भारतीयलाई युवती भिडाएर लुटपाट गर्ने डान्सबार सञ्चालकसहित दुई जना पक्राउ – Nepal Press

भारतीयलाई युवती भिडाएर लुटपाट गर्ने डान्सबार सञ्चालकसहित दुई जना पक्राउ

काठमाडौं। निजी सवारीसाधनमा काठमाडौं भित्र्याउने भारतीय पर्यटकलाई पिच्छा गर्दै युवती भिडाएर लुटपाट गर्ने गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटका ३२ वर्षीय पदमबहादुर शाही र कैलालीका ३३ वर्षीय ओमप्रकाश ऐरी रहेका छन् । शाही डान्सबार सञ्चालकसमेत हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जनवरीमै भएको घटनामा अनुसन्धान गर्दै उनीहरुलाई पक्राउ गरेको हो । यो घटनामा थप दुई जना पक्राउ परे पनि उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनीहरुले काठमाडौं भित्रने भारतीय पर्यटकलाई सहजीकरण गरिदिने नाममा ट्रयापमा पारेर लुटपाट गर्ने गरेका थिए ।

‘होटलको कोठा खोजिदिनेदेखि डान्सबार पुर्‍याउने र युवतीहरु उपलब्ध गराउनेसम्म आश्वासन दिएर नजिक हुने र अन्तिममा युवतीहरु भिडाएर बन्द कोठाभित्र कुटपिट गर्दै लुटपाट गर्ने गरेको पाइएको छ’, अनुसन्धान अधिकारीले भने । उनीहरुले भारतीय गिरोहसँग मिलेर काम गरेको प्रहरीको दाबी छ ।

‘कुटपिटपछि पीडितलाई फोन पे गर्न लगाएर भारतमा पैसा पठाउने गरेको देखिएको छ । भारतमा रहेको गिरोहलाई केही रकम दिएर फेरि त्यो रकम नेपालमा पठाउन लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ’, ती अनुसन्धान अधिकारी भन्छन् ।

गत जनवरीमा नेपाल आएका तीन जना भारतीयले आफूहरु लुटिएको भन्दै प्रहरीमा जाहेरी दिएर घर फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *