कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका हरिको भव्य स्वागत, मन्त्री किराँती पनि विमानस्थल पुगे (भिडिओ) – Nepal Press

कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका हरिको भव्य स्वागत, मन्त्री किराँती पनि विमानस्थल पुगे (भिडिओ)

काठमाडौं । सगरमाथा चुचुरो टेकेर आएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमाएका मगरको सम्मानमा विमानस्थलमा सयौं भेला भएका थिए ।

वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका हुन् । उनको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका थिए । मन्त्री किराँतीले दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै बुढामगरलाई उच्च सम्मान गर्ने बताए ।

हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगर सगरमाथा चुचुरोमा पुगेका हुन् । रोल्पा थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले झण्डै पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए ।

सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लांक (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर) लगायतका आरोहण गरेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि उनको नाममा छ ।

तस्बिरहरू : गौरव पौडेल ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *