काभा वुमन्स भलिबलः भारत र उज्वेकिस्तान विजयी
काठमाडौं । काठमाडौंमा सोमबार सुरु भएको काभा महिला च्यालेन्ज कपको समूह ‘बी’मा उज्बेकिस्तान र समूह ‘ए’ मा भारतले विजयी सुरुवनत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
पहिलो सेटमा २७-२५ को प्रतिस्पर्धात्मक जीत निकालेको उज्वेकिस्तानले दोस्रो सेटमा २५-१५ को सहज जीत निकाल्यो । पहिलो सेटमा कठिन चुनौती दिएर पनि जित्न नसकेको श्रीलंकाले त्यसपछि पुनरागमन गर्न सकेन ।
श्रीलंकाविरुद्ध हावी भएको उज्बेकिस्तानले तेस्रो सेटमा २५-१३ को सहज जीत निकाल्दै प्रतियोगितामा राम्रो सुरुवात गरेको छ ।
यस्तै अर्को खेलमा भारतले बंगलादेशलाई पनि सोझै सेटमा पराजित गरेको हो । भारतसामु निरीह बनेको बंगलादेश २५-३, २५-९ र २५-६ को सेटमा पराजित भयो ।
आजै ४ः३० बजे हुने खेलमा घरेलु टीम नेपालले किर्गिस्तानको सामना गर्नेछ । पहिलो दिनको अन्तिम खेल बेलुकी ७ बजे माल्दिभ्स र कजाकस्तानबीच हुनेछ ।