नक्कली भुटानी शरणार्थी काण्डमा कसरी मुछिए टेकनाथ ? (अडियो र अन्तर्वार्तासहित)
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा अन्ततः सक्कली भुटानी शरणार्थीका नेता नै मुछिए । आफूहरुको अधिकारका लागि लामो समयदेखि संघर्षरत टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेपछि भुटानी नागरिकहरु स्तब्ध छन् ।
‘भुटानका नेल्सन मण्डेला’ भनिने रिजाल आफैंले यो प्रकरणमा सरकारलाई अनुसन्धानका लागि झकझकाएका थिए । चार महिना अगाडि उनैले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर नक्कली शरणार्थी गिरोहको छानबिन गर्न आग्रह गरेका थिए । तर, नेपाल प्रेसलाई प्राप्त विभिन्न प्रमाणहरुले उनी स्वयम् यो गिरोहका एक प्रमुख पात्रको रुपमा देखिन्छन् । ‘आफैं बोक्सी आफैं झाँक्री’ भने जस्तो उनले दोहोरो भूमिका खेलेको पाइयो ।
भुटानी शरणार्थीका सर्वोच्च नेताको छवि बनाएका रिजाल लामो समयदेखि नेपालमा निर्वासित जीवन बिताउँदै आएका छन् । सन् १९८० को दशकमा उनी भुटानी राजाको सल्लाहकार परिषदका सदस्य थिए । त्यस बखत भुटानले ‘एक देश एक भाषा’ को नीति अंगाल्दै नेपालीहरुलाई पेल्न थालेपछि उनी संघर्षमा उत्रिए । झण्डै एक लाख नेपाली भाषी भुटानीसँगै भारतको बाटो भएर उनी नेपाल निर्वासनमा आएका हुन् । उनलाई नेपालबाटै पक्राउ गरेर भुटान सरकारले एक दशकसम्म कठोर यातनासहित जेलमा राखेको थियो ।
जेलमुक्त भएर नेपाल आएपछि रिजाललाई नेपालको सरकारले नै जीवन निर्वाह भत्ता दिएर भरणपोषण गर्दै आएको छ । उनले सरकारबाट आर्थिक लाभ मनग्गे पाएका छन् । २०६२/६३ को जनआन्दोलनपछि तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले उनलाई मासिक लाख रुपैयाँ भत्ता, एउटा गाडी र सुरक्षा गार्डसमेत उपलब्ध गराएको थियो । उक्त आर्थिक सहायता पछि कटौती गरिँदा रिजालले सरकारसँग रोइकराइ गरेर फेरि सुचारु गराएका थिए । पछिल्लो समय उनी झापामा बस्दै आएका थिए र काठमाडौं आउजाउ गरिरहन्थे ।
नेपालका भुटानी शरणार्थीहरु तेस्रो मुलुकमा पुनर्वास भए पनि रिजाल आफैं भने गएनन् । उनका तीन छोरा क्यानडामा छन् भने दुईमध्ये एक श्रीमती नेपालमै छिन् । पुनर्वासमा जान नपाएर छुटपुट भएका ६ हजारभन्दा बढी भुटानी शरणार्थीहरुका लागि उनले सरकारसँग लविङ गर्दै आएका थिए । उनकै लगातार दबाबपछि गृह मन्त्रालयले २०७६ जेठ ३० मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो । यही कार्यदलमा टेकेर भइरहेको चलखेलमा रिजाल प्रत्यक्ष-अप्रत्यक्ष संलग्न रहे । सबै काम उनलाई साक्षी राखेर भइरहेको थियो ।
यो प्रकरणका मुख्य नाइकेका रुपमा चिनिएका पात्रहरु केशव दुलाल र सानु भण्डारीसँग सुरुदेखि रिजालको उठबस र घनिष्ठता देखिन्छ । तर, उनी पानीमाथिको ओभानो बनिरहे । आर्थिक लेनदेनमा नेपालीहरूलाई भुटानी शरणार्थीको सूचीमा हालेर अमेरिका पठाउने डिजाइनकै सूत्रधार रिजाल भएको एक आरोपीले प्रहरीलाई बयान दिएका छन् । उनले विभिन्न व्यक्तिबाट पैसा लिएको प्रमाण पनि भेटिएको छ । सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका छन् । केशव दुलालले पनि उनलाई पोलेका छन् ।
स्थानीय एजेन्टका रुपमा काम गरेका रामशरण केसीले रिजाललाई पाँच लाख रुपैयाँ दिएको बताएका छन् । उनले आफू टेकनाथकै विश्वासमा परेर यो गिरोहसँग जोडिएको बयान दिएका छन् । रिजालकै घरमा पटक-पटक गिरोहका सदस्यहरु बसेर छलफल हुने गरेकोसमेत उनको भनाइ छ ।
‘जनक कार्की र गोकुल थापाले फोन गरेर मलाई टेकनाथ रिजाललाई भेटाएका हुन्’, उनले बयान दिएका छन्, ‘मेरै हातबाट उहाँले ५ लाख ७२ हजार रुपैयाँ लिनुभएको छ र अहिलेसम्म फिर्ता गर्नुभएको छैन ।’
रिजालले आफूलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमै पुगेको दाबी पनि केसीले गरेका छन् । तर, त्यस दिन ओलीको जन्मदिनको कार्यक्रम भएकाले भीडभाडका कारण छुट्टै भेट्न नसकेको र त्यसपछि भेट्ने मौका नमिलेको उनको भनाइ छ । यसैगरी टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलालसहित रिजाल प्रचण्डको घरमा समेत पुगेको उनको अर्को दाबी छ ।
‘दुवै नेताहरु (प्रचण्ड र ओली) यो चलखेलका विषयमा सुरुदेखि भलीभाँती जानकार छन्’, जेल जानुअघि केसीले नेपाल प्रेससँग भनेका थिए ।
हामीलाई केही अडियो प्राप्त भएका छन् । जसमा रिजालले रकम लिएको स्वीकार गरेको सुनिन्छ । यद्यपि, सो रकम कुन प्रयोजनका लागि हो भन्ने खुल्दैन । केसीले भने आफू र आफ्ना मान्छेहरुलाई अमेरिका पठाउने काममा सहयोगकै लागि बैना लिएको दाबी गरेका छन् । रिजालले चाहिँ आफूले सापटी लिएको बताएका छन् ।
अर्का एजेन्ट प्रेमराज पन्थीले टेकनाथ रिजाल यो काण्डका एक प्रमुख पात्र भएको बताए । नक्कली शरणार्थीहरुको फाराम भराउने कामसमेत उनको घरमा भएको पन्थीको दाबी छ ।
‘सुरुमा त उहाँले मलाई कति कुरामा हेल्प गर्नुभएको हो । उहाँको घरमा गएर बसिएको पनि छ । उहाँकै घरमा नेपालीहरु लगेर शरणार्थीको फाराम पनि भराइएको छ । तर, मैले चाहिँ उहाँलाई पैसा दिएको छैन’, पन्थीले नेपाल प्रेससँग भने ।
उनले थपे, ‘केशव दुलाल, सानु भण्डारी र टेकनाथ रिजालको नेतृत्वमा सबै काम भएको थियो । उहाँहरु तीनजना एउटै हो ।’
रिजालविरुद्ध थप दुई प्रमाण भेटिएका छन् । पहिलो हो, नेपालीहरुलाई भुटानी बनाएर वितरण गरिएको ‘भुटान मानव अधिकार संगठन’ को नक्कली सदस्यता कार्ड, जसमा रिजालको हस्ताक्षर छ । नेपालीहरुको नाम बदलेर भुटानको ठेगाना राखी सयौंलाई यस्तो कार्ड वितरण गरिएको थियो । कार्ड लिन नै २ लाखदेखि ५ लाख रुपैयाँसम्म उठाइएको दाबी गरिएको छ । धेरै कार्डहरुमा भुटानको ठेगाना लामीडाँडा उल्लेख गरिएको छ, जुन रिजालको पुर्ख्यौली वासस्थान हो । काम नभएपछि वितरण हुन बाँकी कार्डहरु रिजालको निर्देशनमा जलाइएको बताइन्छ ।
रिजालविरुद्धको दोस्रो प्रमाण हो, गिरोहले बनाएको छुटपुट शरणार्थीहरुको प्रस्तावित सूचीमा उनको हस्ताक्षर । विभिन्न कारणले भुटानी शरणार्थीको सूचीमा नाम दर्ता हुन बाँकी रहेका शरणार्थीहरुको नामावली भन्दै गिरोहले एउटा सूची बनाएको थियो, जसमा अधिकांश नेपालीहरुलाई समावेश गरिएको छ । यो सूचीमा रिजालले ‘मानव अधिकार सार्वजनिक मञ्च’ को अध्यक्षका हैसियतले हस्ताक्षर गरेका छन् । तर, परिचयपत्र र नामावली सूचीको हस्ताक्षर मिल्दोजुल्दो छैन । रिजाल आफैंले फरक फरक हस्ताक्षर गरेका हुन् वा यो पनि कीर्ते गरिएको हो भन्ने चाहिँ प्रहरीले छानबिन गरेको होला । यद्यपि, गिरोहका सदस्यहरुले दुवैमा रिजालले नै हस्ताक्षर गरेको दाबी गरेका छन् ।
नामावली सूचीमा नेपालको नागरिकता भएका रिजालका आफन्तहरु पनि रहेका छन् । स्रोतका अनुसार उनले आफ्ना भाञ्जा कृष्ण अधिकारीको परिवारलाई नै सूचीमा राखेका छन्, जबकि उनीहरुसँग नेपालको नागरिकता छ ।
रिजालले भुटानमै रहेका नेपाली भाषीहरुलाई पनि अमेरिका पठाइदिन तारतम्य मिलाएका प्रमाणहरु भेटिएका छन् । हामीलाई प्राप्त अडियोमा भुटानदेखि आएका एक नेपाली भाषीसँग उनको संवादको सानो अंश यस्तो छ:
भुटानी नागरिक: अस्ति म आउँदा मसँग पनि १० जना जति केटा आइरछन् ती लिम्बूबुढा खोज्दै । नगरकट्टातिर बिरबाडातिर ७०-८० जना मान्छे भेला भएका छन् ।
रिजालः वाफ रे, हो र ? तिनीहरु त्यहाँँ ग्रुप-ग्रुप बसेर कुरा गर्छन् ? मोराहरु, हल्ला हुन्छ है फेरि बडा हिसाब गरेर…
भुटानीः यसरी पैसाको यो त्यो यस्तो विषयमा कुरा हुँदैन । उनीहरुले थोरै थोरै गरेर पैसा पनि निकालिसकेका छन् । भोलि गएर आवश्यक पर्दा परिवारका लागि, नानीहरु पठाउने भनेर अत्यधिकै जोड दिएका छन् ।
रिजालः होइन, मलाई त त्यो सुब्बा बुढोले पनि, तामाङले पनि, अधिकारीले पनि पटक-पटक भनेका छन् भाइ । मसँग तिमीहरु आएर बेसी पैसाको कुरा नगर । यसो मान्छेले चाल पाए भने मलाई राम्रो मान्दैनन् । तिमीहरुलाई थाहा छ, त्यो पैसा मैले लिने होइन । किनभने अन्तिममा दिने बेला जो मान्छे छ, त्यसैका हातमा मेरो अगाडि या एकजना कोही साथी राखेर दिने हो । मैले १५ (लाख) जस्तो लाग्छ भनेर तिमीहरुलाई भनेको थिएँ । यी मान्छेलाई पुल्पुल्याएर नेपालपट्टिका मान्छेले २५-३० सम्म दिँदा रहेछन् एकजनाले । परिपक्व काम हुने रहेछ भने तिमीहरुले थप्नुपर्ने पनि हुनसक्छ । माहोल हेरर म भन्दिउँला । तिमीहरु अत्तालियौ, नानीहरुले तिमीहरुलाई चेपे र मैले तिमीहरुलाई ल्याओ… ल्याओ… भन्ने कुरा होइन । मेरो चाहना त भरिसक्ये एक पैसा पनि खर्च नगरी तिमीहरुको काम गरिदिन पाए मेरो नाम, मेरो शान हुन्थ्यो । म पनि बीचको मान्छे… बाउ जस्तो मान्छे । मैले तिमीहरुलाई पैसा उठाएर ‘त्यसलाई खुवाएर जा’ भन्दा म मरेको जस्तो भएको छु ।
भाइहरु आएको, घुमेको म बुझ्छु । तिमीहरु फेरि यसरी नआउ । म खाँचो पर्यो भने खबर पठाउँछु, तिमीहरु आइहाल्छौ । पहिले मूल मान्छे आउनुपर्ने हुन्छ । तर, हेर, पैसा दिने भनेको चाहिँ तिमीहरुलाई मात्रै भनेको, गएर सबैलाई हल्ला नगर । यस्तो पैसा उठ्दै रहेछ, खुवाउँदै रहेछ बुढालाई थाहा रहेछ भन्ने हुन्छ । भरे कुरा कहाँ कहाँ गएर मलाई नराम्रो पनि हुनसक्छ । ठूला-ठूला मान्छे मुछिएको प्रमाणै भइसक्यो यहाँ । तर, के छ भन्देखी, पैसा भनेको कुरा, पैसाले मान्छेलाई मार्छ । पैसा छ पनि, पैसा छैन पनि । रजिस्ट्रेसन गर्दै गर्छौं, ती मान्छे बोलाउँ भनिरहेका छन् । तर, मैले बन्दै नाम निकालेको छैन । हुन्छ पनि भन्या छैन । म आफ्नै बाटो कुरेर बसेको छु । नेपालका मान्छेले पनि कति पैसा खर्च गरेका छन्, तिनीहरुको काम भएको छैन ।
ट्राभल डकुमेन्टमात्रै दिलाए भने पनि हाम्रो काम हुनसक्छ । तर, अहिले हामीले ट्राभल डकुमेन्टमात्रै भन्नुहुँदैन । हामीले भन्नुपर्छ, तिमीहरुले हामीलाई उडाएको हुनुपर्छ । हामी उडेको दिन पैसा दिने हो । उड्ने हुँदा दिने हो । राम्रो काम हुँदै जाँदा म तिमीहरुलाई पैसा दिउँला भनेर म उनीहरुलाई वचन दिउँला । उनीहरुले तिमीहरुको फोटो खिचे, केही दिन पर्यो भने विचार गरौंला । कार्ड दिए अलिकति दिउँला । ट्राभल डकुमेन्ट आएपछि अलिकति दिउँला । अरु उडेपछि बाँकी दिउँला भनेर सम्झौता गरेर राखौंला । साथीभाइलाई नअत्तालिइकन बस भन । गुरुरु नआउ ।
पठाउने ग्रुपको राम्रो मान्छे म चिनाइदिउँला । यो मान्छे भद्र छ, यसले बिगार्दैन, यही हो मिलाउने भनेर । दुईजना हुन् खास मूल मान्छे । तिनीहरुको नाम भाइलाई मैले किन भन्नु ? दुईजना मूल मान्छे सुरुमा मसित आएर कुरा गरेका हुन् । एकजना नेपाली कांग्रेसको, एकजना एमालेको कि माओवादीको हो, राम्रा केटाहरु छन् । गरिराख्या छन् । उनीहरुलाई चिनाइदिउँला । अहिले पैसा लिएर नआओ ।
भुटानीः दुई-चार पैसा खर्चै हुन्छ भने पनि हजुरले कुरा गर्नुपर्यो हाम्रो नानीहरुको खातिर । हामीले इन्डियाबाट भारु पैसा बोकेर आउन समस्या हुने भएकाले पैसा त हामीले नेपाल छिराइसकेको छ पहिल्यै । हाम्रो जाने ग्याङको ८०-९० जनाले आईसी १५ को दरले पैसा नेपाल भित्र्याइसकेका छौं ।
रिजालः हो र ! कहाँ छ त्यो पैसा ?
भुटानीः बैंकमा फिक्स्ड डिपोजिट जस्तो राखेका छन् । बाबैलाई नै थाहा छ यो कुरा ।
रिजालः यो कुरा बाहिर नगर्नु भाइ ।
भुटानीः हस, हजुरभन्दा पर्तिर मैले यो कुरा गर्दिनँ ।
रिजाल भन्छन्- मैले नबुझिकन कहाँ सही गर्छु यार ?
रिजालविरुद्धका प्रमाणहरु प्राप्त भएपछि हामीले उनीसँग फोन सम्पर्क ग¥यौं, जतिबेला उनी झापामै थिए । उनले आफूमाथिको आरोप अस्वीकार गरे ।
सुरुमा रिजाललाई नक्कली परिचयपत्र र नक्कली शरणार्थीको सूचीमा उनको हस्ताक्षर रहेको विषयमा सोधियो । उनले आफूले केहीमा पनि सही नगरेको दाबी गरे ।
रिजालले भने, ‘कसरी हुनसक्छ यो ? बडा अचम्म ! अचम्मको कुरा आइराख्या छ पछिल्लो दिनमा । एकजनाले भनिराख्या छ, टेकनाथ रिजाललाई ७ लाख रुपैयाँ दिएको भनेर । उसको डायरीमा भेटेको अरे ! त्यो मान्छेलाई म चिन्दा पनि चिन्दिनँ । अनि मैले त्यो परिचयपत्र कसरी दिन सक्छु ? परिचयपत्र दिने भनेर कागज बनाएका थिए, धेरैपल्ट मेरोमा कागज आएका थिए । तर, मैले सही गर्दिनँ भनेर फर्काएको थिएँ । बहुत लामो कथा छ । मेरो सही कहीं छैन । कसरी गर्छु मैले ? जाँड खाएको छु कि क्या हो ?
– नक्कली शरणार्थीको सूचीमा पनि तपाईंको हस्ताक्षर देखिएको छ । त्यो हस्ताक्षर पनि नक्कली हो ?
छैन… छैन । मेरो कतै पनि सही हुँदैन ।
– गिरोहले तपाईंको नाम दुरुपयोग गरिरहेको हो कि के हो त ?
एकदमै गलत कुरा हो । त्यो हुनै सक्दैन । मैले नबुझिकन कहाँ सही गर्छु यार ?
– केशव दुलाल र सानु भण्डारीसँग तपाईंको चिनजान र घनिष्ठता हो कि होइन ?
मेरो चिनाजाना हो । काम थालेपछि चिनाजाना भएको हो । जब यहाँ रजिस्ट्रेसनको छानबिन हुने भयो, पन्थीको टीम आउने भयो नि यहाँ । त्यो आएको बेलामा हो । बादमा चाहिँ मैले पनि त्यसमा सही गर्नुपर्छ होला भन्ने कुरा निस्किएको थियो । तर, बालकृष्ण पन्थीजीले मलाई स्वयं के भन्नुभयो भने ‘रिजालजी, तपाईंसँग सरोकार भएको कुरा हुँदैन । मलाई माथिबाट तपाईंको सही लिनु पनि भनेको छैन । तपाईंलाई सही गर्नु पनि भन्न मिल्दैन । तपाईं जुन हाइटको मान्छे हो र यो जुन विषय छ, यस्तो खालको कुनै पनि कागजमा सही गर्न म सुझाव पनि दिन्न ।’
– तर, तपाईं यसमा मुछिनुहुने देखियो नि त ?
त्यो सबै जाली कागज छ । मान्छेलाई भर्न जुन कागज बनाइयो, म त कति डराको छु, डराको छु । भोलि नेपालले चाहिँ भुटानसँग वार्ता गर्दा के गर्छ ? यो क्लियर नगरिकन । भएको नभएको कुरा लगाएको छ यार । त्यो नेपाल सरकारकै मान्छे संलग्न भएको छ । ती मान्छेलाई पैसा उठाउन लगाइएको छ । फर्ममा सही गराइएको छ । फर्म कति डरलाग्दो छ भने, तपाईंकोमा आयो भने पनि नेपालको हितका लागि तपाईंले त्यो फर्म छापिदिनु हुँदैन । यहाँभन्दा पनि भुटानले भोलि नेपाललाई मुद्दा हाल्नसक्छ ।
– प्रमाणीकरण सूची बनाउन तपाईंलाई कुनै जिम्मेवारी दिइएको थियो ?
कहींकतै मेरो नाम दर्ता छैन । मेरो केही पनि भूमिका छैन । प्रधानमन्त्री, गृहमन्त्री भेट्न सिंहदरबारभित्र पस्न अनुमतिको कागज त देको छैन । पछिल्ला दिनमा दुनियाभरको रोइकराइ गर्दा दिएको कागज पनि ६ महिनाको लागिमात्रै हो ।
– हामीसँग रामशरण केसी भन्ने मान्छेले तपाईंलाई आफ्नै हातले पैसा दिएको भनेका छन् नि ?
यो मान्छेले ग्रुप लिएर आएर.. लामो कथा छ । अहिले म भन्दिनँ । उसँग चिनजान त हो । मसित मुद्दा खेपेको मान्छे हो । उसले मलाई फसाउन बहुत खोजेको छ । सबै कुरा अहिले भन्दिनँ । यो मान्छे मेरो घरमा आएर बसेर पागल भयो भनेपछि एकजना भूतपूर्व प्रहरीको मान्छेलाई गाडीमा हालेर काठमाडौं पठाएको हुँ । उसको मान्छेलाई जिम्मा दिएको हो । ‘क्र्याक’ भएको कारण पनि यही सन्दर्भमा पैसा बिग्रेर हो । यसले बिहान के भन्छ, बेलुका के भन्छ !
– अरु केही भन्न चाहनुहुन्छ ?
तपाईंको ब्रम्हले जे देख्छ त्यही लेख्नुस् । नेपाल सरकारले छानबिन गरिरहेको अवस्थामा बीचमा बोलेर काम छैन । धेरै जना साथीभाइले तँ मिडियामा नबोल भन्दैछन् । भरिसक्यै तपाईंले पनि केही नलेखिदिनुस् । मलाई शत्रु लाग्छन् । नेपाली दाजुभाइ हौं । म कति बदनाम भइसकेको छु । मेरो ज्यानको पनि सुरक्षा छैन । बीचमा उनीहरुले गिरोहको भनाइमा लागेर मेरो सुरक्षा र गाडी पनि हटाए । मैले रोइकराइ गरेर मागें । साथीभाइहरु डराइरहेका छन् । रोएर हिँडेका छन् । टेकनाथले पनि खाएको रहेछ भनेर मकहाँ आक्रमण गर्न सक्छन् ।