मधेश सरकारबाट असन्तुष्ट तीन दलको निष्कर्ष- मुख्यमन्त्री यादवले सहमति विपरीत सरकार विस्तार गरे
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले सहमति विपरीत सरकार विस्तार गरेको ठहर गर्दै नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको संयुक्त बैठक स्थगित भएको छ ।
आज प्रदेश सरकारमा दुई मन्त्री लिएर नेपाली कांग्रेस र एक मन्त्री लिएर नेकपा एस सरकारमा सहभागी भएको छ । काँग्रेस र नेकपा एस सरकारमा सहभागी भएलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय लियो ।
कांग्रेस र नेकपा एसका मन्त्रीहरु शपथ लिदै गरेका बेला सत्ता गठबन्धनका असन्तुष्ट तीन दिन माओवादी, लोसपा र जनमतका संसदीय दलका नेताहरु बैठक बसेको थियो ।
‘मुख्यमन्त्री यादवले एकलौटी ढंगले सरकार विस्तार गरेलगत्तै बसेको तीन दलको बैठक आजको लागि तत्काल स्थगित भएको छ’, लोसपा संसदीय दलका नेता अभिराम शर्माले भने, ‘आज खासै निर्णय भएन । तर हामीले मुख्यमन्त्रीको एकलौटी निर्णयमा असन्तुष्ट व्यक्त गरेका छौं ।’
केन्द्रीय नेतृत्वसँग मुख्यमन्त्री बाहेक सबै मन्त्रालय खाली गरेर छलफल गरी मन्त्रालय बाँडफाँड गर्ने सहमती भएको थियो भन्दै उनले भने- तर मुख्यमन्त्री यादवले सहमती विपरित अगाडी बढे । हाम्रो भनाई छ- समान हैसियतमा व्यवहार गर्नुपर्छ ।
प्रदेश सरकार विस्तार, नीति तथा कार्यक्रम, राजनीतिक नियुक्ति लगायतका विषयमा आज छलफल गर्ने तय भएकोमा मुख्यमन्त्री यादव सबै छाडेर सरकार विस्तार गरेको उनको भनाई छ ।
मुख्यमन्त्री यादवको सिफारिसमा जनमत पार्टीको तर्फबाट मन्त्री बनेका बसन्त कुशवाहाको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खोसेर नेकपा एसका गोबिन्द न्यौपानेलाई दिएको छ ।
मन्त्रालय खोसेपछि जनमत पार्टी र थप एक मन्त्रालय नदिएपछि नेकपा माओवादी केन्द्र असन्तुष्ट बनेका छन् । सरकारबाट बाहिरिने निर्णय गरेपनि माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छैन ।