मेहनतले बनायो अब्बल, दूधकोशीदेखि विश्वमै सफल – Nepal Press

मेहनतले बनायो अब्बल, दूधकोशीदेखि विश्वमै सफल

काठमाडौं । सामान्यतया ठूला भनिने र महंगा शैक्षिक संस्थाहरु (स्कुल, कलेज)मा अध्ययन गरेकाहरु गुणस्तर र प्रस्तुतीमा अब्बल हुन्छन् भन्ने मानिन्छ । यो निकै गहिरिएर जरा गाडिएको विचार छ । अब्बल मानिएका र ठानिएका विद्यालयहरुमा शिक्षा हासिल गरेका मात्रै सर्वैसर्वा हुन् वा हुन सक्छन् भन्ने धारणा विश्वमै व्याप्त छ ।

तर के साँच्चै बजारमा चर्चा गरिएजस्तै अवस्था हो त ? मान्छेको जीवनमा हासिल हुने सफलता, स्वास्थ्य, खुशी र सन्तुष्टि विश्वस्तरीय स्कुल कलेज पढेकाले मात्रै प्राप्त गर्छन् त ?

यसलाई शत प्रतिशत सही मान्न सक्ने अवस्था छैन । यो कुनै विचार मात्रै होइन तथ्यले यसलाई प्रमाणित गर्दछ ।

बिजनेस इन्साइडरले उल्लेख गरेको एक तथ्यांकअनुसार २१ प्रतिशत सेल्फमेड अर्बपतिहरु विश्विद्यालयमा ‘ए’ ग्रेड हासिल गरेका विद्यार्थीहरु रहेका छन् । त्यस्तै, ४१ प्रतिशत अर्बपतिहरु ‘बी’ ग्रेडको शैक्षिकस्तरका रहेका छन् भने २९ प्रतिशत सफल अर्बपतिहरु भने ‘सी’ ग्रेड शैक्षिक उपलब्धि भएका हुँदा ७ प्रतिशत सफलहरु भने औसतभन्दा तल शिक्षाको स्तर रहेका देखिएको छ ।

यसरी हेर्दा सफल हुनेहरुमा ७७ प्रतिशत व्यक्तिहरु मध्यमस्तरका शैक्षिकस्तर हासिल गरेका मानिसहरु रहेको देखिन्छ । हुन त यो तथ्यांकले सबै विश्लेषण गर्छ भन्न सकिँदैन तर पनि संकेत भने गर्दछ ।

नेपालको हालै सार्वजनिक जनगणनाको तथ्यांक हेर्दा ७६.२ प्रतिशत मानिसहरु साक्षर छन् ।

त्यस्तै, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्ने १२.७ प्रतिशत, स्नातक पास गर्ने ४.७ प्रतिशत र स्नातकोत्तर उपाधि हासिल गर्ने २.२ प्रतिशत जनसंख्या छ । यो आफैंमा निकै कम हो । त्यसका पछाडिका विभिन्न कारण होलान् ।

त्यस्तै, हाल नेपालमा १६ वटा विश्वविद्यालय रहेका छन् । जसमा वि.सं. २०१६ सालमा खुलेको त्रिभुवन विश्वविद्यालय पहिलो र मधेश विश्वविद्यालय पछिल्लो समय स्थापना भएको हो ।

त्रिविको तथ्यांक हेर्दा हाल ४ लाख २२ हजार बढी विद्यार्थी अध्ययनरत छन् भने अन्यमा करिब एक लाख गरी हाराहारी ५ लाख विद्यार्थीहरुले उच्च शिक्षा हासिल गरिरहेका छन् ।

अहिले देशमा दक्ष जनशक्तिको अवस्था मोटामोटी रुपमा हेर्दा राजनैतिक, प्रशासनिक, व्यवसायिक एवम् अन्य क्षेत्रमा पनि करिब ९० प्रतिशत जनशक्ति त्रिविबाट उत्पादित रहेका छन् । हुन त यसमा पनि अब्बल र महंगा कलेजहरु छन् ।

तर आमरुपमा देशको नीति निर्माण तहमा भने औसत तहका विद्यार्थीहरु पुगेका देखिन्छन् । त्यस्तै, अर्को विषयलाई केलाउँदा देशको प्रशासन सञ्चालनको क्षेत्रमा पनि औसत विद्यार्थीहरुले प्रतिस्पर्धामा उत्रिएर आफूलाई स्थापित गरेका छन् ।

यी केही दृष्टान्त मात्रै हुन् जहाँ औसत कलेज, विश्वविद्यालयमा निरन्तर गरेका मेहनतले मानिसलाई सफल र अब्बल बनाउँछ ।

नेपालको परिपेक्षमा बुढानिलकण्ठ, सेन्ट जेभियर्स, एलए जस्ता कलेज वा अन्य महंगा ठानिएका शिक्षण संस्थामा पढेकाहरुको अवस्था तुलनात्मक रुपमा फरक हुने धेरैजसोको बुझाइ रहेको छ । हुन त एउटा अध्ययनले के देखाएको छ भने महंगा वा कहलिएका विश्वविद्यालयमा ‘बी’ ग्रेड ल्याउनेले सामान्य विश्वविद्यालयमा ‘ए’ ग्रेड ल्याउनेभन्दा १९ प्रतिशत बढी धन कमाएको वा सफलता हासिल गर्ने गरेका छन् ।

अर्को अवस्था अब्बल महंगा विश्वविद्यालयमा पढेकाहरुले सफलता पनि हासिल गरेकै छन् । तर औसत भनेर नजरअन्दाज गरिएका संस्थाहरुबाट अध्ययन गरेकाहरुले आफूलाई अनवरत मेहनत, परिश्रम, सीप र दक्षताले निखार्दै लैजाँदा अब्बल विश्वविद्यालयका उत्पादनसँग प्रतिस्पर्धा मात्रै होइन उत्कृष्ट नै बन्न सक्छन् भन्ने धेरै उदाहरण छन् । जसमध्ये एउटा नाम हो– अर्जुन घिमिरे ।

विश्वमा हेर्दा लण्डनको वेस्टमिन्सटर स्कुल, अमेरिकाको स्कुल फर एड्भान्सड स्टडी (एसएएस), इटोन कलेज, मायो कलेजलगायत विद्यालय तथा विश्वविद्यालयमा पढेका मानिसहरु अवश्यम्भावी राम्रा हुन्छन् भन्ने विषयलाई विशेष ग्राहयता दिइन्छ ।

घिमिरे यस्ता पात्र हुन् जो नेपालको दूधकोशीको बगरमा खेलेका, हुकेर्का साथै त्यहाँ पौडेर गाउँकै विद्यालयमा शिक्षा सुरु गरेका आज विश्वका नामी र गुणस्तरीय विश्वविद्यालयमा प्राध्यापन गराइरहेका छन् त्यो पनि पश्चिमा उन्नत जीवनस्तरका मानिसहरुलाई ।

राम्रा स्कुल/कलेज अत्यन्तै जरुरी छन् । तर विश्वस्तरीय किसिमका कलेज/विद्यालय नभएको अवस्थामा पनि निरन्तर योजनावद्ध मेहनत गरेको खण्डमा अब्बल ठहरिन सक्छ भन्ने एउटा गतिलो नमुना हुन् घिमिरे ।

राम्रा ठानिने, महंगा मानिने विद्यालयमा पढ्न पाउनु सुअवसर पनि हो । तर उच्चस्तरीय, विश्वप्रसिद्ध वा राष्ट्रकै अब्बल विद्यालयहरु नहुँदा पनि मानिसले अनवरत मेहनत, परिश्रम, झुकाव एवम् प्रणालीलाई आत्मसात गरेको अवस्थामा एउटा विद्यार्थी उच्च स्थानमा पुग्न सक्छ, प्रतिस्पर्धी रहिरहन सक्छ, उदाहरणीय रहिरहन सक्छ । उसले विशेष किसिमको पहिचान बनाउने सम्भावना उत्तिकै निहित हुने गर्दछ ।

यस्ता राम्रा भनिएका स्कुलले समाजमा एउटा असामाजिकीकरणको अवस्था पनि सिर्जना गरेको घिमिरे बताउँछन् । विशेषगरी आवासीय स्कुलहरुमा सामाजिकीकरणको ठूलो खडेरी रहेको उनको बुझाइ छ ।

बुढानिलकण्ठलगायत अन्य निजी तथा सरकारी आवासीय स्कुलहरुले सामाजमा स्थापित बुबाआमाका काखमा रहिरहेका साना साना (७-१० वर्षका) बालबालिकाहरुलाई एउटा कृत्रिम समाजमा राखेर सामाजिकीकरण गराउने कोसिस हुने घिमिरे बताउँछन् ।

‘त्यो कारणले गर्दा यस्ता विद्यार्थीहरु लामो समयसम्म त्यस्ता आवासीय विद्यालयमै रहिरहँदा पुनः समाजमा घुलमिल हुन, सामाजिक हुन नसकेको तर्क मानवशास्त्री एवम् सामाजशास्त्रीहरुको तर्क रहँदै आएको हुन्छन्’, उनले भने, ‘यसमा धेरै हदसम्म उनीहरुको तर्कलाई स्वीकार गर्ने मात्रै नभएर ज्वलन्त देखिने अवस्थाका चित्रण भएको हामीले देख्न सक्छौं ।’

त्यस्ता विद्यालयहरुले विद्यार्थीहरुको रैथाने एवम् मौलिक सीप, ज्ञान पूर्णरुपले चटक्कै बिर्सिएर एउटा आयातीत ज्ञान र सीपका लागि मात्रै एक किसिमको निश्चित पाठ्यपुस्तक र पाठ्यवस्तु समेट्नलाई मात्रै राखिएका र राख्न लगाइएका हुने घिमिरेको बुझाइ छ ।

दूधकोशीले सिकाएको जिन्दगी

ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं. १ (साविक तलुवा गाउँपालिका)मा जन्मिएका घिमिरे आफ्नो बाल्यकालका हरियाली भोगाइलाई नै जीवनको बलियो आधार ठान्छन् ।

दूधकोशीको त्यो गाउँले परिवेश जहाँ दुई घण्टाको बाटो हिँडेर विद्यालय जानुपर्थ्यो । विद्यालयमा पूर्णरुपले बस्ने स्थान हुँदनथ्यो । कहिलेकाहीँ शिक्षकको अभाव, सबै विषयका शिक्षकहरु नभएको अवस्था, गुणस्तरीय शिक्षाको अवस्था जर्जर थियो । भएका शिक्षकहरु पनि तालिमप्राप्त अब्बल थिएनन् ।

यद्यपी, त्यस्ता विद्यालयहरुमा पाठ्यपुस्तकको सहयोगले वा भएकै स्रोत र साधनहरुको उपयोग गर्दै, आफ्नो घर गाउँमा काम गर्दै नियमित जस्तो गाई बाख्रा चराउँदै, घाँस काट्दै, दाउरा खोज्दै दैनिकी चलाउने अवस्था थियो । नेपाली बालकको एउटा औसत जीवन थियो ।

त्यहाँ उपलब्ध भेटिने ढुंगा खेल्ने । त्यहीँका ढुंगाहरुबाट खेल बनाएर (ढुंगा लडाउने खेल), भकुण्डो खेल्ने अवस्था थियो । जे छ त्यसैमा रमाउने, सानो कुरामा खुशी हुने अवस्था थियो । जीवनको एउटा उत्तम सीपले त्यहाँ आफूहरुलाई साचो अर्थमा समाज र मानवीयता सिकाएको घिमिरे स्मरण गर्छन् ।

त्यहीँका काठ, ढुंगा प्रयोग गरेर डण्डी बीयो खेल्ने गरेको सम्झिँदै उनी ति खेलहरुलाई फुटबल, क्रिकेटसँग तुलना गर्छन् ।

‘यिनीहरु पूर्ण विकसित, प्रणालीगत खेलहरु थिएनन् । यद्यपि, यिनीहरुमा डण्डी बीयोमा क्रिकेटको केही भाव छ । भकुण्डोमा भलिबलको केही आभास छ, अलिअलि फुटबलको पनि भाव समावेश छ । त्यस्तै, गट्टामा पनि कतिपय कुराहरु चेसलगायत खेलको भाव महसुस हुन्छ’, घिमिरे भन्छन्, ‘यी ज्ञानहरु मात्रै हामीले लिएनौं हामीले त्यहाँ माला बुन्न, डोको नाम्लो बनाउन, हलो जुवा बनाउन र त्यसलाई प्रयोगमा ल्याएर खेतबारी जोत्न, खेतमा रोपाईं गर्न पनि हामीले अत्याधिक राम्रोसँग जान्यौं । हामी खेल्दै, हुर्कँदै, स्वभाविक रुपमा सामाजिक बन्दै हामीले यी सबै आधारभूत जीवनकलाका सीपहरुलाई अनुसरण गरिसकेका थियौं ।’

आफूहरु कुनै पनि बेला गाउँमै फर्किएर समाजमै घुलमिल भएर जीवन बाँच्न कठीन नहुने उनको तर्क छ । जसमा आफूले बिताएका तिनै स्वर्णिम स्मृति र भोगाइ अनि अनुभवले साथ दिने उनी बताउँछन् ।

उनले भने, ‘हामीलाई कुनै पनि समयमा फेरि हाम्रो गाउँले परिवेशको परिवारमै फर्किएर फेरि हाम्रो समाजमै फर्किएर आफ्ना पुराना रैथाने मौलिक ज्ञान, सीप, दक्षता र सम्भावनालाई प्रयोग गरेर जीवन जिउन, अगाडि बढ्न कुनै पनि गाह्रो छैन । हुने छैन ।’

‘तसर्थ कृत्रिम सामाजिकीकरणमा रहेका जति पनि आवासीय विद्यालयका उत्पादनहरु हुन्छन्’, घिमिरे भन्छन्, ‘तिनीहरु अपवादमा भन्दाबाहेक आफ्नै समाज वा आफ्नै देशमा गएर केही गरेको आफ्नै परिवारमा गएर परिवार तथा समाजका हितका लागि केही गरेको वा त्यही समाजमा रहेका उदाहरणहरु विरलै अपवादमा मात्रै भेटिन्छन् ।’

जसका कारण परिवारले त्यो विद्यार्थीमा गरेको लगानी, समाजको दायित्व, राष्ट्रप्रतिको जिम्मेवारी पूर्णरुपले हटेर गएको, भुलेर गएको स्थिति रहेको आजको अवस्था रहेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

‘विद्यार्थी आफैंलाई त्यो समाजमा फर्केर सामाजिकीकरण गर्न गाह्रो हुन्छ भने समाजले उबाट धेरै आश गर्न सक्ने स्थिति त झनै हुँदैन । हामीहरु दूधकोशीको फेँदीमा जन्म्यौं’, आफ्नो बाल्यकाल सम्झिँदै घिमिरे सुनाउँछन्, ‘मजस्ता कैयौं विद्यार्थीहरु एउटा खोंचमा वा डाँडाकाँडामा जन्मियौं । उनीहरु त्यो डाँडाको हावापानी, त्यसको भूगोलसँग खेल्दै रम्दै, त्यहाँ माटो सुहाउँदो खेलहरु आत्मसात गर्दै अगाडि बढियो ।’

शिक्षा हासिलमा औसत विद्यालयका अब्बल विद्यार्थी

आजको अत्याधुनिक र जहाँ पनि प्रतिस्पर्धालाई बढवा दिने विश्वमा हेर्दा पनि यसको महत्व रहेको हुन्छ । तर विश्वस्तरीय विद्यालय वा कलेजले मात्रै यसको भूमिका निभाउँछन् भन्ने भ्रममा पसेनन् घिमिरे ।

गाउँकै हिमालय माविबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेका घिमिर बाल्यकालदेखि नै रुपान्तरण र क्रान्तिकारी स्वभावका थिए । उनले उच्च अंक ल्याएर प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण त गरेनन् । तर आफ्नो अनवरत मेहनत गर्ने हुटहुटी भने कहिल्यै छोडेनन् । उनको परिश्रमले एसएलसीमा भेटिएका छोडिँदै गए । यो क्रममा प्रवीणता प्रमाणपत्र एवम् स्नातक तहसम्म आइपुग्दा पनि चल्यो । साथीहरु छुटे ।

विविध विषयको अध्ययन गर्ने बानी उनको त्यही बेलादेखि सुरु भएको थियो । दुवै विषय शिक्षाशास्त्रबाट अर्थशास्त्र, भूगोल र राजनीतिशस्त्र र मानविकीबाट अंग्रेजी तथा अर्थशास्त्र प्रमुख विषय राखेर उनले एकैपटक प्रवीणता तह उत्तीर्ण गरे ।

त्रिविअन्तर्गतको महेन्द्र रत्न क्याम्पसबाट दुईवटा मुख्य विषय मानविकी तथा समाजशास्त्रबाट अंग्रेजी र अर्थशास्त्रमा स्नातक पनि गरे भने शिक्षाशास्त्र तर्फ भूगोलमा छुट्टै तीन वर्षीय र जनसंख्या अध्ययनमा छुट्टै तीन वर्षीय अध्ययन गरेपछि लेखनमा उनी सक्रिय बन्न थाले ।

त्यसैगरी, त्रिविबाटै चारवटा विषयमा स्नातकोत्तर तहसमेत पूरा गरे । त्यस्तै, काठमाडौं विश्वविद्यालयबाट शिक्षा तथा विकास अध्ययनमा उत्कृष्ट अंक (विशिष्ट श्रेणी)सहित दर्शनचार्य (एमफील) पनि उत्तीर्ण गरे ।

त्यतिमात्र होइन उनले आफ्नो त्यो परिश्रमप्रतिको सम्मान र शिक्षार्जान प्रतिको भोकले गर्दा विश्वप्रसिद्ध महंगा छात्रवृत्ति प्रतिस्पर्धाबाट हासिल गरे ।

हाल खोज, अनुसन्धानको कार्य दुईवटा विषयमा एकैपटक गरिरहेका छन् । एउटा प्रोडक्टि इफिसियन्सी, टेक्निकल इफिसियन्सी र इकोनोमिक अफ स्केल आर्थिक दरलगायतमा जारी छ ।

त्यस्तै, अर्को विषय चाहिँ क्लिनिकल साइकोलोजीअन्तर्गत प्रोफेसनल एडाप्टाबिलिटी (पेशागत अनुकूलन), रेसिलियन्स (प्रतिस्पर्धात्मक स्थिति) एण्ड डिभलपमेन्ट (विकास)मा अनुसन्धान जारी छ ।

विश्वस्तरमा उत्कृष्ट प्रतिस्पर्धी बन्न सफल

घिमिरेले अहिलेसम्म गरेका अध्ययनमा उत्कृष्टता हासिल गरेका छन् ।

जसका केही उदाहरणका रुपमा घिमिरेले जर्मनीको बर्लिनमा रहेको हम्बोल्ड (पहिले सेन्ट्रल बर्लिन युनिभर्सिटी) मा पनि उत्तरस्नातकोत्तर गर्दा (एमफील सरहको अध्ययन) सस्टेनेबल इकोनोमी एण्ड कर्पोरेट सोसल रेस्पोन्सिबिलीटीमा पढ्दा पनि उच्च अंक हासिल गरे । उनी फर्स्ट क्लास फर्स्ट कक्षाको सर्वोत्कृष्ट विद्यार्थी बन्न सफल भए ।

त्यस्तै, उनले फ्रान्सको टुलुज स्कुल अफ इकोनोमीक्समा पनि इन्टरनेसन रिजनल एण्ड जोग्राफीकल प्लानिङमा भन्ने विषयमा पनि उत्तरस्नातकोत्तर (एमफील) गर्ने अवसर प्राप्त गरे । त्यसमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्न सफल भए ।

बहुआयामिक क्षमताको शिलशिलामा विश्वकै उत्कृष्टमध्येको छात्रवृत्ति प्राप्त गरेर पोर्चुगल पुगेपछि घिमिरे त्यहाँको नोभा विश्वविद्यालयकाे परीक्षामा पनि विश्वभरीका विद्यार्थीहरुलाई उछिनेर २० पूर्णांकमा १९ जुन ९८ प्रतिशतभन्दा बढी ‘ए’ ग्रेड ल्याएर उत्कृष्ट विद्यार्थी ठहरिँदै अगाडि बढ्न सफल भए ।

त्यही विश्वविद्यालयमा आफू आमन्त्रित प्राध्यापकको रुपमा उभिएर काम गरिरहेका छन् ।

त्यस्तै, सन् २०१२ देखि २०१६ सम्म जर्मनीको सेन्ट्रल युनिभर्सिटी अफ बर्लिन, टलोज स्कुल अफ इकोनोमी र बर्डक्स विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीको रुपमा घिमिरेले काम गरे ।

उनी विश्वविद्यालयबाट हुने विभिन्न कन्फेरेन्स, भेलाहरुको पनि अगुवाइका साथ नेतृत्व लिन्छन् । विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा पनि शिक्षा, अर्थशास्त्र पढाउने मौका उनलाई प्राप्त हुने गरेको छ ।

हाल पनि उनी पीएचडीसम्मका लागि पुस्तक लेख्ने गर्छन् । ‘एडभान्स्ड माइक्रो इकोनोमिक्स टुडे’ एमफील र पीएचडीको कोर्स मात्रै संलग्न गरेर तयार गरिएको पुस्तक छ ।

सन् २०१७ मा घिमिरेले अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा अर्थशास्त्र शिक्षाका लागि पीएचडी गर्न आइपीआरएस छात्रवृत्ति हासिल गरे । उनले त्यहाँ दुई वर्ष अध्ययन गरे जसमा तीनवटा सेमेस्टर र रिसर्चको एउटा अध्ययन गरे ।

जसमा उनको विषय थियो, ‘टेक्निकल इफिसियन्सी, ड्रपआउटस् एण्ड इकोनोमीज अफ स्कुलः अ जिओ सोसल एनालाइसिस अफ पब्लिक एण्ड प्राइभेट स्कुल इन नेपाल ।’ त्यहाँ पनि उनले ‘ए’ ग्रेड ल्याएर आवश्यक पेपरको अध्ययन सके, तीन वटा आफ्नो प्रस्तावना पत्रहरुको एकाइहरुको पनि अध्ययन बुझाए । त्यो स्वीकृत भएपछि फिल्डमा हिँड्ने अवस्था आयो तर आफू युरोपमा विभिन्न कारणले बस्नुपरेपछि भने स्थानान्तरण गरेर पुनः त्यसलाई आडि बढाइरहेको घिमिरे बताउँछन् ।

उनले हाल पोर्चुगलको नोभा विश्वविद्यालयबाट क्लिनिकल साइकोलोजीअन्तर्गत मल्टिपर्स्पेक्टिभ स्टडी अफ सोसल स्टडीज टिचर्स इन नेपालमा विशिष्टिता हासिल गरिरहेका छन् ।

यस्ता विश्वस्तरीय अवसरबाट उनलाई अर्थशास्त्र तथा शिक्षामा गहिरो ज्ञान हासिल गर्ने एवम् दख्खलता विकास गर्ने स्थिति बन्यो ।

यसबाट आफूले आफ्नो परिवार, समाज तथा देशमा राम्रो तवरले टेवा पुर्याउन सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गइरहेको घिमिरेले बताउँछन् ।

‘अहिले मैले हाम्रो देशका शिक्षा प्रणाली, अर्थतन्त्रलाई एकदमै नजिकबाट नियालिरहेको छु । यसलाई नजिकबाट मूल्यांकन गरिरहेको छु’, उनी बताउँछन्, ‘त्यसको वर्तमान समस्याको निराकरण के हुन सक्छन् भनेर राम्रा खालका व्यवहारिक समाधानका उपायहरु खोजीरहेको र त्यसका ति संयन्त्रहरु पनि विकास गर्दै अगाडि बढिरहेको छु ।’

उनले आफूजस्तै साथीहरुले स्वदेश फर्केर शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतलगायतका क्षेत्रमा अर्थशास्त्रीय दृष्टिकोण प्रयोग गरी शिक्षाको मनोवैज्ञानिक दृष्टिकोण, शिक्षाका फराकिलो दायराको उपयोग गरेर कसरी जनमानसलाई शिक्षित बनाउन सकिन्छ भनेर सोच्ने गरेको बताउँछन् ।

‘शिक्षाका माध्यमबाट कसरी सबै नागरिकलाई आर्थिकरुपले सक्रिय बनाउन सकिन्छ, परिवार, समाज तथा देशमा रहेका स्रोत र साधनको कसरी अधिकतम प्रयोग गरी तिनीहरुको उत्पादकत्व क्षमता, त्यसको प्राविधिक क्षमता तथा त्यसको आर्थिकस्तर वृद्धि कसरी गर्न सकिन्छ भनेर पूर्णरुपले देन दिने लक्ष्यका साथ कार्म गर्ने आफ्नो ध्येय छ’, उनी भन्छन् ।

आफूले हरेक विद्यालयलाई मात्रै आफ्नो जीवन बनाउने जिम्मा दिने, विश्वविद्यालयलाई मात्रै आफ्नो जीवनका आयामलाई निखार्ने जिम्मा दिनेभन्दा जुन विद्यालय, विश्वविद्यालयबाट पढ्दै आएपनि आफ्नो नियमित अध्ययन, अनुसन्धान तथा अथाह मेहनतले हामीलाई त्यस क्षेत्रको सर्वोत्कृष्ट व्यक्ति बनाउन सक्छ भन्ने उदाहरण बन्न सकिने उनको अनुभव छ ।

सम्पूर्ण उत्कृष्ट विद्यालयमा पढ्ने मानिसहरु सबै उत्कृष्टै हुन्छन् भन्ने हुन्न मेहनत गर्दा औसत मान्छे पनि अब्बल बन्न सक्ने उनी ठान्छन् ।

‘सामान्य औसत विद्यालय विश्वविद्यालयमा पढेरै पनि नियमित अध्ययन, अनुसन्धान र परिश्रम गर्दा आफ्नो अतीतको स्थितिमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ र अरुभन्दा प्रतिस्पर्धी रहेर फलदायी, परिणामुखी स्थिति सिर्जना गर्न सकिन्छ भन्ने मेरो बुझाइ र ठम्याइ छ’, घिमिरे आफ्नो अनुभव व्यक्त गर्छन् ।

शिक्षक, स्तम्भकारदेखि लेखकसम्मको यात्रा

गाउँबाटै प्रवेशिका उत्तीर्णपछि काठमाडौं आएर प्रवीणता प्रमाणपत्र तह पढ्दै गर्दा जीवनका क्षितिजहरु फराकिला हुँदै गएको घिमिरे स्मरण गर्छन् । उनी कराँतेतर्फ पनि क्षेत्रीयस्तरको प्रदर्शन गर्न सफल भएका थिए ।

उनले विभिन्न विश्वस्तरीय विश्वविद्यालयहरुको छात्रवृत्ति प्राप्त गरे ।

कान्तिपुर दैनिक, द राइजिङ नेपाल, द काठमाडौं पोस्ट, समाचार पत्र, गोरखापत्र, स्पेस टाइमलगायतमा प्रमुख स्तम्भकारको रुपमा र सबैभन्दा बढी लेख लेख्ने व्यक्तिको रुपमा आफूलाई घिमिरे स्थापित गरे । कतिसम्म भने जतिबेला हालका स्थापित लेखकहरुको सुरुवाती लेख छाप्दै गर्दा उनको भने लेखहरु बाहिरी कभर स्टोरीका रुपमा छापिने गर्थे ।

जसबाट आफ्नो अभिव्यक्ति सीप पूस्फुटित भएको उनको बुझाइ छ । अंग्रेजी र नेपाली दुवै भाषामा उनले सशक्तरुपमा कमल चलाए । त्यही समयमा उनले उपन्यास पनि लेखे ।

उनले विद्यालयरुमा उत्कृष्ट शिक्षकका रुपमा आफूलाई प्रस्तुत गरे ।

अंग्रेजीकाे महत्व बुझेर प्रवीणता प्रमाणपत्र तह पढ्दादेखि नै अंग्रेजी कमजोर महसुस गर्दै निजी विद्यालयहरुका जिरो कक्षादेखि कै पुस्तकहको अध्ययन गरेको उनी बताउँछन् ।

‘नेपाली भाषामा १० वर्ष लगाएर प्रवेशिका परीक्षा गरियो भने यता अंग्रेजी भाषामा पनि १ देखि ३ कक्षासम्म पढाउँदै पढ्दै, अनि फेरि ५ कक्षासम्म पढाउँदै पढ्दै, अनि ८ कक्षासम्म पढाउँदै पढ्दै त्यसपछि १० हुँदै १२ कक्षासम्म पढाउँदै पढ्दै एउटा प्रतिस्पर्धी उत्कृष्ट शिक्षककै रुपमा प्रदर्शन गर्दै अघि बढियो’, घिमिरे बताउँछन् ।

स्नातकोत्तर गर्ने बेलासम्ममा त ५/७ वटा उनका पुस्तक नै प्रकाशित भइसकेका थिए ।

उनले सामाजिक अध्ययनको पाठ्यक्रममा आधारित भइ २०५५ सालदेखि नै अंग्रेजी माध्यममा पाठ्यपुस्तक लेखे भने नेपाली माध्यममा पनि पाठ्यपुस्तक लेखन, तालिम सामग्री तयार पार्ने तयार तथा तालिम दिने कार्यमा टेवा पुर्याए । २०६३ सालको पाठ्यक्रम परिमार्जन गर्ने क्रममा उनले सामाजिक अध्ययन तथा भूगोलको पाठ्यक्रम परिमार्जन तथा पाठ्यपुस्तक लेख्ने कार्यमा सहकार्य गरे ।

स्नातकोत्तर सक्दा नसक्दै आफ्नै गुरुहरुसँगै प्रतिस्पर्धा गरेर स्वर्णपदकधारीलाई समेत उछिन्दै उनले एसओएसमा स्थायी जागिर पनि खाए । आफ्नो १६ वर्ष स्थायी जागिरको दौरानमा पदोन्नतिका साथै आफ्नो सशक्त वर्चस्व कायम गर्न उनी सफल भए ।

नेपाल सरकारको पाठ्यक्रम तथा पाठ्पुस्तकमा नयाँ आयाम ल्याउन उनको पनि भूमिका छ ।

सक्षमतामा आधारित कम्पिटेन्सी बेस्ड म्यानुअल शिक्षकहरुलाई तालिम दिनका लागि कार्यपत्रका रुपमा बनाइयो र त्यसअन्तर्गत तालिम दिने कार्यलाई निरन्तरता दिन पनि घिमिरेको योगदान छ ।

‘वैकल्पिक पुस्तकहरु तयार गर्यौं । स्रोत पुस्तकहरु बनायौं । अनि स्रोत सामग्रीहरु पनि बनायौं’, उनी भन्छन्, ‘यसरी समयको अन्तरालमा मैले सन् २००२ देखि २०१० सम्म नेपाल सरकारलाई भूगोल, सामाजिक अध्ययन तथा अर्थशास्त्रको पाठ्यक्रम विकास गर्न पाठ्यपुस्तक लेख्न तथा शिक्षकका तालिम दिनेहरुलाई मास्टर ट्रेनर प्रशिक्षकको रुपमा शिक्षक तथा मानव साधन केन्द्रमा रहेर कार्य गरियो ।’

उनका पुस्तकहरु निजी क्षेत्रतर्फ पनि निकै लोकप्रिय रुपमा चलेका थिए । घिमिरेकै नेतृत्वमा सामाजिक अध्ययन, जनसंख्या, अर्थशास्त्र, भूगोलका अंग्रेजी माध्यमका पुस्तकहरु पनि निकालए । आफ्नो तीन दशकको सक्रिय समयमा करिब चार दर्जन पुस्तक जति पुस्तक प्रकाशित हुन सफल भएका छन् ।

उनले विभिन्न विश्वविद्यालयहरुमा अतिथि लेक्चररको रुपमा पनि कार्य गरे ।

पुस्तक लेख्ने, लेखाउने, गाउँमा पनि राजनीतिक चेतना जगाउन भूमिका खेल्ने, राजनीतिक पार्टीमा पनि बुद्धिजीवि परिषदको जिम्मेवार भूमिका निर्वाह गरेका घिमिरेले विविध किसिमका कार्यक्रमहरु नीति नियमहरु जिल्लादेखि केन्द्रसम्म कार्य गरेका थिए ।

यसरी एउटा व्यक्तिले आफ्नो जस्तोसुकै पृष्ठभूमिको भएपनि निरन्तर प्रयासले विश्वस्तरमा आफूलाई स्थापित गर्दोरहेछ भन्ने बलियो उदाहरण घिमिरे बनेका छन् ।

देशको चिन्ता, परिवारको चिन्ता, आफ्नो समाजको चिन्ता एवम् जिम्मेवारी बहन गर्दै यी क्षेत्रमा पुर्याउनुपर्ने सम्पूर्ण टेवा पुर्याउँदै उनका तर्फबाट उनले गरेका छन् ।

घिमिरे विशुद्ध परिणात्मक तथा परिमाणात्मक बहुआयामिक विधिको अनुसरण गर्ने प्रशिक्षकको रुपमा पनि परिचित छन् ।

हरपल, हरदम आफ्नो समयलाई नेपाली मन तथा नेपाली पन सिर्जना गर्ने, नेपाल र नेपालीको हित र भलाइका लागि काम गर्ने शैक्षिक गुणस्तर सुधार गर्ने र सम्पूर्ण विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्नका लागि प्रेरित गर्ने जसले गर्दा आफैं एउटा उत्कृष्ट नमुना हुन सकिन्छ भन्ने प्रमाणित गर्न सकियोस् भन्ने हेतुले आफूले काम गरिरहेको उनी बताउँछन् ।

साहित्यदेखि समाज सेवामा पनि सक्रिय घिमिरे

घिमिरे आफूलाई परिवार मात्रै नभएर समाज र राष्ट्रमा पनि समर्पित गर्न रुचाउँछन् । जसमा उनकै सक्रियतामा अन्तर्राष्ट्रिय नेपाली समाजको स्थापना भएको छ । हाल उनी अन्तर्राष्ट्रिय अध्यक्ष छन् । जुन हाल दुई दर्जन बढी देशहरुमा समिति बनेर सक्रिय छ ।

यो संस्थाले नेपाली भाषा तथा साहित्यको संरक्षण र संवर्द्धनका लागि विभिन्न बहस, पैरवी, साहित्यक कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।

कोरोना महामारीको समयमा विभिन्न जिल्लाका अस्पतालहरुमा अक्सिजन कन्सन्ट्रेटर, मास्क, स्यानिटाइजरलगायत अत्यावश्यक सामग्री सहयोग गरेको थियो । त्यति मात्र होइन सिन्धुपाल्चोकमा गएको बाढीले पुर्याएको क्षतिमा खाद्यन्न सहयोग समेत गरेको थियो । घिमिरेले पोर्चुगलमा पनि समस्यामा परेकालाई खाना खुवाउने तथा अन्य आवश्यकीय सहयोग गर्ने गरेका छन् ।

त्यस्तै, उनले इन्टरनेशनल नेपाल थिंक टैंकको स्थापना गरेर विभिन्न बौद्धिक कार्यक्रमहरु आयोजना गर्ने गर्छन् ।

यसैगरी, घिमिरे अंग्रेजी र नेपाली साहित्यमा पनि रुचि राख्छन् । उनी नेपाली एवम् अंग्रेजी दुवै भाषामा कवितालगायत सिर्जनाहरु गर्दछन् भने उनका दुई वटा उपन्यासहरु प्रकाशोन्मुख छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर