चीनको ‘सुन्तले टापु’ मा माओको जवान मुहार (तस्बिरहरु) – Nepal Press

चीनको ‘सुन्तले टापु’ मा माओको जवान मुहार (तस्बिरहरु)

छाङ्सा । चीनको हुनान प्रान्तको राजधानी छाङ्सा नजिकको अनिवार्य पुग्नुपर्ने पर्यटन गन्तव्यमा सूचीकृत छ अरेन्ज टापु । सुन्तला व्यापक उपलब्ध भएको यो टापुलाई नेपाली भाषामा सुन्तले टापु भन्न सकिन्छ ।

झण्डै पाँच किलोमिटर लम्बाइ र थोरैमा ४० देखि धेरैमा १४० मिटर हाराहारी चौडाइको सियाङजिआङ नदीको बीचको यो टापुको एक कुनामा जनवादी गणतन्त्र चीनका संस्थापक माओ जेदुङको मुहारको मूर्ति राखिएको छ । ३२ मिटर अग्लो, ४१ मिटर चौडाइ र ८३ मिटर लम्बाइको यो मूर्ति हुनान प्रान्तीय सरकारले सन् २००७ मा सुरु गरेर सन् २००९ मा निर्माण सकेको हो ।

मूर्तिको लागि चीनको दक्षिण पूर्वी प्रान्त फुजिआनबाट ८०० टन ग्रेनाइट आयात गरिएको थियो । आफ्नो युवा कालमा अध्ययन गर्न छाङ्सा आएका माओले नदी पौडिएर तरेको र यहाँ आएर चिन्तन गरेको तथा कविता लेखेको भनेर माओको जवान मुहारको मूर्ति सजाइएको छ ।

माओले छाङ्सा र अरेन्ज टापुबारेमा ९८ वर्ष अगाडि सन् १९२५ मा कविता पनि लेखेका थिए । त्यही सालको ३१ वर्षका माओको युवा अनुहारको मूर्ति टापुमा बनाइएको छ । आन्तरिक पर्यटकको व्यापक भीड हुने यो टापुको प्रमुख आकर्षण यही मूर्ति हो भने विदेशी पर्यटक पनि यो टापुमा आउने गरेका छन् ।

पर्यटनलाई मात्रै सदुपयोग भएको टापुमा आकर्षक पार्क, आर्ट ग्यालरी, पर्यटन पसल आदि छन् । मानवीय बस्ती भने टापुमा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *