अब मैले न्यायको लडार्ईं पनि छोडिदिएँ – Nepal Press

अब मैले न्यायको लडार्ईं पनि छोडिदिएँ

काठमाडौं । गत वैशाख २५ गते मैले आफ्नो फेसबुक वालमा पत्रकारिता गर्दा कार्यक्षेत्रमा आफूले भोगेका केही घटनालाई जोडेर एउटा स्टाटस राखेकी थिएँ ।

कतिपयले कुनै प्रतिशोधात्मक भावनाले लेखेकी होला भन्ने धारणा बनाए । तर, त्यो स्टाटस मात्रै थिएन, मैलै वर्षौंदेखि भोग्दै आएको यातना, पिडा र आफ्नै रोजाईले आएको पेशा छोड्दै गन्तव्य मोड्नुपर्दाको भावना विष्फोट थियो ।

घरपरिवारको सहमती बेगर पत्रकारितामा स्थापित हुनका लागि मैले जेजति पिडा पाएँ, जे जति असहयोग भयो ती सबै लुकाएरै काम गरिरहेकी थिएँ । दुई वर्षभन्दा बढी समयदेखि मैले भोगिरहेका यातनाहरु पारिवारिक डरको कारणले खुलाउन सकेकी थिइनँ ।

एक्लाएक्लै कानुनी लडाईं लड्न सक्ने आँट पनि आएन । दिनप्रतिदिन मैलै पत्रकारितामा असुरक्षित महसुस गरिरहें । एक व्याक्तिबाट मात्रै होइन, धेरैबाट । अन्तमा लड्न नसकेपछि मैले यो झमेलाबाट मुक्त हुने र पत्रकारिता छोड्ने निष्कर्षमा पुगेँ ।

मैले यो पेशा छोडेर बाटो मोड्दा पनि सुख पाइनँ । मेरो चरित्रको कुरा पिडक आफैंले मेरो परिवारदेखि सबैसँग भन्दै हिँडेको थाहा पाएपछि मलाई सहनै गाह्रो भयो । त्यसपछि आफूले भोगेका यातना र पत्रकारिता पेशामा महिला कसरी असुरक्षित छन् भनेर वैशाख २७ गते सबै घटना खुलाएर नेपाल प्रेसमा ब्लग प्रकाशित गरेकी थिएँ ।

मलाई पत्रकारितामा टिक्न नदिने, मानसिक यातना दिने कथित पत्रकारको विरुद्धमा महासंघ र सञ्चारिका समूहमा लिखित उजुरी दिइसकेपछि तिनै पत्रकारलाई प्रेस सेन्टर भन्ने संस्थाले सम्मानसहित खादा माला ओढाएको देख्दा म विक्षिप्त भएकी छु । सायद मजस्ता पत्रकारितामा भविष्य खोज्दै हिँडेकाहरुको सपनाको हत्या गर्न सफल भएकोमा उसलाई सम्मान गरिएको होला ।

ब्लग प्रकाशनपछि मैले पत्रकारका नेता, पत्रकार महासंघ, पत्रकार महिलाको पक्षमा काम गर्नका लागि खुलेका संस्थाहरु मेरो सम्पर्कमा आए, कुनैमा म आफैं पुगेँ । सुरुआती दिनमा नेपाल पत्रकार महासंघ र सञ्चारिका समूहले हामी तिमीलाई खुलेर साथ दिन्छौं, यो मुद्दामा हामी तिम्रो साथमा छौं भनेर आश्वासन दिए ।

महासंघ र सञ्चारिका समूहमा उजुरीका लागि निवेदन दिन भनेँ । त्यसपछि ११ दिनअघि आवश्यक कारबाहीका लागि पत्रकार महासंघ काठमाडौं र सञ्चारिका समूह नेपालमा ती व्यक्तिहरुको नाम नै खुलाएर निवेदन दिएकी थिएँ । विस्तारै पत्रकार महासंघ र सञ्चारिका समूहले पनि आफैंले दिएको बचनबाट पछि हटे । आनाकानी गर्दै वास्ता गर्न छोडे ।

आज मैले पत्रकारिता, पत्रकार र गत वैशाख २७ मा प्रकाशित ब्लग पछिका सम्पूर्ण घटनाक्रम र न्यायका लागि स्थापित संस्थाहरुको भित्री वास्तविकता खुलाउँदै आफ्नो लेखाइलाई यहीँबाट पूर्णतः विश्राम दिने निर्णय लिएकी छु ।

‘मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु’ भन्ने शीर्षकमा ब्लग प्रकाशित भएपछि विभिन्न फोन कल आए । मोबाइल अफ नै गर्नुपर्ने बाध्यता आइलाग्यो । तर, कामविशेषले मोबाइल अन गर्दा केही चिनेका व्यक्तिहरुको कल रिसिभ गरेँ । धेरैले गरेका मेसेज र कमेन्ट पनि पढेँ ।

ती व्यक्तिहरुको कुरा सुन्दा मेरो मानसपटलमा अहिले पनि अनेकौं प्रश्नहरु उठिरहेका छन् । कतिपयले आफ्नो भोगाइले पत्रकारिताभित्रको फोहरलाई पर्दाफास गर्न हिम्मत गरेको भन्दै तारिफ गरे । कतिपयले आफूले पनि कार्यस्थलमा यस्तै घटना भोगेको कुरा सुनाए ।

धेरैले यो अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै मानसिक स्वास्थ्यको ख्याल राख्न सुझाव समेत दिए । धेरैले पत्रकार महिलाले काम गर्ने दौरानमा मैले भोगेजस्तै हिंसा भोग्ने गरेको तर त्यसको विरोध गर्दा आफ्नै चरित्रमाथि प्रश्न उठाउने समस्या आउने भएकाले चुपचाप सहेर बसेको र पत्रकारिता छोडेको बताए ।

पत्रकारिता छोड्न त मैलै पनि छोडेँ, तर पत्रकारको हकहितका लागि काम गर्छौं भन्ने संघसंस्थाको गैरजिम्मेवारी र पत्रकारितालाई बदनाम गर्ने कथित पत्रकारको असली रुप छर्ल¨ै पारेर बिदा लिने निर्णयमा पुगेँ ।

पछिल्ला घटनाक्रमः

ब्लग प्रकाशित भएपछि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिवसँग मेरो कुरा भयो । एकै जिल्लावासी त्यसैमाथि पत्रकार महासंघको महासचिव भएकाले उहाँबाट सहयोग पाइने मलाई पूर्ण विश्वास थियो । तर मेरो उहाँमाथिको विश्वास धेरैबेर टिकेन ।

उहाँले त ती कञ्चनपुरका पत्रकार आफ्नै ठाउँको मान्छे भएकाले उजुरी नदिन सुझाव दिनुभयो । ‘उसले जहाँ भन्छौं त्यहीँ आएर माफी माग्छ । तर अहिले उजुरीतिर नजाउ, बाँकी तिम्रो इच्छा’ भन्दै कुरा टुंगाउनुभयो ।

‘पीडक हाम्रो मान्छे हो, हाम्रै जिल्लाको मान्छे हो’ भन्दै गर्दा म को हुँ ? के मेरो पिडा तपाईंहरुका लागि केही पनि होइन ? पत्रकारमा नेता हौं भन्नेहरुले पिडक जोगाउने ठेक्का लिएको हो ? मेरो मनमा यस्ता प्रश्न उब्जिए ।

त्यसपछि मेरो कुरा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामीसँग भयो । उहाँलाई मैले ‘सर न्यायको लडाइँमा तपाईंहरुको सहयोग चाहिन्छ । जिल्लाबाट प्रेस विज्ञप्ति मात्रै निकालिदिए धेरै राहत हुने थियो’ भनेकी थिएँ ।

उहाँले भन्नुभयो, ‘तिमी आजभोलि जिल्लामा छैनौ । आजसम्म किन नभनेको मलाई ? तिम्रो घर कहाँनिर हो महेन्द्रनगर भन त’ भनेर उल्टै प्रश्न गर्नुभयो । उहाँकाअनुसार म अहिले काठमाडौं भएकाले मेरो घटनामाथि नेपाल पत्रकार महासंघ कञ्चनपुरले कुनै जिम्मेवारी लिन नसक्ने रहेछ ।

यस्तै महिला पत्रकारहरूको हक, अधिकारबारे पैरवी गर्ने सञ्चारिका समूह नेपालका अध्यक्षसहितका पदाधिकारीसँग पटकपटक कुराकानी भयो । भेटेरै पनि उहाँहरुले सबै जानकारी लिनु भयो । अन्तमा उहाँहरु पनि रमिते मात्रै बन्नु भयो ।

सञ्चारिका समूहका सबै पदाधिकारीलाई प्रत्येक दिन छुट्टाछुट्टै भेट्नुपर्ने र एउटै विषयमा सबैसँग छुट्टाछुट्टै ब्रिफिङ गर्नुपर्ने अवस्था त्यहाँ थियो । यसरी घटनाको सबै विवरण उनीहरुलाई भन्दाभन्दै म थाकिसकेकी थिएँ ।

सञ्चारिकाका अध्यक्षले भन्नुभयो, ‘कार्यालयमा निवेदन बुझाउ, कारबाही अगाडि बढाउछौँ ।’ मैले पनि न्याय पाउने आशले सञ्चारिका समूह र पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गएर लिखित उजुरी दिएको आज (मंगलबार) ११ दिन भयो । सञ्चारिका समूह पनि अन्तमा ‘सबै कुरा पत्रकार महासंघबाटै गर्दा ठिक हुन्छ’ भनेर पन्छियो ।

मेरो भोगाई र उजुरीका विषयमा पत्रकार महासंघका महासचिव रोशन पुरीलाई पनि राम्रोसँग जानकारी छ । उहाँले मलाई भेट्न बोलाएर सबै कुरा सहजैै हुन्छ भनेर चित्तबुझ्दो कुरा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महासंघ तिम्रो पक्षमै हुन्छ । तिमीले न्याय पाउँछौं ।’ यति सुनिसकेपछि मैले न्याय पाउने विश्वास लिएँ । मैले महासंघमा त्यत्रो उजुरी दिएको र महासंघका पदाधिकारी नै भेटेर सबै घटनाको बारेमा जानकारी दिएकाले महासंघले न्याय दिन्छ भनेर भर परेकी थिएँ ।

तर केही दिन कुरेर महासचिव रोशन पुरीसँग मेरो निवेदनका बारेमा के हुँदैछ भनेर जिज्ञासा राख्न सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘बाला अधिकारी (पत्रकार महासंघकी उपाध्यक्ष) जीलाई बुझेर खबर गर्छु ।’ उहाँले बुझेर खबर गर्छु भनेर पटकपटक मेरो फोन राख्नुभयो । तर उहाँले अहिलेसम्म बुझेर मलाई एकपटक पनि खबर गर्नु भएन ।

उता महिला तथा बालबालिकाहरुका मुद्दा हेर्न छुट्याइएको फाँटको जिम्मेवारी पाउनु भएकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले भने ती पीडक पत्रकार ‘कहिले शुक्रबार आउँछ भन्ने, कहिले आइतबार त कहिले सोमबार आउँछ’ भन्ने जस्ता जवाफ दिनुभयो । पिडक पत्रकारलाई महासंघले नै काठमाडौं बोलाउने र बाँकी प्रक्रिया अगाडि बढाउने भनेको थियो । तर फेरि उनै उपाध्यक्षले ‘बुधबारसम्म आएन भने तपाईं र म त्यहीँ गएर माफी माग्न लगाउँला है बहिनी’ भनेर कुरा गर्नुभयो ।

म उनीहरुले दिएको यातना र पिडाले मानसिक समस्या झेलेर छट्पटाइरहेकी छु । फेरी मैले नै काठमाडौंबाट कञ्चनपुर गएर यो मुद्दा मिलाउनु पर्ने ?

महासंघले मलाई न्याय दिन खोजेको कि पत्रकारले गरेको नराम्रो क्रियाकलाप बाहिर ल्याइस् भनेर उल्टै मलाई सजाय दिन खोजेको ? म पिडित भएँ भनेर माफी मगाउन कञ्चनपुर जाने हो कि महासंघले उनलाई झिकाउने हो ? के महासंघ पीडकले भनेअनुसार चल्ने हो ?

यसै घटनाको बारेमा महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलसँग पनि सबै कुरा सेयर गरेकी थिएँ । पहिलो दिन उहाँले फोन रिसिभ गरेर सबै कुरा त सुन्नुभयो । त्यसपछि भने उहाँले अहिलेसम्म मेरो फोन रिसिभ गर्नु भएन ।

यदि पत्रकार महासंघको छाता संगठनका अध्यक्ष धेरै नै व्यस्त हुन् भने फुर्सदको समयमा कलब्याक त गर्न सकिन्थ्यो । एउटै नम्बरबाट पटकपटक, फोन आइरहेको छ भने कलब्याक दिनुपर्छ कि पर्दैन अध्यक्षज्यू ? पत्रकारकै समस्या सुन्न फुर्सद छैन भने तपाईं किन अध्यक्ष बन्नु भयो ? यति मरिहत्ते गरेर तपाईंसामु न्यायको भिख माग्दा पनि यो लेभलको वेवास्ता गर्नु हुन्छ भने तपाईं कसका लागि अध्यक्ष बन्नुभयो ? सुरुमा मेरो सबै पिडा सुनेर अन्तमा किन मेरो मुद्दामा वास्ता नगरेको अध्यक्षज्यू ?

महासंघले यसको छिनोफानो गर्दैन भने म मेरो समय खेर फाल्दिन । बरु हँुदैन भनेर जवाफ दिए म ढुक्क भएर आफ्नो बाटो हिँड्छु भन्नका लागि मात्रै मैले अध्यक्षज्यूलाई धेरैपटक कल गरेँ । अन्तमा मैले यतिसम्म भन्न पाइन ।

निवेदन दिनु अगाडि कल गर्दा अध्यक्षज्यूको जवाफ थियो, ‘म बाहिर जाँदैछु, मैले तपाईंको कुरा गरेको छु । चिन्ता नगर्नुस, रोशनजीले हेर्नू हुन्छ ।’ तर, निवेदन दिएकै आज–मंगलबार) ११ दिन पुग्दा पनि महासंघले मेरो लागि किन एक शब्द बोल्दैन ? महासंघले बलियो भएर एक्सन लिन सक्दैन अथवा महासंघलाई सहीलाई सही, गलतलाई गलत छुट्याउन गाह्रो पर्छ भने किन निवेदन देउ भनियो ?

मैले न्यायका लागि कति दिन कुर्नुपर्ने हो ? अब त हरेस खाइसकेँ । न्याय नपाउने छाँटकाँट देखिएपछि अब म कुनै लडाईं नलडेर विश्राम लिँदैछु । यी सबै एउटा नराम्रो सपना सोचेर बिर्सन खोज्ने प्रयास गर्दैछु । तर, म जस्तै अर्की पीडित महिलालाई आफूले भोगेका घटनालाई लिएर अदालतको ढोका ढक्ढकाउन सुझाव दिन चाहन्छु । कमसेकम त्यहाँ न्याय पाउने आशा त हुन्छ । यदी पत्रकारका हक, अधिकारको नारा लगाउने संस्थामा गए मैलै जस्तै तपाईंले पनि झेल्नुपर्ने हुन्छ ।

अनि पत्रकार महासंघको निर्वाचन हुँदै गर्दा महिला कोटाबाट पदाधिकारी र सदस्य भएका उनीहरुको काम के हो ? एउटा पिडितले पटकपटक महासंघको साथ खोज्दा पनि महिलाको हकहित र महिलाको पक्षमा बोल्छौं भनेर चुनाव लड्ने छुट कसरी हुन्छ ?

समावेशी भएन भनेर आरक्षण खोज्दै गर्दा तिनीहरुको जिम्मेवारीभित्र मजस्ता पत्रकार महिलाको समस्या पर्दैन । यतिसम्म महासंघ र महिलाको पक्षमा काम गर्ने संस्थाको अगाडि आँशु बगाउँदा पनि साथ पाइदैन भने उजुरी दिन लगाएर मेरो भावनामाथि किन खेलियो ? यसको जवाफ भने म जस्तुसुकै अवस्थामा भए पनि खोजीरहने छु ।

यो पनि पढ्नुस्: मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *