आयात-निर्यात दुवै घट्यो, राजस्व प्रभावित – Nepal Press

आयात-निर्यात दुवै घट्यो, राजस्व प्रभावित

काठमाडौ । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनासम्ममा १३ खर्ब ३५ अर्ब ३२ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा आयात १६.७८ प्रतिशतले घटेको छ ।

गत वर्ष साउनदेखि वैशाखसम्ममा १६ खर्ब ४ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो । वैशाख महिनामा मात्रै १ खर्ब ३३ अर्ब रूपैयाँको आयात भएको हो । चैतभन्दा वैशाखको आयात कम हो । चैतमा एक खर्ब ४३ अर्ब रूपैयाँको आयात भएको थियो । निर्यातमा गिरावट आएको छ ।

१० महिनामा निर्यात पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.४९ प्रतिशतले घटेको छ । गत वर्षको साउनदेखि वैशाखसम्ममा एक खर्ब ७३ अर्ब रूपैयाँको निर्यात भएकोमा यो वर्ष भने एक खर्ब ३० अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ । आयात घट्दा व्यापारघाटा पनि कम भएको छ । साउनदेखि चैतसम्ममा १७ प्रतिशत रहेको व्यापार घाटा वैशाखसम्ममा आइपुग्दा १५.८५ प्रतिशतमा सीमित छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा १४ खर्ब ३१ अर्ब व्यापार घाटा रहेकोमा यस वर्ष १२ खर्ब ४ अर्ब रूपैयाँ रहेको छ ।

सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातको नाममा रकम बाहिरिने गरेपनि यो पटक भने पेट्रोलियम पदार्थको आयात पनि घटेको छ । गत वर्षको यो अवधिमा ६ लाख १६ हजार लिटर पेट्रोलको आयात भएकोमा यस वर्ष ५ लाख ५९ हजार लिटर पेट्रोल आयात भएको छ ।

आयात निर्यात दुवै घट्दा सरकारले भन्सार विन्दुबाट उठाउने राजस्व समेत वैशाखमा पनि प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर