सुदखोरहरूले धनकुटा मृत शहर भयो भनेर हल्ला चलाए : मेयर तामाङ (भिडिओ) – Nepal Press
नेपाल टक

सुदखोरहरूले धनकुटा मृत शहर भयो भनेर हल्ला चलाए : मेयर तामाङ (भिडिओ)

विराटनगर । राणाकालमै पल्लो किराँत क्षेत्रको सदरमुकाम धनकुटा थियो । त्यहाँ बडाहाकिम बस्ने गर्थे । पञ्चायतकालमा पूर्वाञ्चल विकास क्षेत्रको राजधानी धनकुटा थियो । यहाँ प्रशासनिक अड्डा अदालतहरू थिए । पूर्वी पहाडी जिल्लाहरूको शिक्षाको हबको रूपमा धनकुटा विकास भएको थियो । श्री ३ वीरशमशेर पनि एक पटक धनकुटाका बडाहाकिम भएका थिए । राणाकालमा निर्वाशित श्री ३ देवशमशेरलगायतका कैयौं राणा एवं शाहहरू पनि धनकुटा आइपुगे । जसले धनकुटा बजार गुलजार हुँदै गयो ।

हालका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर क्षेत्र तत्कालीन धनकुटाबाटै प्रशासित थिए । राणाकालमा शिक्षा, स्वास्थ्य, संस्कृति तथा व्यापारको केन्द्रका रूपमा धनकुटा परिचित थियो । राजधानी काठमाडौंपछि पाल्पा, धनकुटा, डोटी जस्ता ठाउँहरू पनि केन्द्रका रूपमा गणना हुन्थे । उचित हावापानी भएकै कारण राजधानीबाट लखेटिएका शाह र राणाहरू धनकुटा बस्न रुचाउँथे ।

पञ्चायती व्यवस्थामा पनि धनकुटा पूर्वाञ्चलको राजधानी थियो । अड्डा अदालत यही थिए । पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र रहेको हुँदा क्षेत्रीय कार्यालयहरू धनकुटामै थिए । यसले गर्दा केही चहलपहल भने कायमै थियो । धनकुटा प्रशासनिक केन्द्रका रूपमा विकास हुँदै जाँदा शिक्षामा पनि स्वाभाविक विकास र विस्तार हुँदै आयो । समाजले गुरुकुल परम्पराअनुसार परम्परागत रूपमा लिइने शिक्षाको विकल्प पनि खोज्दै थियो । राणा शासकमध्ये देवशमशेर केही उदार स्वभावका थिए ।

शिक्षाप्रेमी जयपृथ्वीबहादुर सिंहले देवशमशेरसित मिलेर देशका विभिन्न स्थानमा भाषा पाठशाला स्थापना गरे । सोही क्रममा धनकुटामा पनि भाषा पाठशाला स्थापना भएको थियो । १९९७ सालमै धनकुटामा अस्पताल खुलिसकेको थियो । पूर्वी पहाडमा सबैभन्दा पहिला धनकुटामा मोटर बाटो पुगेको थियो । तर, पछिल्लो समय भने धनकुटा प्रशासनिक केन्द्रको रूपमा रहन सकेन । प्रदेशको राजधानी धनकुटा सरेसँगै यहाँबाट प्रशासनिक कार्यालयहरू विराटनगर सारिए । यसैले धनकुटालाई धेरैले मृत शहरको परिभाषित गरिरहेका छन् ।

कुनै बेलाको प्रशासनिक केन्द्र धनकुटा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट मेयरमा चिन्तन तामाङ विजयी भए । एक कार्यकाल मेयर भएका तामाङ दोस्रो कार्यकालका पुनः निर्वाचित भएका छन् । उनै मेयर चिन्तन तामाङसँग नेपाल प्रेसले धनकुटाको गौरवपूर्ण इतिहास र अहिलेको अवस्थाका विषयमा गरेको कुराकानीः

– अहिले धनकुटाको चमक नै हरायो हैन ?

मान्छेको अधिकारको कुरा पनि हुन्छ । यसो हेर्दाखेरी धनकुटाका मान्छेहरू धेरै धनी भए जस्तो पनि लाग्छ । मान्छेहरू धनी छन् । त्यसैले महँगो घर घडेरी भएको ठाउँमा घर किनेर बस्नु त सामान्य जस्तो हुन थालेको छ । त्यसलाई रोक्न सकिन्न । तर, गाउँमा जो बस्छन्, खेतीपाती गर्छन्, जीवन निर्वाह त्यसैमा गर्छन् भने ती मान्छेहरूलाई राम्रो वातावरण बनाइदिएर गाउँमै पूर्वाधारहरू पुर्‍याएर राख्ने कुरामा हामी सजग छौं । त्यत्रो माइग्रेसनको दर छैन ।

– तर, कतिपयले यहाँका सबै सुविधा सरिहाल्यो । यो चाहिँ मृत शहरमा परिणत हुन थाल्यो, अवसरहरू सबै गयो भन्छन् नि ?

त्यो फटाहा मान्छेहरूले भन्ने कुरा हो । मैले भन्ने गरेको छु । धनकुटामा केही भएन । खतम भो भन्ने तर आफू चाहिँ धनकुटाले मान सम्मान प्रतिष्ठा पैसा दिएपछि भागेर जाने ? उदाहरण छ त !

गाउँमा जो बस्छन्, खेतीपाती गर्छन्, जीवन निर्वाह त्यसैमा गर्छन् भने ती मान्छेहरूलाई राम्रो वातावरण बनाइदिएर गाउँमै पूर्वाधारहरू पुर्‍याएर राख्ने कुरामा हामी सजग छौं ।

डीआईजी दिनेश अमात्यलाई हेर्नुस् । उहाँले ५ करोड रुपैयाँ लगानी गरेर मुरचुंगा होटेल खोल्नु भएको छ । यो हाम्रो शान हो । उहाँका कारण रोजगारी पाएका छन् । यहाँको साग बिकिरहेको छ । धनकुटामा केही भएन भन्नेहरूलाई म त बुर्जुवाहरू भन्छु । सबै कुरा धनकुटाले दियो । अनि लगानी चाहिँ काठमाडौं र विराटनगरमा गर्ने ? अनि यहाँ केही भएन भन्ने ? केही नभएको भए उनीहरूलाई त्यत्रो धनसम्पत्ति, मान प्रतिष्ठा कसले दियो ? काठमाडौं र विराटनगर जाने हैसियत कसले दियो उसलाई ? त्यो हैसियत र सामर्थ्य यही धनकुटाले दिएको हैन । धनकुटाका लागि केही गर्नुपर्दैन ?

धनकुटाका लागि योगदान हुँदैन ? गर्नुपर्दैन ? सबै कुरा स्थानीय सरकारले मात्रै गर्नसक्छ ? तर, निजी क्षेत्रका पूँजीपतिहरूले पनि लगानी गर्नुपर्दैन ? यो मृत शहर भएको होइन । राम्रो शहर भइरहेको छ । अहिले पनि बजारमा गएर हेरौं । मान्छेको फ्लो बढेको छ । घरहरू बनेको बनै छन् । राम्रो भइरहेको छ । यहाँको ५० प्रतिशतभन्दा बढी बजारका साहु महाजनहरू बाहिर छन् । यही धनकुटाले दियो होला नि ?

– यही कुरा त धनकुटामा हामी बस्न सक्ने भएनौं । त्यहाँको सरकारले लगानीको वातावरण बनाउन सकेन । त्यही भएर धनकुटा छाडेर हिँड्नु पर्‍यो भन्छन् नि ?

बहाना हो के यो । त्यो सबै बहाना हो । यहाँ के थियो भने नि ! यहाँका धेरैजसो साहु महाजनहरू ब्याजमा पैसा लगाउने सुदखोरहरु थिए । तर, अहिले परिस्थिति फेरियो । अहिले बैंकहरू आएका छन् । गाउँगाउँमा सहकारी आएका छन् । लघुवित्तले महिलाहरूलाई लगानी गरेको छ । ब्याजको धन्दा बन्द भयो । अब त्यो हुन छाड्यो । यहाँ कमाइहाले यति भा पुग्छ भन्ने ढङ्गले उनीहरू उता गएका हुन् । उनीहरूले योगदान दिनुपर्छ । आउनुस् फर्किएर । मैले पटक पटक भनेको छु । धनकुटा बनाउन तपाईंहरुको योगदान छ । आउनुस् फर्किएर ।

– फर्किएर आउनेहरूलाई पनि स्थानीय सरकारले लगानीको वातावरण बनाइदिनुपर्‍यो नि ?

के गर्दैन ? के गरेको छैन ? सबैको घर छ यहाँ । भोट हाल्न चाहिँ आएछन् । अरू व्यवसाय गर्न आउँदा भो नि ! एउटा उद्योग खोलिदिँदा भयो नि ! एउटा बैंक नै खोले पनि हुन्छ । सहकारी खोलिदिँदा पनि भो नि ! पैसाको फ्लो बढ्छ । रोजगारी सृजना हुन्छ । ग्रामीण क्षेत्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । त्यो गर्नुपर्‍यो नि ! गरे भो नि ! बाहिर बस्ने अनि केही भएन भनेर हल्ला गरेरमात्रै भयो ? यसरी हल्ला गरेर झन् धनकुटाको विकासमा समस्या हुन्छ ।

हामीले समाजका विविध पक्षलाई हेर्नुपर्छ । शिक्षा, स्वास्थ्य, खेलकुद आदिलाई पनि हेर्नुपर्छ । यसले धेरे कुरा नदेखिएका होलान् । तर, नगरवासीहरू सन्तुष्ट छन्, निराश छैनन् ।

– धनकुटा कृषिको केन्द्र । यहाँले निर्वाचनका बेला पनि कृषि क्षेत्रको प्रवर्द्धनको काम गर्ने भन्नुभएको थियो, कृषिको विकासका लागि के गरिरहनुभएको छ ?

हो, हामीले भनेका थियौं । हामीले त्यहीअनुसार कृषि उत्पादनको बजारीकरणका लागि काम गरेका छौं । कृषकको घरैसम्म पुग्ने बाटोको सञ्जाल विस्तार गरेका छौं । किसानका खेतमा व्यापारीहरु पुग्न सक्छन् । घरैबाट कृषि उत्पादन बिक्री हुन्छ । अझै हामीले बाटोको सञ्जाल विस्तार गर्ने काम गरिरहेका छौं । बिचौलियाहरूका कारण केही समस्या छन् । जति मूल्य पाउनुपर्ने हो, त्यो पाउन सक्नुभएको छैन । तर, उत्पादित वस्तुहरूको बजारको समस्या छैन ।

एभोकाडोको समस्या होला कि भनेर हामीले ४ वर्ष अगाडि नै प्रशोधन उद्योग खोलेका थियौं । त्यो सञ्चालनमा छ । हामीले के भनेका छौं, १५-२० बोट रोप्नेले पनि वर्षको पाँचसात लाख रुपैयाँ आम्दानी गर्न थालेका छन् । एभोकाडोले फल दिन थालेको छ । १० वर्षभित्र यहाँका ५० प्रतिशत किसानहरूले अतिरिक्त आम्दानी गर्न सक्छन् । लाखौं रुपैयाँ आम्दानी हुन्छ । एभोकाडोको खेतीबाट । हामीले समाजका विविध पक्षलाई हेर्नुपर्छ । शिक्षा, स्वास्थ्य, खेलकुद आदिलाई पनि हेर्नुपर्छ । यसले धेरे कुरा नदेखिएका होलान् । तर, नगरवासीहरू सन्तुष्ट छन्, निराश छैनन् ।

कोभिडका कारण २ वर्ष काम गर्न सकिएन । पहिले पनि मैले भनेको थिएँ- फूलैफूलको शहर बनाउनुपर्छ भनेर । पर्यटनको प्रवर्द्धन गर्छ भन्ने लागेको थियो । अर्काे महत्त्वपूर्ण कुरा धरानबाट मूलघाटको लेउती खोलासम्म सुरुङ मार्ग बनाउने घोषणा गरेको थियो । यो भएको भए धनकुटा रिभाइभ हुन्थ्यो । प्रदेश सरकारले बजेटमा राखेको भए हुन्थ्यो । खालि नीति तथा कार्यक्रममा मात्रै आयो । प्रदेश सरकारले केही पनि गरेन । त्यसैले हाम्रो क्षमताअनुसार हामीले काम गरिरहेका छौं । तर, मेघा बजेटहरू आएको छैन । सङ्घ र प्रदेशले पनि मेघा बजेट हालेन । नगरको बजेटले मात्रै धेरै काम गर्न सकिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर