आरती साहलाई न्याय माग्दै जनकपुरको सरकारी वकिल कार्यलयमा प्रदर्शन – Nepal Press

आरती साहलाई न्याय माग्दै जनकपुरको सरकारी वकिल कार्यलयमा प्रदर्शन

जनकपुरधाम । दाइजोको निहुँमा आरती साहको हत्या भएको भन्दै जनकपुरको सरकारी वकिल कार्यलय अगाडि प्रदर्शन गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका- ९ की आरतीको शव घरमै झुण्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो । उनको शरीरभरि जताततै निलडाम देखिएकाले हत्या गरिएको दाबी माइती पक्षको छ ।

२२ वर्षीया आरतीको हत्या उनकै श्रीमान मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुले गरेको आरोप लगाउँदै उनका बुवा विनोदप्रसाद साहले प्रहरीमा किटानी जाहेरीसमेत दिएका छन् । तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि न्याय माग्दै आरतीका आफन्त र स्थानीयले आज प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘आरती साहलाई न्याय दे’ लेखिएको प्लेकार्ड बोकेका छन् । आरती मृत भेटिएको दिन पनि उनीहरुले सडक जाम गरेर आन्दोलन गरेका थिए ।

प्रदर्शनकारीहरुले आरतीको हत्या भए पनि आत्महत्यामा परिणत गरी अपराधीलाई उम्काउने खेल भइरहेको आरोप लगाएका छन् ।

दुई वर्षअघि सामाजिक परम्पराअनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका- ३ का मोतीबाबु साहसँग भएको थियो ।

आरतीका बुवा विनोदले छोरीको विहेमा २५ लाख खर्च गरेको र त्यतिले पनि नपुगेको भन्दै छोरीलाई पटक पटक यातना दिएको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर