सोती हत्याकाण्डको तीन वर्ष पूरा, अझै टुंगो लागेको छैन मुद्दा – Nepal Press

सोती हत्याकाण्डको तीन वर्ष पूरा, अझै टुंगो लागेको छैन मुद्दा

संसदीय समिति, गृह मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन गुपचुप

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ८ सोतीस्थित भेरी नदीको किनारमा जाजरकोटको भेरी नगरपालिका- ८ रानागाउँका नवराज विकसहितका ६ जनाको हत्या भएको आज ३ वर्ष पूरा भएको छ ।

सोतीमा घर भएकी मल्ल थरकी प्रेमिका लिन साथीसहित जाँदा ३ वर्षअघि २०७७ जेठ १० मा नवराजसहित ६ जना युवाको हत्या भएको थियो । उनीहरूका परिवारले तीन वर्षसम्म पनि न्याय पाएका छैनन् । उल्टै घटनामा संलग्न व्यक्तिले उन्मुक्ति पाउँदा आफूहरु झन पीडामा परेको पीडित परिवारहरुको भनाइ छ ।

हत्या गरिएका नवराजकी आमा उर्मिला र बुवा मोहनलाल आफूहरुलाई जसरी हुन्छ न्याय चाहिएको बताउँछन् ।

घटनामा ज्यान गुमाएका सञ्जु विककी श्रीमती सविनाले न्याय पाउने आशा मर्दै गएको बताइन् । सानो छोराले बुबा खोइ भनेर सोध्दा आफूसँग कुनै जवाफ नभएको सुनाउँदै उनले घटना भएको ३ वर्षसम्म पनि फैसला नहुनु झन पीडादायी भएको सुनाइन् ।

के हो सोती हत्याकाण्ड ?

२१ वर्षीय नवराज विक भलिबल, ज्याभ्लिन थ्रो, कबड्डीका खेलाडी थिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका बेला चौरजहारी- ८ सोतीकी मल्ल थरकी युवतीसँग नवराज नजिकिएका थिए । अभिभावकले सम्बन्धबारे थाहा पाएपछि अरूसँगै विवाह गरिदिन लागेको भन्दै युवतीले २०७७ जेठ १० मा आफूलाई लैजान नवराजलाई बोलाएकी थिइन् । नवराज आफ्ना साथीभाइसहित भेरी नदी तरेर किशोरीको गाउँ पुगेका थिए । प्रेम विवाह गर्ने योजनासहित गएका नवराजसहित ६ जना युवा त्यसपछि कहिल्यै नफर्किने गरी भेरी नदीमा बिलाए ।

सोतीका बासिन्दाबाट योजनाबद्ध तरिकाले नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक, १९ वर्षीय गणेश बुढा र १७ वर्षीय गोविन्द शाही मारिएका थिए । उनीहरूलाई गाउँलेले घेरा हालेर लखेटी-लखेटी घरेलु हतियारले प्रहार गरेका थिए  । मृतक र घाइतेलाई हातखुट्टा बाँधेर भेरी नदीमा बगाइएको थियो । उनीहरूमध्ये नवराजको शव त्यसै दिन राति घटनास्थलभन्दा दुई किलोमिटर टाढा फेला परेको थियो ।

अन्तिममा जेठ २० गते गोविन्द शाहीको शव घटनास्थलभन्दा २२ किलोमिटर तल भेरी किनारमा फेला परेको थियो । गोविन्दका अगाडिपट्टिका तलमाथिकै दाँत थिएनन् । ओठ, चिउँडो र नाक छुने गरी ठाडो काटिएको गहिरो घाउ थियो । नवराजलाई साथ दिन पुगेका १८ मध्ये १२ जना घाइते अवस्थामा भागेर ज्याउन जोगाउन सफल भएका थिए ।

कहाँ पुग्यो न्यायिक प्रक्रिया ?

पीडित परिवारले घटनामा संलग्न ३४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा जाहेरी दर्ता गरेका थिए । प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा २०७७ जेठ ३२ गते मुद्दा दर्ता गरेको थियो । फरक फरक समयमा गरेर ३४ जना प्रक्राउ पनि परे  । तीन पटकमा गरेर जिल्ला अदालत रुकुम पश्चिमले थुनछेक आदेश गर्‍यो ।

२०७७ असार १० गते भएको थुनछेक आदेशले नवराजकी प्रेमिका र उनका भाइलाई नाबालक भनेर सुधारगृह पठायो  । पछि उच्च अदालत सुर्खेतले अभिभावकको जिम्मामा छाड्न आदेश दियो । हत्या गर्न आदेश दिएको आरोप लागेकी प्रेमिकाकी आमालाई जिल्ला अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दियो ।

अदालतले हत्यामा संलग्न तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दीपेन्द्र चन्दलाई साधारण तारेखमा छोड्न आदेश दियो । २३ जनालाई पुर्पक्षका लागि थुनामा पठायो । बाँकी आरोपित तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा दुईपटकमा अदालतमा हाजिर भएपछि थप दुई पटक थुनछेक आदेश भयो । २०७७ असार २८ गते भएको थुनछेक आदेशबाट एक जना र असार ३१ गतेको आदेशबाट थप ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो ।

थुनछेक आदेशप्रति अभियुक्त पुनरावलोकनका लागि उच्च अदालत सुर्खेत गुहारियो  । उच्च अदालत सुर्खेतका न्यायाधीशहरुबीचमा थुनामा राख्ने, धरौटी माग्ने वा तारिखमा छाड्ने भन्नेमा राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले २०७८ वैशाख ६ गते पाँचै जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दियो ।

अहिले सोती घटनामा संलग्न भएको आरोपमा नवराजकी प्रेमिकाका बुबा र दाइसहित २३ जना पुर्पक्षका लागि कारागारमा छन् । तर, मुद्दा पूर्ण सुनुवाइको चरणमा पुगेको छैन  ।

अन्तिम फैसलाकाे पेशी जेठ ३० मा

जिल्ला अदालत रुकुम पश्चिमका अनुसार उक्त मुद्दाको अन्तिम फैसलाका लागि जेठ ३० पेशी तोकिएको छ । यसअघि बैशाख २४ गते नै अन्तिम फैसलाका लागि पेशी तोकिएको थियो । तर, न्यायाधीश जिल्ला बाहिर जानुपरेकाले पेशी जेठ ३० गतेका लागि सारिएको अदालतका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

संसदीय समितिको प्रतिवेदन गुपचुप

घटनाको १६ दिनपछि २०७७ जेठ २६ गते प्रतिनिधिसभाले सांसद देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । उक्त समितिले २०७७ असार ३० गते सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

राष्ट्रिय मानव अधिकार आयोग र गृह मन्त्रालयले पनि सोती हत्याकाण्डको अनुसन्धान गरेका थिए  । दुवै निकायले विज्ञप्तिमार्फत केही तथ्य सार्वजनिक गरे । तर, तिनीहरुले पनि प्रतिवेदन सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर