प्रेम सुवालको प्रस्ताव- ६/६ महिनामा संयुक्त बैठक बसेर देशको बारेमा पनि छलफल गरौं (भिडिओ) – Nepal Press

प्रेम सुवालको प्रस्ताव- ६/६ महिनामा संयुक्त बैठक बसेर देशको बारेमा पनि छलफल गरौं (भिडिओ)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय संसदका दुवै सदनको संयुक्त बैठक ६/६ महिनामा राख्न माग गरेका छन् । बुधबार दुवै सदनको संयुक्त बैठकमा बोल्दै उनले देशका विषयमा पनि संयुक्त समितिमा छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘६/६ महिनामा संयुक्त समितिको बैठक बस्नुपर्‍यो । भ्रष्टाचारीहरु को को हुन् ? कुन कुन प्रधानमन्त्री भ्रष्टाचारमा फसे ? क-कसले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्यो ? त्यो पनि आउनुपर्‍यो। संयुक्त समितिमा देशको बारेमा केही छलफल नहुने, यो मिल्दैन ।’

प्रजातन्त्र भनेको भीडमात्र नभएको उल्लेख गर्दै सांसद सुवालले विचारलाई प्रजातन्त्र भनिने जिकिर गरे ।

उनले भने, ‘सुनुवाइ समिति र संयुक्त समिति छ। सुनुवाइ समितिमा १५ जना चाहिन्छ भने कुन कुन पार्टीबाट कति जना ? दुईटा पार्टीलाई पाँचपाँच जना चाहिने भए यो पास गरेर के अर्थ लाग्यो ? त्यसकारण यो समितिमा एउटा राजनीतिक पार्टीबाट कम्तिमा एकजना सदस्य हुने भनेर लेख्नुपर्छ । २५ जना सदस्य छ, दशदश जना दुइटा पार्टीलाई चाहिने, ५ सदस्य कुन कुन पार्टीलाई बाँड्ने ? यसरी हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर