टेलिकमका पदाधिकारीहरुको नामले गलत आवेदन खुलाइँदै
काठमाडौं । नेपाल टेलिकमका पदाधिकारीहरुको नाम देखाइ आवेदन खुलाइएको पाइएको छ ।
कम्पनीका अनुसार केही दिनअघि ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न आवेदन खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको पाइएको हो ।
बुधबार कम्पनीले सोही गलत सूचनाको पछि नलाग्न एक विज्ञप्ति जारी गर्दै गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिन अनुरोध गरेको छ ।
त्यस्तै कर्मचारी आवश्यकतासम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको बताएको छ ।