बजेट लेखन : सर्वसाधारणलाई मन्त्रालयको ढोका बन्द, कर्मचारी भन्छन्- पोहोरको घटनाबाट सचेत छौं
काठमाडौं । बजेट निर्माणको चटारोका बीच अर्थमन्त्रालयभित्र सर्वसाधारण प्रवेशमा बन्देज गरिएको छ । अर्थमन्त्रीको सचिवालयका एक कर्मचारीले सोमबारबाटै कर्मचारीबाहेकलाई छिर्न बन्देज लगाइएको जानकारी दिएका छन् ।
ती कर्मचारी भन्छन, ‘आइतबारसम्म फाट्टफुट्ट सर्वसाधारण छिरेका थिए । अब भने छिर्न पाउँदैनन् ।’
अर्थमन्त्रालयका प्रवक्ता धनीराम शर्मा बजेटको गोपनीयता कायम राख्न सर्वसाधारणलाई मन्त्रालय प्रवेशमा रोक लगाइएको बताउँछन् ।
उनले नेपाल प्रेससँग भने, ‘बजेटमा गोपनियताका कुरा हुन्छ । अहिले राजस्वका विषयमा छलफल भइरहेको छ । यसको संवेदनशीलताका कारण केही दिनलाई रोकिएको हो ।’
अर्थमन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट लेखन कार्य अन्तिम चरणमा पुर्याएको छ । बजेट लेखनको अन्तिम साता करका विषयमा छलफल हुने भएकाले कडाइ गरिएको हो । यद्यपि, करका दरमा भने अंकको विकल्प राखिएर छलफल हुने भएकाले यो वा त्यो कुन दर हुन्छ भन्ने छलफलमा सहभागीलाई नै थाहा नहुने पूर्वसचिव रामेश्वर खनाल बताउँछन् ।
करका दरका विषयमा भने बजेट सार्वजनिक हुने दिन बिहान तीन/चार बजेसम्म मात्र टुंगो लाग्ने मन्त्रालयका एक अधिकारी बताउँछन् ।
गत वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट स्वार्थ समूहको चलखेल र असम्बन्धित व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको विषयले विवादित बनेको थियो । यस पटक त्यस्तो घटना नदोहोरियोस् भनेर सर्वसाधारणलाई जेठ १५ सम्म मन्त्रालय प्रवेशमा कडाइ गरिएको बजेट लेखन टीमका एक सदस्य बताउँछन् ।
यो पटक अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैको दबाब र प्रभावमा नपरी बजेट निर्माण गर्ने दाबी गर्दै आएका छन् । आगामी आर्थिक वर्षको लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्बको आकारभित्र रहेर बजेट निर्माण गर्न माग भने निकै बढी देखिएको छ । चालू खर्च कटौतीमा अर्थमन्त्री निर्मम हुनसक्ने सम्भावना न्यून देखिएको मन्त्रालय स्रोत बताउँछ ।