मधेश सरकारमा कांग्रेस र नेकपा एस सामेल, जनमतका वसन्तको मन्त्रालय खोसिँदै
जनकपुरधाम । मधेश सरकारमा आज नेपाली कांग्रेस र नेकपा एस सामेल भएका छन् । तत्काल कांग्रेसले दुई र नेकपा एसले एक मन्त्रालय पाएको हो ।
कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् ।
स्रोतका अनुसार नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपानेले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । कृषिमन्त्री सम्हालेका जनमत पार्टीका वसन्त कुशवाहालाई विनाविभागीय बनाएर नेकपा एसलाई यो मन्त्रालय दिन लागिएको हो ।
नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसोका लागि तय भएको बुझिएको छ । मन्त्रालय नटुंगिएकाले तत्काल लोसपा सरकारमा सहभागी हुने छैन ।