यामलाल कँडेलको दाबी- योजनाहरुमा बिचौलियाको हाबी हुने गरेको छ
सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले बनाउने योजनाहरुमा बिचौलियाको हाबी हुने गरेको दाबी गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएपनि प्रदेश सरकारको प्राथमिकतामा राजधानी नपरेको बताए ।
बुधबार प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले कर्णाली राजधानीको विकासमा प्रदेश सरकार अगाडि नबढेको भन्दै तर्क गरे ।
सुर्खेत विमानस्थल विस्तार गर्नुको साटो छिन्चुमा नयाँ विमानस्थल बनाउने कुरामा जोड दिएको देख्दा विकासका नाममा पुरानो शैली भएको बताए । यसले न पुरानो विस्तार हुने न नयाँ निर्माण हुने कँडेलको भनाइ छ ।
साथै, आगामी वर्षमा प्रदेश सरकारले सडक विकासका लागि प्रदेश सरकारले भेरी र कर्णाली कोरिडोरलाई प्राथमिकता राखेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘कर्णाली प्रदेश सरकारले गर्नुपर्ने कामकारबाही अझै पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सकेको छैन । कर्णालीको केही बजेट र कर्मचारी अभावले यहाँका योजना छनोट गर्न समस्या हुने भएको छ । तर, यी समस्या हुँदा पनि विगत दिनमा योजना खोज्दा पनि भेटाउन नसकिने गरेर योजना बनाइएका छन् ।’
आन्दोलन गर्न जति सजिलो छ तर आन्दोलनबाट प्राप्त गरेको कुरालाई रक्षा गर्न र जिम्मेवारी पूरा गर्न जटिल र अप्ठ्यारो रहेको कँडेलको भनाइ छ ।
कर्णालीमा विगतका योजनाको छनोट, प्राथमिकता कारण र समयको माग अनुसार नभएकाले त्यो समस्या अहिले भोग्नु परेको कँडेलले बताए ।