उद्यानको औचित्य र चुनौती – Nepal Press

उद्यानको औचित्य र चुनौती

पृष्ठभूमि

उद्यान (पार्क) भनेको त्यस्तो भूमि हो, जहाँ मनोरञ्जन वा आराम गर्न रुख, फलफूल वा विभिन्न प्रजातिका वनस्पति रोपण गरिएको हुन्छ । पार्क प्राकृतिक वा मानव निर्मित दुबै हुन्छन् । त्यसबाहेक घाँसे मैदानलाई पनि पार्क भन्न सकिन्छ । जसमा खेल मैदान वा अन्य मनोरञ्जनका साधन पनि हुन सक्छन् ।

आधुनिक समाजमा पार्कको परिभाषालाई अलि फराकिलो दायराबाट हेर्ने गरिन्छ । तीव्र शहरीकरण, आधुनिकता र स्वतन्त्रताले गर्दा उद्यानको आवश्यकता बढ्दै र औचित्य थप हुँदै गएको छ । अब उद्यान केवल मनोरञ्जनको लागिमात्र हैन, पर्याप्त अक्सिजन प्राप्त गर्ने हिसाबले पनि अत्यावश्यक हुँदैछ । आजभोलि घरघरमा ससाना बगैंचा बनाउन थालिएको छ । कार्यालय, होटल, अस्पताल विद्यालय, मन्दिर सबैतिर बगैंचा राख्ने प्रक्रिया सुरु भएको छ । विवाह, पूजाआजा, पिकनिक वा यस्तै कार्यक्रम गर्न उद्यान नै रोज्न थालिएको छ । अर्थात् समाजको अभिन्न अङ्ग बनेका छन् उद्यानहरु ।

यसबाहेक पार्कहरू जैविक विविधताको संरक्षण र वातावरणीय हिसाबले प्रभावकारी बनेका छन् । वानस्पतिक जैविक अध्ययन अनुसन्धान गर्ने स्थल र समुदायको सामाजिक, सांस्कृतिक तथा राजनैतिक इतिहासका अङ्ग पनि बनेका छन् उद्यानहरु ।

अहिले उद्यानहरु अत्यावश्यक बने पनि तिनका ऐतिहासिक सन्दर्भ पनि जोडिने गरेका छन् । केही उद्यानहरू सामरिक, ऐतिहासिक घटनाको दर्शनीय स्थल बनेका छन् । जबकि केही त्यसको नीति वा अर्थ व्यवस्थासँग सम्बन्धित छन् ।

अमेरिकामा सन् २०१७ अक्टोबरमा हजार जना अमेरिकी मेयरको सम्मेलनले १० मिनेटको हिँडाइमा पार्क भन्ने प्रस्ताव एकमतले पारित गरेको थियो । जसअनुसार अमेरिकीहरुमा दस मिनेटको हिँडाइमा हरेक शहरबासीले पार्क भेट्टाउनुपर्छ भन्ने मान्यता छ । नेपालमा पनि पछिल्लो चरणमा पार्कहरु समाजका अभिन्न अङ्ग बनेका छन् । खासगरी २०६२/०६३ सालपश्चात् यस्ता उद्यानहरु व्यापक रुपमा बन्दै गएका छन् ।

तीव्र शहरीकरण, आधुनिकता र स्वतन्त्रताले गर्दा उद्यानको आवश्यकता बढ्दै र औचित्य थप हुँदै गएको छ । अब उद्यान केवल मनोरञ्जनको लागिमात्र हैन, पर्याप्त अक्सिजन प्राप्त गर्ने हिसाबले पनि अत्यावश्यक हुँदैछ । आजभोलि घरघरमा ससाना बगैंचा बनाउन थालिएको छ ।

शहरीकरण बढ्दै जाँदा उद्यानको संख्या र औचित्य बढ्दै जान्छ । विश्वव्यापी रुपमा हेर्दा आधाभन्दा बढी जनसंख्या शहरहरूमा बस्छन् । यो संख्या सन् २०५० सम्ममा ६६ प्रतिशत पुग्ने अपेक्षा एसिया र अफ्रिका महादेशमा तीव्र रुपमा भएको शहरीकरणले संकेत गरेको छ । यस अर्थमा उद्यानहरु केवल मनोरञ्जनका स्थानमात्रै हैनन्, स्वास्थ्यका हिसाबले पनि अत्यावश्यक हुन्छन् । सुरुमा यिनको उपादेयता तदनुसार भए पनि अहिले स्वास्थ्यमैत्री पनि हुन जरुरी छ । जनसंख्याको वृद्घि, तीव्र शहरीकरण, पृथ्वीको तापमानमा वृद्घि, कामकाज गर्ने चरित्रमा परिवर्तनका कारणले स्वास्थ्यमैत्री पार्कको महत्वलाई बढाएको छ ।

नेपालमा शहरीकरणलाई आधिकारिक रूपमा नगरपालिकाको जनसंख्याको आधारमा परिभाषित गरिएको छ । आज देशमा महानगर, उपमहानगर र नगरपालिका गरी २९३ वटा छन् । यसरी हेर्दा राष्ट्रिय जनसंख्याको करिब दुईतिहाइ नगरपालिकामा बसोबास गर्छ । यस आधारमा उद्यानहरु धेरै संख्यामा थप हुने निश्चित छ ।

कतिपय पार्कहरु राजनीतिक आन्दोलनसंँग जोडिएर पनि आएका छन् । उदाहरणको लागि न्यूयोर्कको सेन्ट्रल पार्कलाई मानव अधिकारको समर्थनमा आयोजित गरिएको र्‍यालीसँग जोडेर हेरिन्छ । नेपालमा सहिदको नाममा प्रशस्तै पार्कहरु बनेका छन् । तर, खास प्रसङ्गलाई जोडेर अर्थपूर्ण बनाउन सकेको देखिँदैन । पछिल्लो चरणमा पोखरादेखि नजिकै स्याङ्जा जिल्लामा गोर्खा स्मारक पार्कको अवधारणा सार्वजनिक भएको छ । यसबाट नागरिकमा देशभक्तिको सञ्चार गराउन सकिन्छ । जसले साँच्चिकै नामअनुसारको उद्यान बनाउने लक्ष्य लिएको देखिन्छ ।

उद्यानहरु सभ्य समाजका लागि अत्याधुनिक संरचना हुन् । मानिसहरुबीचमा संवाद, भेटघाट, छलफल, अन्तरक्रिया आदि हुने थलो उद्यान हुन् । बच्चाबच्चीलाई घुमाउने, रमाउने र नयाँ कुरा सिकाउने थलो उद्यान हुन् । बुढाबुढीलाई समय व्यतित गर्ने, शारीरिक व्यायाम गर्ने, मनोरञ्जन गर्ने केन्द्र उद्यान हुन् । विनाशकारी भूकम्प जस्ता कुनै खास समस्या पर्दा चाहिने खुला ठाउँको रुपमा प्रयोगमा ल्याउने उद्यानहरु हुन् । शहरबजारको कुरा गर्दा वर्षाको पानी सोस्ने ठाउँ उद्यान भएकाले पानीको लागि रिचार्ज सेन्टर उद्यानहरु हुन् । तातो मौसममा सिंगो शहरलाई शीतलता प्रदान गर्ने स्थान उद्यानहरु हुन् । बढ्दो जलवायु परिवर्तनलाई थोरै भए पनि सन्तुलनमा राख्ने उद्यान हुन् । पर्यटकलाई घुमाउने र केही दिन भुलाउने अनि अर्थतन्त्र चलायमान बनाउने माध्यम उद्यानहरु हुन् ।

नेपालमा अहिले शहरीकरणको साथसाथै उद्यानहरु बनाउने लहर चलेको छ । समयको आवश्यकता र नागरिकहरुमा आएको जागरण यस प्रकारको लहर आउनुको प्रमुख कारण हो ।

हरेक घरमा तुलसीको मठ बनाएर भव्य पूजाआजा गरी तुलसी रोपण गर्ने सांस्कृतिक प्रचलन छ । सघन रुपमा अक्सिजन उत्पादन गर्ने तुलसी र पिपललाई पूजा गर्ने अनि संरक्षण गर्ने परम्परा नेपाली समाजमा युगौंदेखिको सांस्कृतिक परम्परा हो ।

अंग्रेजी शब्दको गार्डेन वा पार्कलाई नेपालीमा उद्यान, बाग, बगैंचा, पुष्प बाटिका, फूलबारी, वन आदि भनिन्छ । नेपालको सन्दर्भमा फलफूल लगाइएको ठाउँलाई मधेसमा प्रायः बगैंचा भनिन्छ । उद्यान शब्दले अलि ठूलो भन्ने अर्थ लगाउँछ । बृहत् नेपाली शब्दकोषले प्रायः प्राकृतिक रुखहरु भएको ठूलो बगैंचालाई उद्यान भनेर परिभाषित गरेको छ भने अरु सबैको अर्थ एउटै हुने गरी व्याख्या गरेको छ । त्यस अर्थमा उद्यानको बारेमा पहिलो पटक यसप्रकारको राष्ट्रिय सम्मेलन हुनुले यसको बहुआयामिक महत्व रहन्छ ।

अवधारणापत्रका सीमा

नेपालमा मुख्यतः चार प्रकारका उद्यानहरु पाइन्छन् । पहिलो, स्थानीय तहहरुले सञ्चालनमा ल्याएका । दोस्रो सामुदायिक वनमा पर्यापर्यटनको अभियानअन्तर्गत बनाइएका । तेस्रो, गैरसरकारी संस्थाको माध्यमबाट सञ्चालित र चौथो निजीस्तरमा सञ्चालित । उपर्युक्त उद्यानहरुमध्ये गैरसरकारी संस्थाको माध्यमबाट सञ्चालित पार्कहरुको सञ्चालन र नियमन गर्ने स्पष्ट कानूनी व्यवस्था छैन । प्रायः यो तरिका स्रोत व्यवस्थापनका हिसाबले र पार्कहरुलाई अलि व्यवस्थित बनाउन समुदायको अपनत्व र सहभागितासहित यो प्रक्रियाबाट चलाइएको भए पनि प्रारम्भिक अवस्थामा तिनको मलजल गर्ने, हुर्काउने अवस्थासम्म बेवास्ता गर्ने र अलिकति देख्ने, हेर्ने र आकर्षक हुन थालेपछि सबैतिरबाट आँखा लगाउने प्रवृत्ति विद्यमान छ ।

यिनलाई व्यवस्थित गर्न कानूनी तथा अन्य व्यवस्था हुन नसक्नाले अनेक समस्या सिर्जित छन् । जसको बारेमा अलग कार्यपत्रमार्फत् छलफल हुने नै छ । जहाँसम्म यस कार्यपत्रको सीमाको कुरा हो, यसमा मुख्यतः उद्यान (पार्क) को आवश्यकता, औचित्य र चुनौतीका विषयमा केन्द्रित रही विषयको उठान गरिनेछ ।

ऐतिहासिक सन्दर्भ

हाम्रो परम्पराअनुसार सार्वजनिक स्थलमा बोटविरुवा लगाउने गरिन्छ । विरुवा लगाउँदा धर्म पाइने विश्वास छ । यो प्रचलन हजारौं वर्षदेखि चल्दै आएको छ । धार्मिक, सांस्कृतिक हिसाबले पनि विशेष महत्व दिएको पाइन्छ । वेद, पुराण, कुरान, वाइबल जस्ता सबै धार्मिक ग्रन्थहरुमा समस्त मानव जातिको जीवनका लागि विरुवाको महत्वलाई उल्लेख गरिएको छ ।

पुराणहरुमा दश पोखरी बराबर एउटा छोरो र दश पुत्र बराबर एउटा रूख भनेर भनिएको छ । त्यस्तै ‘जसले बाटो र मन्दिरमा छायाँ, फूल र फल दिने रूख रोप्दछ, उसले आफ्ना पुर्खाहरूलाई महापापबाट बचाउँछ र रोप्नेले यस मानव संसारमा ठूलो महिमा र शुभ फल प्राप्त गर्दछ । जसको छोरा छैन, त्यो रूख नै छोरो हो’ भनेर पनि भनिएको छ ।

हिन्दू संस्कृतिमा वर, पिपल र स्वामी रोपेर विवाह गर्ने चलन छ । हरेक घरमा तुलसीको मठ बनाएर भव्य पूजाआजा गरी तुलसी रोपण गर्ने सांस्कृतिक प्रचलन छ । सघन रुपमा अक्सिजन उत्पादन गर्ने तुलसी र पिपललाई पूजा गर्ने अनि संरक्षण गर्ने परम्परा नेपाली समाजमा युगौंदेखिको सांस्कृतिक परम्परा हो ।

प्राचीन कालमा धार्मिक, सांस्कृतिक भावनाले मात्र हैन, मन बहलाउन, पुण्य प्राप्त गर्न वा मरेपछि धर्म, मानसम्मान होस् भनेर पनि बनाउने चलन थियो । कतिपय ठाउँमा चौतारी वा चौपारी बनाउने प्रचलन थियो ।

यसबाहेक राजा महाराजाले स्वास्थ्यका लागि र मन बहलाउन उद्यान बनाउँथे । मनोरञ्जन गर्ने, रानीहरुसँग विहार गर्ने, मनलाई उद्दीप्त पार्ने अर्थात् ब्युँझाउने, रतिराग गर्ने जस्ता काममा उद्यानको प्रयोग हुन्थ्यो । उद्यानले आनन्दको अनुभूति प्रदान गर्छ । शीतलता दिन्छ । मनलाई संयम र सन्तुलनमा राखेर शान्त राख्छ । शान्तिको लागि पनि उद्यान आवश्यक छ । राजा महाराजाहरु फलफूल खाने व्यवस्थाका लागि पनि यसलाई जोड दिने गर्थे ।

यसरी हेर्दा प्राचीन कालमा धार्मिक, सांस्कृतिक भावनाले मात्र हैन, मन बहलाउन, पुण्य प्राप्त गर्न वा मरेपछि धर्म, मानसम्मान होस् भनेर पनि बनाउने चलन थियो । कतिपय ठाउँमा चौतारी वा चौपारी बनाउने प्रचलन थियो । ठाउँठाउँमा शीतल प्रदान गर्न वा छहारी पाउन चौपारी बनाएर छोड्ने चलन थियो । जसको विकसित रुप बगैंचा, पार्क वा उद्यान हो ।

केही खास बिरुवा रोप्दा विभिन्न फाइदा हुने सन्दर्भ पनि कतिपय धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । जस्तो कि जामुनको रूखले धन दिन्छ । अनारको रुखले नारीलाई खुशी दिन्छ । गोकुल वात विनाशक, शक्तिशाली मानिन्छ । यो आयुर्वेदिक हिसाबले पनि धेरै औषधिको स्रोत हो । अशोकको रूखले पाठेघर राम्रो बनाउने भएकाले दुःख हुँदैन भनिन्छ । बेलको रूखले लामो आयु प्रदान गर्ने, जेठी मधु र अर्जुन वृक्षले सबै प्रकारका भोजन प्रदान गर्ने विश्वास छ । यो विश्वासमात्र हैन, प्रमाणित कुरा हो । कदमले लक्ष्मी प्राप्त हुने तथा अर्जुन, जयन्ती करवीर र पलाश वृक्षारोपण गर्नाले स्वर्ग प्राप्ति हुने भनाइ छ ।

हरेक वृक्षले फाइदा नै गर्ने भएकाले यिनको उपादेयताको चर्चा गरिरहन जरुरी छैन । संयोगले अहिले कार्यक्रम भरहेको स्थल पनि यस्तै ऐतिहासिकताको नमुना हो ।

  • वि.सं. १५७५-१६२२ मा निर्माण भएको तत्कालीन मणिमुकुन्द सेनको शीतकालीन दरबारको रुपमा यसको पहिचान छ ।
  • झण्डै २५० वर्ष पहिले स्वामिनारायण सम्प्रदायले साक्षात् भगवानका रुपमा मानिआएका ११ वर्षीय बालगुरु श्री स्वामिनारायण निलकण्ठवर्णि यहाँ आई करिब ५ महिना ध्यानरत रहेको इतिहास छ ।
  • यहाँ मदारथान पनि छ । इस्लाम धर्मसँग जोडिएर आउने मदारबाबाको थान । नवलपरासीको त्रिवेणी सुस्ताअन्तर्गत महलवारीमा पनि यही नामको तीर्थस्थल छ । जुन हिन्दू र मुस्लिम समुदायको आस्थाको केन्द्र हो । माघ–फागुनतिर एक हप्तासम्म लाग्ने मेलामा सन्तान नभएकाहरुले सो कामना गर्दै दशौं लाख नेपाली तथा भारतीय भक्तजन जाने गर्छन् । अर्थात् दुवै धर्मावलम्बीलाई एक सूत्रमा आबद्ध गर्ने धार्मिक सहिष्णुता र भाइचाराको प्रतिमूर्ति मदारथानको अवशेषले सो धर्मसँग पनि इतिहास जोडिएको अनुमान गर्न सकिन्छ ।
  • २०३७ सालमा यस ठाउँमा ऐश्वर्य पार्क बनाइएको थियो । तर, त्यतिबेलाका शासकहरुले नामकरण त गरे, यसको उन्नति र प्रगतिमा केही गर्न सकेनन् । यद्यपि केही वृक्षारोपणसम्म गरेका थिए । जसलाई २०४७ सालको जनआन्दोलनपश्चात् बनेका स्थानीय सरकारहरुले जनताको उद्यानका रुपमा अघि सारे र यसलाई मणिमुकुन्द सेनको गौरवशाली इतिहाससँग जोडेर नामकरण गरियो ।

यी त केही सन्दर्भमात्र हुन् । यो अवस्था देशैभरि छ । खासगरी बहुदलपश्चात् केही न केही नवीन काम गरौं भन्ने दृष्टिकोणका कारण समुदायस्तरमा उद्यानहरु बन्न थाले । यस सन्दर्भमा हेटौंडाको सहिद पार्क तत्कालीन नगरपालिकाले आफैं अघि बढाएको परियोजना हो । यसले उद्यानहरु आवश्यक छन् र यिनले पर्यटक ल्याउने काम गर्छन् भन्ने कुराको अनुभूति गरायो । सरकारी रुपमा चलेका कतिपय उद्यानले गर्न नसकेको प्रचारात्मक काम यही पार्कले गर्‍यो ।

उद्यानहरु किन ?

अहिले उद्यानहरु समाजका अभिन्न अङ्ग बनेका छन् । खासगरी शहरबजारमा यिनको आवश्यकता यसकारणले ज्यादा हुन्छ कि उनीहरुका लागि खुला ठाउँ भनेकै पार्क, घुम्ने र मन बहलाउने भनेकै उद्यान, बच्चाबच्चीलाई देखाउने र केही सिकाउने माध्यम पनि उद्यान हुन् ।

एउटा वयस्क रूखले एक वर्षमा करिब १० वटा एयर कन्डिसन लगातार चलाए जसरी वायु चिस्याउने काम गर्छ र करिब ३,४०० लिटर बर्खेपानी सोस्छ । २७ किलो कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन, सल्फरअक्साइड जस्ता प्रदूषक ग्यासलाई र १५० किलो हरितगृह ग्यास कार्बन डाइअक्साइडलाई वायुमण्डलबाट सोस्ने गर्छ ।

मानिस सौन्दर्यप्रेमी प्राणी हो । उसलाई सुन्दर मन पर्छ । शहरको गुणस्तर मापन गर्ने माध्यम सौन्दर्य हो । त्यो सौन्दर्य प्रदान गर्ने स्थल पार्क हुन् । जसरी मान्छे राम्रो हुन सरसफाइ गर्छ, क्रिम लगाउँछ, कपाल छाँट्छ र मिलाउँछ, त्यसरी नै शहर सुन्दर बनाउन सरसफाइ, हरियालीसहितका विविध प्रकारका पार्क अनिवार्य हुन्छन् ।

कुनै बेला पार्क सुन्दरताका लागि भन्ने थियो । पार्क विलासिता हो र यो धनीमानीका लागि भन्ने थियो । तर, अहिले त्यस्तो छैन । बरु उद्यानहरु धनीभन्दा ज्यादा न्यून आय भएका मानिसलाई मनोरञ्जनका साथ रोजगार प्रदान गर्न यसले सहयोग गर्छ । उद्यान भनेका खुला ठाउँ हुने भएकाले आपतविपत पर्दा पनि चाहिने हुन्छ । भूकम्पको समयमा उद्यान अत्यावश्यक रहेछन् भन्ने अनुभव हामीले २०७२ सालमा गरिसकेका छौं ।

शहर भनेकै कंक्रिटका महल हुन् । जुन शुष्क र उजाड जस्तो लाग्छ । त्यहाँ पानी अडिने अवस्था रहन्न । त्यसैले खुला ठाउँ हुँदा बर्खाको पानी सिञ्चित हुन्छ र जति सिञ्चित भयो, जमिन उति ‘रिचार्ज’ हुन्छ । काठमाडौंको संस्कृतिमा दख्खल राख्ने वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठको विचारमा ‘चउरले सहरमा ‘एयरकन्डिसन’ को काम गर्छ र हावाले खेल्ने ठाउँ पाउँछ ।

हुन पनि एउटा वयस्क रूखले एक वर्षमा करिब १० वटा एयर कन्डिसन लगातार चलाए जसरी वायु चिस्याउने काम गर्छ र करिब ३,४०० लिटर बर्खेपानी सोस्छ । २७ किलो कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन, सल्फरअक्साइड जस्ता प्रदूषक ग्यासलाई र १५० किलो हरितगृह ग्यास कार्बन डाइअक्साइडलाई वायुमण्डलबाट सोस्ने गर्छ । रूखका यस्तै विशेषताहरूले शहरमा औसत रूख भएको ठाउँको तापक्रम २ देखि ८ डिग्रीसम्म न्यून हुन्छ ।

ढाकाकै मिरपुरमा ८४ हेक्टरमा फैलिएको बोटानिकल गार्डेन बंगलादेशको सबैभन्दा ठूलो बोटबिरुवा संरक्षित क्षेत्र हो । जसले गर्मी मौसममा ढाकालाई त्राण दिन्छ । हामीकहाँ पार्क भनेका मनोरञ्जनका साधन हुन् भन्ने दृष्टिकोण छ । यही दृष्टिकोणका कारण पार्कबाट मनोरञ्जन कर उठाउने गरिन्छ । तर, कुरा त्यस्तो हैन । खासगरी शहरी बासिन्दाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्क र हरियालीले पार्ने सकारात्मक प्रभावबारे पछिल्ला वर्ष धेरै अध्ययन र अनुसन्धान भएका छन् ।

१. अमेरिकाको पेन्सलभेनिया अस्पतालमा अपरेसन गरेका दुईजना बिरामी फरक खालका कोठामा राखियो । एउटामा कोठाका झ्यालबाट हरिया रुखहरु देखिन्थे । अर्कोमा कोठाबाट इँटाका भित्ता देखिन्थे । ती दुई कोठामा बसेका बिरामीको अध्ययनले के देखायो भने रुख देखिने कोठामा बसेका बिरामी इँटाको भित्ता देखिने कोठामा बसेका बिरामीभन्दा अपरेसनपछि छिट्टै घर फर्किए । अस्पतालमा बस्दा थोरै ‘पेनकिलर’ प्रयोग गरे र उनीहरुले नर्ससँग थोरैमात्र नकारात्मक टिप्पणी गरे । यो विवरण अमेरिकाको साइन्स जर्नलमा प्रकाशित छ ।

२. सन् २००१ मा नेदरल्याण्डमा १० हजार डच नागरिकको स्वास्थ्य र उनीहरु बस्ने ठाउँबीच कस्तो सम्बन्ध छ भन्ने अध्ययन गरियो । सो अध्ययनले हरियाली कम भएकोभन्दा धेरै भएको क्षेत्रमा बसोबास गर्ने मानिसका स्वास्थ्य समस्या थोरै थिए । उनीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो थियो । पार्क होस् वा जंगल वा खेतीपाती गरिएका क्षेत्र हरियालीले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको देखियो । सो अध्ययनको निष्कर्ष के हो भने बसोबासस्थल वरिपरि १० प्रतिशतमात्र हरियाली बढायो भने मानिसको आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्छन् ।

३. फिनल्यान्डको राजधानी हेलसिन्कीमा शहरका उद्यान र शहरभित्रका जंगलले मानिसको स्वास्थ्य र ‘मुड’ मा कस्तो असर पार्छ भनेर अनुसन्धान गरेकोमा यस्ता जंगल र उद्यानमा केवल दस मिनेट हिँडाइले मानिसमा तनाव कम गर्ने हर्मोन सक्रिय रहेको पाइयो ।

४. ‘द अमेरिकन फरेस्ट सर्भिस’को एक अध्ययनअनुसार ५० वर्ष लामो आयु भएको एउटा रुखले उसको जीवनभरमा ३१ हजार डलर मूल्य बराबर अक्सिजन उत्पादन गर्छ, ६२ हजार डलर मूल्य बराबर प्रदूषण नियन्त्रण गर्छ र ३७ हजार डलर बराबर पानी रिचार्ज गर्छ । रुखका पात र जराले पानीमा मिसिएको प्रदूषण फिल्टर गरेरमात्र जमिनमा पठाउँछन् । पानी प्रदूषण गर्ने नाइट्रोजन, पोटासियम र फोस्फरस छान्छन् । वैज्ञानिक अध्ययनले भन्छ- हामीले बसोबासस्थल वरिपरि १० प्रतिशतमात्र हरियाली बनायौं भने हाम्रो आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्नेछन् ।

५.शहरमा बस्ने मानिसकोे रुखबिरुवासँग सम्बन्ध सम्पर्क टुटेको छ । उनीहरु माटोको गन्ध सुँघ्न कस्तो हुन्छ थाहा पाउँदैनन् । पानीको आवाज बुझ्दैनन् । पानीको गन्ध बास्ना कस्तो हुन्छ भन्ने पनि मेसो पाउँदैनन् । यहाँसम्म कि शरीरले घाम र हावाको स्पर्श गर्न पाउँदैन । आजभोलि भिटामिन ‘डी’ को अभाव यसैकारणले हुन थालेको छ । घामबाट सित्तैमा पाइने भिटामिन ‘डी’ किनेर खान थालेका छन् । यसको समाधान मानिसलाई जंगलमा स्थानान्तरण गरेर सम्भव छैन । शहरलाई जंगलमा रुपान्तरण गर्न सकिन्न । तर, रुख रोपेर हरियाली बढाउन सकिन्छ र खाली ठाउँ खोजेर सानाठूला पार्क बनाउन सकिन्छ ।

वैज्ञानिक अध्ययनले भन्छ- हामीले बसोबासस्थल वरिपरि १० प्रतिशतमात्र हरियाली बनायौं भने हाम्रो आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्नेछन् ।

उद्यानहरूबाट हुने फाइदा

उद्यानहरुबाट हुन सक्ने फाइदालाई निम्नानुसार हेर्न सकिन्छ ।

१. आराम र आनन्दको ठाउँ : उद्यानहरू आराम र आनन्द प्राप्त गर्ने ठाउँ हुन् । दिनभरिको कामबाट थाकेको अवस्थामा पार्कमा गई सुस्ताउन सकिन्छ । उद्यानमा कैयौं दृश्यावलोकन गर्न मिल्ने ठाउँ वा चिज हुने भएकाले त्यसबाट उसले शारीरिक रुपमा पनि आनन्द लिनसक्छ । साथै यहाँबाट सामाजिक सञ्चारको काम पनि हुनसक्छ ।

२. स्वस्थ जीवनशैलीको लागि : उद्यानहरु खुला ठाउँ हुन् । जहाँ स्वस्थ जीवनशैलीका लागि खेल तथा शारीरिक क्रियाकलापहरू हुनसक्छन् । जसको बारेमा विभिन्न अनुसन्धानका विवरणसहित अलग्गै चर्चा गरिएको छ ।

३. मनोरञ्जनको लागि : उद्यानहरू मनोरञ्जनका माध्यम पनि हुन् । यहाँ घुम्न, खेल्न र अन्य मनोरञ्जन गर्न सकिन्छ ।

४.वातावरण, कला, संस्कृति र सम्पदाको संरक्षणः उद्यानहरुले प्रकृति, वनस्पति र जीव जनावरहरूको संरक्षण गर्छन् । यस अर्थमा जैविक विविधताको संरक्षणमा योगदान गरेका हुन्छन् । खुला ठाउँ हुने भएकाले वर्षाको पानी संकलन भई रिचार्जको लागि फाइदा हुन्छ । कतिपय शहरको गर्मीलाई कम गराउन उद्यानहरु सहयोगी हुने भएकाले विश्व तापक्रमलाई नियन्त्रण गर्न सहयोगी हुनसक्छन् । पर्यटन लक्षित पार्कमा कला, संस्कृति र सम्पदाको संरक्षणलाई जोड दिएको पाइन्छ । यसरी हेर्दा पार्क वातावरण, कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने माध्यम हुन् ।

५. पर्यावरणीय सन्तुलनका लागि : उद्यानहरुले शहरको पर्यावरणीय सन्तुलन कायम गर्छन् । मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ गर्छन् । शहरलाई शोभायमान गराउँछन् र सभ्यताको पहिचान दिन्छन् । अर्थात् कुनै पनि शहरलाई बस्नलायक बनाउने काम उद्यानहरुले गर्छन् ।

६. भेटघाट र जनसम्पर्क बढाउने माध्यम : उद्यानहरु भेटघाटका माध्यम हुन् । आजका दिनमा जसरी विवाह, पूजा घरमा गर्ने प्रचलन घट्दै गइरहेको छ त्यसरी नै अबका दिनमा घरमा भेटेर समय व्यतित गर्ने गुञ्जायस घट्दै गइरहेकाले यस्तै उद्यानहरुमा भेटघाट गर्ने अवस्था आइरहेको छ । त्यस अर्थमा उद्यान भेटघाट र जनसम्पर्क बढाउने माध्यम हुन् ।

७. स्थानीयको आर्थिक विकास र समुदायको विकासमा सहयोग : उद्यानहरुमा बाहिरी मानिसको आवागमन हँुदा स्थानीय समुदायमा व्यापार व्यवसाय गर्ने अवसर प्राप्त हुन्छ । यस्ता पार्कहरुमा अध्ययन अनुसन्धानका लागि पनि आउने गर्छन् । समुदायले पार्कबाट के लाभ लियो लिएन भनेर पनि आजभोलि अध्ययनका विषय हुन थालेका छन् । त्यस अर्थमा उद्यानहरुबाट आर्थिक विकास र समुदायको विकासमा टेवा पुग्छ ।

८. रोजगारीको अवसर : उद्यानको व्यवस्थापनका सन्दर्भमा रोजगारीका अवसर सिर्जना हुन्छन् । जसको पहिलो हकदार स्थानीय नै हुन्छन् । पार्कमा चाहिने जनशक्तिका आधारमा स्थानीयलाई अध्ययनको अवसरसमेत प्राप्त हुनसक्छ । त्यस्तै आम्दानीको निश्चित हिस्सा स्थानीयको क्षमता अभिवृद्घिमा खर्च गर्ने प्रबन्ध गर्दा पनि स्थानीय नै लाभकारी हुनसक्छन् ।

६. पर्यटन र उद्यान

उद्यान पर्यटनका प्रमुख स्रोत हुन् । कुनै नयाँ ठाउँमा घुम्न जानेले सबैभन्दा पहिला त्यहाँ रहेका उद्यान नै खोज्छ । संसारभरि नै पर्यटकहरु उद्यानमा जाने, मनोरञ्जन लिने, शरीरलाई ताजा बनाउने, समय व्यतित गर्ने, केही सिक्ने, मौलिकताको प्रदर्शन गर्ने, सुटिङ गर्ने आदि गरिन्छ । नयाँ शहरमा जानासाथ त्यहाँ रहेका पार्क, संग्रहालय, चिडियाखाना, स्थानीय उत्पादन, कला, संस्कृति, परम्परा आदि जान्ने बुझ्ने जिज्ञासा हुने गर्छ ।

शहरमा बस्ने मानिसकोे रुखबिरुवासँग सम्बन्ध सम्पर्क टुटेको छ । उनीहरु माटोको गन्ध सुँघ्न कस्तो हुन्छ थाहा पाउँदैनन् । पानीको आवाज बुझ्दैनन् । पानीको गन्ध बास्ना कस्तो हुन्छ भन्ने पनि मेसो पाउँदैनन् । यहाँसम्म कि शरीरले घाम र हावाको स्पर्श गर्न पाउँदैन ।

आजभोलि धेरै नेपालीहरु दुबई गइरहेका हुन्छन् । त्यहाँको मिराकल पार्कमा धेरै जना जान्छन् । हुन पनि दुबईको मिराकल पार्क विश्वको सबैभन्दा ठूलो पार्कमध्येमा पर्छ । यसमा विभिन्न प्रकारका विज्ञान, प्रकृति र प्रविधिसँग सम्बन्धित गतिविधिहरू हुन्छन् । बोटानिकल गार्डेन, डायनासोर वाक, संग्रहालय, तलाउ र अन्य आकर्षक स्थलहरू यहाँका आकर्षण हुन् । यहाँ फूलको उत्सव, रियालिटी शो, कन्सर्ट र अन्य कार्यक्रमहरू हुने गर्छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा नेहरु पार्क, लोधी गार्डेन, बुद्ध जयन्ती पार्क, सेन्ट्रल पार्क, मुगल गार्डेन, जापानिज पार्क, नेशनल रोज गार्डेन जस्ता चर्चित पार्कहरु छन् । छत्तीस हेक्टरमा फैलिएको मुगल गार्डेन हाल (अमृत उद्यान) खुला भएको दिन भारतको एक दैनिक पत्रिकाले खुशी हुँदैं लेख्यो- ‘न्यूयोर्कको म्यानह्याटनमा रहेको सेन्ट्रल पार्क जस्तै दिल्लीको आफ्नै सेन्ट्रल पार्क ।’

बंगलादेशको राजधानी ढाकाको मुटुमा २७ हेक्टरको राम्ना पार्कमा ७१ प्रजातिका फूल, ३६ प्रजातिका फलफूलका रुख र ४१ प्रजातिका रुख छन् ।

पाकिस्तानको राजधानी इस्लामाबादमा तीन सय हेक्टरमा फतिमा जिन्हा पार्क छ । पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्हाकी बहिनीको नाममा बनाइएको यो पार्कको दुई हेक्टर क्षेत्रमा सोलार प्यानल जडेर रातिमा उज्यालो पारिन्छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा रहेको भिक्टोरिया पार्कलाई अहिले रानी बिहारामहादेवी पार्क भनिन्छ । यो पार्कभित्रै सानो चिडियाखाना छ, बच्चाबच्ची खेल्ने छुट्टै पार्क छ । पार्कभित्र वाटर फाउन्टेन छ ।

यसको अर्थ ती सबै उद्यानहरुले पर्यटनको विकासमा असाध्यै ठूलो टेवा दिएका छन् । उद्यान र पर्यटन एक अर्काका परिपूरक हुन् । जहाँ पार्क छैनन्, त्यहाँ पर्यटक छैनन्, जहाँ उद्यान छन् त्यहाँ पर्यटक छन् । पर्यटक हुनुको अर्थ शहरमा उनीहरुको बसाइ लम्बिनु हो र प्रकारान्तरले आर्थिक चलायमान हुनु हो ।

उद्यानमा विशिष्टीकरण

कुनै थिम, सिर्जना वा विषयमा आधारित पार्कहरु बन्दा विशिष्टीकृत हुन्छन् । इतिहास, पुरातत्व, धार्मिक-सांस्कृतिक, बोटविरुवा र फूल, फूलमा पनि कुनै एउटा फूल, बोटविरुवामा पनि एउटा विरुवा, कुनै एउटा जनावर आदि ।

सबै देशमा हुने एउटा महत्वपूर्ण बोटानिकल गार्डेन हो, जसले वनस्पतिको जानकारी दिन्छ । कतै हर्बल पार्क हुन्छन्, जसले जडीबुटीको जानकारी दिन्छ । आईटी पार्कबाट सूचना प्रविधिको ज्ञान लिन सकिन्छ । हालका दिनमा यसको विश्वव्यापी बजार पनि छ ।

चीनको छेन्दुमा लोपोन्मुख रेडपाण्डा पार्क छ । सिचुवानमा ‘भूकम्पीय भग्नावशेष’ र शंख पार्क छन् । भारतको तेलंगानामा कुकुर पार्क छ । अष्ट्रेलियाको तास्मानियामा विश्वयुद्घमा गरेको योगदानलाई स्मरण गरेर बनाइएको कुकुर पार्क छ । यी त उदाहरणमात्र हुन् । यस्ता धेरै ठाउँमा छन् । चिल्ड्रेन पार्क र हेल्थ पार्क त सबैतिर हुन थालिसके ।

चेन्नइको कोर्कोडायल अर्थात् गोही (Crocodile पार्क । मेराइन (सामुद्रिक जीव) पार्क । अक्वरियम पार्क । आदि इत्यादि । कही गुलाफ पार्क हुनसक्छ । स्वास्थ्यलाई जोडेर दुबो पार्क बनाउने र दुबोको जुस खाने प्रबन्ध गर्न सकिन्छ । अर्घाखाँचीको दुर्वाशेश्वर गुफामा यसो गर्दा पहिचानका आधारमा प्रचार गर्न सकिन्छ ।

नेपालको मोरङको केराबारी क्षेत्रमा सालक पार्क बनाउन सकिन्छ । धेरै ठाउँमा Rose park, Mango park बनाउन सकिन्छ । पशुपतिमा आध्यात्मिक पार्क, झापामा ‘चाइना-नेपाल इको इन्डस्ट्रियल पार्क’ । कुनै खास जनावरहरुको पार्क जस्तै नेपालमा समस्या बन्दै गरेको बनेल अहिले यति धेरै भए कि यिनको पार्क बनाएर शिकार गर्ने वातावरण बनाउने हो भने कति मान्छे आउँदा हुन् ? बाँदरको खुला पार्क बनाएर अध्ययन अनुसन्धानस्थलको रुपमा विकास गर्न सकिन्छ । स्मरणीय छ, अष्ट्रेलियाले राष्ट्रिय जनावर कंगारु धेरै भएर सन् २०२३ मा ५० लाख कंगारु मार्ने योजना सार्वजनिक गरेको छ ।

संस्कृतिको हिसाबले कुश्मा नगरपालिकाको वडा नम्बर ७ को खरेहामा १०८ पिपलको विरुवा ॐ आकारमा लगाइ ॐ पार्क र बेनीमा रामायण पार्क बनाइँदैछ । पशुपतिमा आध्यात्मिक पार्क र कीर्तिपुरमा ‘युद्व स्मारक पार्क’ बन्दैछन् । प्रसिद्ध मूर्तिकार माइकलान्जेलोको भाषामा ‘प्रत्येक ढुंगा मूर्ति हो । सायद यसै कुरालाई आत्मसात गर्दै मोरङ, बेलवारीस्थित भाउन्नेमा त्यहाँको सभ्यता झल्काउने धिमाल र राजवंशी संस्कृतिका मूर्तिहरू बनाइ मूर्ति पार्क बनाइँदैछ । यस्तै देवदहमा पनि सामुदायिक वनले गौतम बुद्घको जीवनीलाई मूर्तिमार्फत् पार्क बनाउँदैछ । नेपालको ताज महल भनेर चिनिने रानीमहलमा इको पार्क बन्दैछ ।

दाङमा बोटानिकल गार्डेन, बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क, सहिद स्मारक पार्क, सांस्कृतिक डबली र लखन थापा पार्क, चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सौन्दर्यकरण पार्क, दङ्गीशरणमा कल्चरल पार्क, कपिलवस्तुमा कृतिशेष साहित्य, कला, संस्कृति र संगीत क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको १०८ प्रतिमूर्तिसहितको साहित्य तीर्थ नामक उद्यान बन्दैछ ।

स्थानीय तहहरु समुदायबाट व्यवस्थित भइसकेका सार्वजनिक महत्वका संस्थामात्र हैन, आर्थिक लाभ हुने हरेक कुरामा हस्तक्षेप गर्न चाहन्छन् । समुदायले गरेको कामलाई अपनत्व लिएर स्वःस्फूर्त रुपमा चल्न दिए हुने भए पनि आर्थिक स्रोतमा हस्तक्षेप गरिहाल्ने प्रवृत्तिले दीर्घकालमा फाइदा गर्दैन ।

सहिद वा नेताको नामबाट जस्तै लखन थापा पार्क । पुष्पलाल पार्क । गणेशमान, मदन भण्डारी आदि पनि बन्दैछन् ।

अब के गरिनुपर्छ ?

  • जसरी वातावरण जोगाउने काममा जनसहभागिताको माध्यमबाट सामुदायिक वन व्यवस्थापन र राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्रका मध्यवर्ती वन व्यवस्थापनमा सफलता प्राप्त भयो, ठीक त्यसरी नै पार्क संरक्षणमा पनि समुदायलाई विश्वास गरेर राज्यले नीति बनाउन आवश्यक छ । जनसहभागितालाई सघाउने राज्यको नीति व्यवहारमा देखिनुपर्छ । स्वामित्वविनाको सहभागिता र सहभागिताविनाको स्वामित्वले प्राकृतिक सम्पदा र वातावरणको संरक्षण त हुन सक्दैन नै । त्यसबाहेक उद्यानहरुले पनि गति प्राप्त गर्न सक्दैनन् ।
  • प्रायः स्थानीय तहहरु समुदायबाट व्यवस्थित भइसकेका सार्वजनिक महत्वका संस्थामात्र हैन, आर्थिक लाभ हुने हरेक कुरामा हस्तक्षेप गर्न चाहन्छन् । समुदायले गरेको कामलाई अपनत्व लिएर स्वःस्फूर्त रुपमा चल्न दिए हुने भए पनि आर्थिक स्रोतमा हस्तक्षेप गरिहाल्ने प्रवृत्तिले दीर्घकालमा फाइदा गर्दैन । त्यसैले स्थानीय तहले हस्तक्षेप हैन, सहजीकरण गरेर उद्यानहरुलाई स्वःस्फूर्त रुपमा चल्ने बनाउन आवश्यक छ ।
  • समुदायले टिकाउन र चलाउन पर्यटक केन्द्रित उद्यानहरुले शुल्क लिने कुरा स्वाभाविक भए पनि स्थानीय सरकारहरुले बालबालिका र वृद्धवृद्धाहरु दैनिक जान मिल्ने र निःशुल्क प्रवेश गर्ने स–साना पार्कहरुको निर्माणमा ध्यान दिनुपर्छ । यसका लागि निश्चित मापदण्ड बनाएर वर्गीकरण गरेर जान सकिन्छ । जस्तो कि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक वा यस्तै महत्वका पार्कमा शुल्क लिने कुरा ठीकै होला । तर, सबै पार्कमा शुल्क लिनु न्यायोचित हुँदैन ।
  • उद्यानलाई वनसँग जोडेर हेर्ने चलन स्वाभाविक हो । उद्यानहरु वन वा अन्य सार्वजनिक क्षेत्रमा भएकोले सामुदायिक वनले व्यवस्थापन गरेको हकमा वनले र गैरसरकारी संस्थाको माध्यमबाट कानुनी वा गैरकानुनी रुपमा व्यवस्थापन गर्दै आइरहेको हकमा त्यस्ता पार्कहरु पर्यटन मन्त्रालय मातहतमा सञ्चालन गर्ने प्रवन्ध गरिनुपर्छ । वन क्षेत्र भएर पनि गैरसरकारी संस्थामार्फत् व्यवस्थापन हुँदै आएको छ भने तत्काल हस्तान्तरणका लागि तीनै तहका सरकारले सहजीकरण गर्नुपर्छ । समुदाय भनेको स्थानीय व्यक्ति, समूह र गैरनाफामुखी संस्था नै हुन् भन्ने विषयलाई भुल्न हुँदैन ।
  • पार्कहरुलाई विशिष्टीकरण गरेर जाँदा तिनको विकासमा सहयोग पुग्नसक्छ । यसो गर्दा पर्यटकहरुलाई सबै ठाउँमा लैजान सकिन्छ । परिणामस्वरुप पर्यटकको बसाइलाई केही दिन लम्ब्याउन सकिने अवस्था सिर्जना हुन्छ । प्रायः भद्रगोल तरिकाले पार्कहरु चलेको पाइन्छ । समितिमा रहेका पदाधिकारी वा सदस्यको मनमा जे आयो त्यही रुपमा पार्क बनाउनुभन्दा गुरुयोजनाअनुरुप बनाउने र तदनुसार बने नबनेको हेर्ने नियामक निकाय हुन जरुरी छ ।
  • निजी क्षेत्रले व्यवसायिक रुपमा फन पार्क बनाउने चलन व्यापक छ । अब यसलाई पनि विविधीकरण गर्नुपर्छ । जस्तो कसैले बनेल पार्क बनाएर शिकार खेल्ने ढंगले विकास गर्न खोज्छ भने त्यसलाई अनुमति दिने ।
  • नेपालमा पार्कबाट भएका उपलब्धिको बारेमा खासै अनुसन्धान भएका छैनन् । अब यसमा ध्यान जानुपर्छ । यो काममा सरकारको भर परेर हैन, पार्कहरुले वन तथा चिकित्सा विज्ञान अध्ययन संस्थान र पर्यटन विभाग आदिसँग मिलेर पनि गर्न सकिन्छ ।
  • स्वास्थ्यमैत्री उद्यान कसरी हुन सक्छन् भनेर पनि यो कार्यक्रममा छलफल गर्दा उचित हुने देखिन्छ ।
  • समूहगत छलफलमा पर्यटन, स्वास्थ्य र कानूनी विषयलाई आधार बनाएर एउटा निष्कर्षमा पुग्न सक्यौं भने यो सम्मेलन नेपालको लागि कोशेढुंगा सावित हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *