दिनभर आइजीपीदेखि एसएसपीसम्मकाे चटाराे, तर प्रहरीले आज बुझाउन सकेन प्रतिवेदन
काठमाडौं । आइतबार बिहानै आईजिपी बसन्तबहादुर कुँवर टेकुस्थित काठमाडौं प्रहरी परिसर आइपुगेका थिए ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्की त्यहाँ उपस्थित भइसकेका थिए ।
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउनुअघि आईजिपी कुँवरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय नेतृत्वसहितले समग्र अनुसन्धान र निचोडको प्रेजेन्टेसनका लागि उनलाई बोलाइएको थियो ।
आइजिपी प्रेजेन्टेसन हेरर फर्किएपनि एआईजी ज्ञवालीसहित दुई एसएसपी दिनभर जसो टेकुमै थिए। अन्तिम कानुनी परामर्शका लागि अधिवक्ता सुबास आचार्यलाई बोलाइएको थियो ।
प्रहरीले आइतबार अबेरसम्म लगाएर भएपनि अनुसन्धान प्रतिवेदन बुझाउने तयारी बिहानैदेखि गरेको थियो । तर साँझ प्रहरीले सम्भव नहुने निष्कर्ष निकाल्यो । सोमबार बिहान मात्र सरकारि वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार १ सय १२ जना पीडितबाट करिब २८ करोड ४० लाख रुपैयाँ ठगी भएको भन्दै जाहेरी परेको छ । हालसम्म यो प्रकरणमा १६ जना पक्राउ परेका छन् । प्रहरीले हालसम्म ३२ जनाको संलग्नता खुलेको भन्दै १६ जनालाई फरार प्रतिवादी बनाएर मुद्धा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिने तयारी गरेको छ ।
सरकारी वकिल कार्यालयले बुधबारसम्म काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिसक्नु पर्ने छ । ठगी, संगठित अपराध, सरकारी कीर्ते, राज्यविरुद्धकको अपराधमा मुद्धा चलाउन सिफारिस गर्ने प्रहरीले तयारी गरिरहेको छ । सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्ने छ ।
समाचारमा सुनेपछि आइतबार ६ जना पीडित सम्पर्कमा, गिरोहले धेरै पीडितलाई रोकेको आशंका
भुटानी शरणार्थी बनाएर आफूहरुलाई अमेरिका लैजाने नाममा ठगी भएको भन्दै थप ६ जना पिडित आइतबार प्रहरीकहाँ जाहेरी लिएर आएका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालका अनुसार उनीहरु सबै जना दोलखाका हुन् । कुल ५४ लाख रुपैयाँ ठगी भएको उनीहरुको दाबी छ । रामेछापका आङटावा शेर्पा पक्राउ परेको समाचार सुनेर आफुहरु उजुरी गर्न आएको उनिहरुले बताएका छन् ।
प्रहरीका अनुसार पूर्व सभासद् समेत रहेका आङटावाले उनिहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दे ठगी गरेको दाबी गरेका छन् । प्रहरी अधिकारीहरु यो गिरोहबाट ठगीएका सयौँ मान्छे अझै प्रहरीकहाँ आइनपुगेको बताउँछन् ।
‘यसो हेर्दा विभिन्न प्रलोभन र डर त्रास देखाएर पिडितलाई प्रहरीकहाँ आउनबाट रोकेको देखिन्छ । सायद बाहिरि आएपछी व्यवहार मिलाइदिन्छौँ भन्ने आश्वासन दिएको हुन सक्छ वा केही रकम दिएर थामथुम पारिरहेको पनि हुन सक्छ’, एक अनुसन्धान अधिकारी भन्छन् ।
थप जाहेरी परे फेरि अनुसन्धान हुन सक्छ
काठमाडौं प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरिरहँदा अधिकारीहरु यो प्रकरणमा थप जाहेरी परे फेरी अनुसन्धान हुने बताउँछन् । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणी न्यौपानेले पुरक अभियोगपत्रका रुपमा पेश गर्न सकिने बताए ।
‘अहिले दर्ता हुने अभियोग पत्र मुल अभियोग पत्रका रुप रहन्छ। पछि जाहेरी परे पुरक अभियोग पत्रका रुपमा अदालतमा पेश हुने छ। फैसला हुँदा मुल अभियोग पत्र र पुरक अभियोग पत्रलाई सँगै राखेर फैसला हुन्छ’, उनले भने ।
तर उनले एउटै घटनामा एउटै व्यक्तीलाई दुईपटक सजाय नहुने बताए। ‘यदी यो अभियोग पत्रको फैसला आएपछि जाहेरी पर्यो भने अहिलेका प्रतिवादीलाई थप कैद सजाय हुँदैन तर बिगोको हकमा भने उनिहरुलाई पनि कायम हुन सक्छ’, न्यौपानेले भने ।
प्रहरीले तीन पुस्ते खुलाएर प्रतिवादी कायम गरेको अवस्थामा उनिहरु अहिले नै प्रतिवादी कायम हुनेछन् । त्यसबाहेक अन्य अवस्थामा प्रहरीले फेरी पक्राउ गरेर ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।