २०७५ साल असारमा सम्पन्न गर्नु पर्ने थियो ।

तर अहिलेसम्म पनि सो पुलको काम ९० प्रतिशत मात्रै भएको इन्जिनियर खतिवडाले बताए ।

झापाकै भुतनी खोलामा हुलाकी सडक आयोजना अन्तरगत ठेक्का लागेको पुलको काम पनि ९० प्रतिशत मात्रै भएको छ । सो पुल निर्माणका लागि ५ करोड ३० लाख ७६ हजार ४ सय रुपैयाँमा ठेक्का लागेको छ । २०७३ सालमा ठेक्का लागेको सो पुलको निर्माण २०७५ साल असारमा सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *