गर्भवतीको मृत्युपछि सिन्धुली अस्पताल तनावग्रस्त, बिहानैदेखि सबै सेवा ठप्प
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/05/sindhuli-hospital.jpg)
सिन्धुली । गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि सिन्धुली जिल्ला अस्पतालको सेवा ठप्प भएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूहरू असुरक्षित भएको भन्दै बहिरंग, इमर्जेन्सीलगायत सेवा बन्द गरेका छन् । आक्रोशित स्थानीयले बीपी राजमार्गसमेत अवरुद्ध गराएका छन् ।
अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।
कमलामाई नगरपालिका-५ की गंगा गुरूङ श्रेष्ठ मंगलबार बिहान १० बजेतिर अस्पताल आएकोमा त्यहाँबाट रिफर गरेपछि बर्दिबास लगिएको थियो । ती महिलाको बर्दिबास लैजाने क्रममा मृत्यु भएको थियो । सिन्धुलीमा गलत औषधि चलाएकाले मृत्यु भएको बर्दिबासका डाक्टरले बताएको आफन्तको दाबी छ । डाक्टरको लापरबाहीबाट मृत्यु भएको भन्दै आफन्तले मंगलबार सिन्धुली अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । डाक्टरलाई कारबाही, मृतकका परिवारलाई क्षतिपूर्तिलगायतको माग राख्दै आक्रोशित भिडले जिल्ला अस्पताल र आँखा अस्पतालमा क्षति पुर्याएको थियो ।
भिड नियन्त्रणको क्रममा इन्स्पेक्टर रामभक्त भट्टराईसमेत घाइते भएको सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।
मंगलबार राति मृतकका आफन्तसँगको छलफलमा सत्यतथ्य छानबिन गर्ने सहमतिसहित बुधबार बिहान ८ बजे पीडित पक्ष र अस्पतालका प्रतिनिधिबीच पुनः बैठक बस्ने सहमति भएको थियो । छानबिन समिति गठन गरी प्रतिवेदन अनुसार कानूनी कारबाही अघि बढाइने सहमति भएको एसपी सिलवालले जानकारी दिए । अस्पतालले भने घटनाबारेमा कुनै ओैपचारिक धारणा सार्वजनिक गरेको छैन ।