बालकृष्ण पक्राउको १२औं दिनमा श्रीमान् भेट्न हिरासत पुगिन् मञ्जु
काठमाडौं । बालकृष्ण खाण पक्राउ परेको १२औं दिनमा पत्नी मञ्जु श्रीमान्लाई भेट्न हिरासत पुगेकी छन् । उनले आज बिहान काठमाडौं प्रहरी परिसर पुगेर श्रीमान्लाई भेटेकी हुन् ।
परिसरमा बालकृष्णलाई राखिएको कोठैमा प्रहरीले मञ्जुलाई प्रवेश दिएको थियो । उनीहरूबीच पाँच मिनेटजति कुराकानी भएको स्रोतको भनाइ छ । बालकृष्णलाई परिसरका डीएसपीको कार्यकक्षभित्र रहेको एउटा कोठामा राखिएको छ । त्यही कोठामा श्रीमान्-श्रीमतीको भेट भएको छ ।
बालकृष्ण पक्राउ परेकी दिनदेखि मञ्जु सम्पर्कविहीन बनेकी थिइन् । उनको मोबाइल निरन्तर स्वीचअफ थियो । यहीबीचमा गत वैशाख २९ गते शुक्रबार उनी अष्ट्रेलियाको सिड्नी पुगेको नेपाल प्रेसले खुलासा गरेको थियो । सिड्नीको लुनिया भन्ने ठाउँमा उनको दाई र जेठो श्रीमानपट्टिका छोरा बस्दै आएका छन् ।
मञ्जु पनि नक्कली शरणार्थी प्रकरणमा विवादित बनेकी थिइन् । उनी र आरजु राणालाई रकम दिएको दाबी गरिएको एउटा अडियो सार्वजनिक भएको थियो । त्यस अडियोमाथि प्रहरीले छानबिन गरिरहेको थियो । यत्तिकैमा मञ्जु सम्पर्कविहीन भइन् । त्यसपछि उनी पक्राउ पर्ने डरले फरार भएको आरोप लाग्यो ।
प्रहरीले अन्ततः मञ्जुलाई अनुसन्धानमा तानेन । आफूलाई मुद्दामा प्रतिवादी नबनाउने निश्चित भएसँगै मञ्जु स्वदेश फर्किएको स्रोत बताउँछ । उनी कुन मितिमा फर्किएकी हुन् भन्ने जानकारी नरहेको सिड्नीस्थित स्रोतले बतायो ।
‘उहाँ आउनु भएको हामीलाई थाहा भयो, फर्किनुभएको थाहा भएन,’ स्रोतले भन्यो, ‘भारतको बाटो भएर आउनुभएको हुँदा भारतकै बाटो भएर फर्किनुभएको हुन सक्छ ।’
मञ्जु सिड्नीमा आएको समाचार सिड्नीमै बस्ने निकटकै एक व्यक्तिले फेसबुकमा ‘लिक’ गरेका थिए । फेसबुकमा स्टाटस लेख्ने व्यक्तिलाई मञ्जुका छोरा क्षितिज कार्कीले तत्काल फोन गरेर स्टाटस हटाउन लगाएका थिए ।
गत शुक्रबार मञ्जु एकाएक संसदमा टुपुल्किएपछि मानिसहरू आश्चर्यमा परेका थिए । आफू विदेश उडेको समाचार आइराख्दा उनले कतै पनि खण्डन गरेकी थिइनन् । अहिले पनि उनी मिडियासँग कुरा गर्न चाहिरहेकी छैनन् ।
नेपाल प्रेसले फोन सम्पर्क गर्दा मञ्जुले आफू अहिले केही नबोल्ने बताइन् ।
‘तपाईंहरूले मलाई अपराधी बनाइसक्नुभयो, म कुनै प्रतिक्रिया दिन चाहन्न,’ उनले भनिन् ।
बालकृष्णले पक्राउअघि भिडिओ कलमा आफूसँग कुराकानी गरेको भनेर उल्लेख गरिएकोप्रति मञ्जुले आपत्ति जनाइन् ।
‘छोरीसँग कुरा गर्नुभएको हो, मसित होइन । छोरीलाई श्रीमती लेख्ने कस्तो पत्रकारिता हो ?’ उनले भनिन् ।