मेलम्ची नगरपालिकाले सार्वजनिक गर्‍यो पहिलो वर्षको उपलब्धि – Nepal Press

मेलम्ची नगरपालिकाले सार्वजनिक गर्‍यो पहिलो वर्षको उपलब्धि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये मेलम्ची नगरपालिकाले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन मार्फत उपलब्धि र आगामी योजनाहरूको सार्वजनिकीकरण गरेको हो ।

मेलम्ची नगरपालिकाले पनि अन्य स्थानीय तह जस्तै पहिलो प्राथामिकतामा भौतिक पूर्वाधारको निर्माणलाई पहिलो प्राथामिकतामा राखेको छ भने आय आर्जन र रोजगारी सिर्जना, शिक्षा ,स्वास्थ्य जस्ता स्थानीयको आधारभूत आवश्यकता पुरा गर्न पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले जानकारी दिए ।

एक वर्षको अवधिमा सडक निर्माण तर्फ नगरपालिकाले १७ किलोमिटर सडक ग्राभेल, ५ किलोमिटर नयाँ सडकको ट्र्याक,३ किलोमिटर सडक सोलिङ लगायतका कामहरू गरिएको मेयर तामाङले जानकारी दिए ।

‘आगामी वर्षदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तोन्नती गरिने मेयर तामाङले जानकारी दिए । पर्याप्त बजेट र पहिलो कार्यकाल हुँदा सोचेजस्तो कामहरू गर्न सकिएको छैन आगामी वर्ष देखिने गरेर धेरै कामहरूको योजना अगाडि सारेका छौ’, मेयर तामाङले भने, ‘अहिले पनि सम्पन्न भएका मध्ये ६० प्रतिशत कामहरू गर्व गर्न लायक छ ।’

पहिलो वर्ष निर्वाचनको वर्ष भएकाले जनताको आवश्यकता पुरा गर्नका लागि केही साना योजनाहरूमा बजेट राखिए पनि आगामी वर्षदेखि साना योजनाहरूमा बजेट नराख्ने र देखिन्न योजनाहरूमा मात्रै बजेटको प्राथामिकतामा पर्ने मेयर तामाङले बताए ।

पर्यटन क्षेत्र आगामी वर्षको पहिलो प्राथामिकता हुने नगरपालिकाले जानकारी दिएको छ । पछिल्लो समय पर्यटकीय रूपमा सबैको आकर्षणको केन्द्रको रूपमा विकास हुँदै गएको गुफाडाँडालाई विशेष पर्यटकीय स्थलको रूपमा अगाडि बढाउन नगरपालिकाले सम्भाव्यता अध्ययन गरेर बजेटमा प्राथामिकतामा राखेको मेयर तामाङले जानकारी दिए ।

भोटेचौर एकीकृत पर्यटन गन्तव्य, धौले मन्दिर लगायतका पर्यटकीय स्थलहरू नगरपालिकाको पर्यटकीय नयाँ योजनाको रूपमा विकास गरिने नगरपालिकाकी उपमेयर उमा प्रधानले जानकारी दिइन ।

शिक्षा र कृषि सँगसँगै

मेलम्ची नगरपालिकाले कृषि र शिक्षा क्षेत्रलाई एक आपसमा जोड्ने उद्देश्यले दुवैलाई एक साथ अगाडि बढाएको छ । विद्यार्थीहरूलाई सुरुदेखि नै कृषि क्षेत्रमा आकर्षित गर्नका लागि नगरपालिकाका तिन वटा सामुदायिक विद्यालयमा कृषि कार्यक्रमको सुरुवात गरिएको छ । त्यस्तै तिन वटा विद्यालयहरूबाट यो वर्ष देखि ‘स्कुल अफ हर्टिकल्चर’ कार्यक्रमको पनि नगरपालिकाले सुरुवात गरेको छ ।

शिक्षा क्षेत्रको सुधारका लागि र सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूलाई आकर्षित गर्नका लागि नगरपालिकाको आफ्नो स्रोतबाट ७ र ८ सम्मका विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्थापन गरिएको छ । त्यस्तै प्रधानाध्यापकहरुलाई प्रोत्साहनका लागि प्रअ हरुको मासिक भत्ताको रकममा समेत वृद्धि गरिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

मेलम्ची नगरपालिकाले गर्भवती महिलाहरूलाई बर्थीङ सेन्टर मार्फत नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले बर्थीङ सेन्टर सम्म आउनका लागि निःशुल्क एम्बुलेन्स सेवाको सुरुवात गरेको छ ।

एक वर्षको अवधिमा २ सय ९१ जना गर्भवती महिलाहरूले बर्थीङ सेन्टरमा आएर सुत्केरी गराएको र उनीहरू सबैले एम्बुलेन्स सेवा लिएको मेयर आइतामान तामाङले जानकारी दिए ।

मेलम्ची नगरपालिका भित्रका बर्थीङ सेन्टरमा सुत्केरी हुन नसकेको १८ गर्भवती महिलालाई काठमाडौँसम्म लैजाँदा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।

सासूबुहारी सम्मान कार्यक्रम

परिवारको खुसीमा सासू बुहारीको भूमिका नै हुने भएकाले सासू बुहारीको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले मेलम्ची नगरपालिकाले सासूबुहारी सम्मान को नयाँ कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले मापदण्ड बनाएर त्यसाको आधारमा सासूबुहारीलाई सम्मान गरेको मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले जानकारी दिइन । वडाबाट मापदण्डको आधारमा सिफारिस भएर आएका १३ जोडी सासूबुहारीहरुलाई यो वर्ष सम्मान गरिएको प्रधानले जानकारी दिइन ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याकंनमा पहिलो

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याकंनमा मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८÷७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखा तथा प्रतिवेदनमा शत प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गर्दै पहिलो भएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *