नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा आएन : सांसद गुरुङ (भिडिओ) – Nepal Press

नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा आएन : सांसद गुरुङ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा ठोस रुपमा नआएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारको ठोस योजना नआएको बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको उल्लेख गर्दै अर्थतन्त्रलाई माथि उठाउने नीति आउन नसकेको बताए ।

उनले संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै संघीयता पक्षधरकै कारण यसप्रति प्रश्न उठेको बताए । सांसद गुरुङले दलाल नोकरशाही पुँजीपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजिवादको विकास गर्नुपर्ने बताए ।

‘सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने हामीले धेरै कुरा उठाएका छौँ । तर त्यो हुन्छ कसरी ? त्यसको पनि यो नीति तथा कार्यक्रममा ठोस नीति आएन । मुलुकको अर्थतन्त्र संकटमा छ, मन्दीमा छ । संकटमा भएको अर्थतन्त्रलाई कसरी माथि उठाउने ?’ उनले प्रश्न गरे ।

त्यस्तै, यसबाट कसरी हामी पार गरेर समृद्धिको दिशातिर अगाडि जाने भन्ने कुरामा हाम्रो नीतिगत छलाङ कहाँ हुनुपर्ने हो ? त्यो ठोस रुपमा नआएको गुरुङले बताए ।

‘अर्थतन्त्रको समस्या समाधान कसरी गर्ने भन्नेपनि आएन । सबैभन्दा जल्दोबल्दो समस्या संघीयताको कार्यान्वयन संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । संघीयतामाथि अझ प्रश्नहरु उठिराखेको छ । यो प्रश्न उठ्ने काम संघीयता पक्षधरहरुकै कामले, हाम्रै अयोग्यताका कारणले उठिरहेको छ भन्नेकुरा म यहाँ राख्न चाहन्छु’, उनले भने, ‘उत्पादन सम्बन्धमाथि भइरहेको दलाल नोकरशाही पुँजिपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजीवादको विकास गरेर स्वाधिन राष्ट्रिय अर्थतन्त्रको निर्माण गरेर मात्रै हामी समाजवादका आधारहरु तयार गर्न सक्छौँ । समाजवादमा पुग्नसक्छौँ । यो नीति, कार्यक्रममा नभएकोले कुरा उठाइरहेको छु ।’

उनले नीति, कार्यक्रममा दलाल पूँजीवादलाई बलियो बनाउने कि राष्ट्रिय पूँजीवादलाई बलियो बनाउने भन्ने स्पष्ट नभएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर