गोकर्णको प्रस्ताव- उच्च ओहदामा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरौं, स्रोत नखुले जफत गरौं (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले २०४६ सालपछि उच्च ओहदामा आएको सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले स्रोत नदेखिएको सम्पत्ति जफत गर्नुपर्ने बताए ।
उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको कुरा आएको छ २०४६ साल पछाडि जति व्यक्तिहरू ओहदामा आएका छन् । ती सबैको छानबिन गर्ने र स्रोत नदेखिएको सम्पत्तिलाई जफत गर्ने गरी कानून निर्माण गर्नुपर्छ ।’
विष्टले नीति तथा कार्यक्रमलाई आजको गम्भिरतालाई महसुस नगरेको उल्लेख गर्दै परिमार्जन गर्न सुझाव दिए ।
‘यताबाट आऊ, उताबाट जाऊ’ भन्ने नेपाली उखान चरितार्थ हुने गरी सरकारको नीति तथा कार्यक्रम आएको उनको जिकिर छ ।
विष्टले भने, ‘यो नीति, कार्यक्रम कस्तो छ भने एउटा नेपालीमा उखान छ-यताबाट आऊ, उताबाट जाऊ । दाँतले चपाऊ तर केही पनि नखाऊ । यही प्रकारको अवस्थामा नीति, कार्यक्रम आएको छ । त्यसकारण आजका गम्भिरताहरूलाई महसुस गरेर नीति, कार्यक्रमलाई अझ नयाँ ढंगले परिमार्जन गर्ने हिसाबले सोचौं ।’