साहसिक अनुसन्धानले उत्साहित प्रहरीमा एकाएक छाएको सन्नाटा – Nepal Press

साहसिक अनुसन्धानले उत्साहित प्रहरीमा एकाएक छाएको सन्नाटा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलहरुलाई पनि कानूनी कठघरामा ल्याउन सफल नेपाल प्रहरीको मंगलबार साँझसम्म ‘हाई हाई’ थियो । काठमाडौं प्रहरी परिसर हुँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालयसम्मले जनस्तरबाट स्याबासी थापिरहेका थिए ।

अनुसन्धानमा संलग्न जवानदेखिका प्रहरी कर्मचारीमात्र होइन, देशका विभिन्न कुनामा पसेर शान्ति-सुरक्षामा खटिरहेका सबैको गर्वले छाती चौडा भएको थियो । तर, अहिले एकाएक माहोल फेरिएको छ ।

यो प्रकरणमा आईजीपी बसन्तबहादुर कुँवरलाई समेत मुछेर समाचारहरु आएपछि प्रहरी कर्मचारीहरुमा सन्नाटा छायो । बुधबार दिउँसो यो घटनाको अनुसन्धानमा जोडिएका टेकुस्थित काठमाडौं प्रहरी परिसर र मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुग्दा त्यहाँ प्रहरी कर्मचारीको अनुहारमा पहिले जस्तो उत्साह थिएन । अघिल्लो दिनसम्म देखिएको जोश ‘माइनस’ मा झरेको थियो ।

‘घटना कहाँबाट कतातिर मोडियो । संगठनको इज्जत ह्वात्तै बढेको थियो । तर, मंगलबार आएका समाचारले सबै स्वाहा बनायो’, एक सिनियर अधिकृत भन्दै थिए ।

कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको तत्कालीन प्रमुख रहेका बेला नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको कारबाहीमा सकारात्मक भूमिका नखेलेको तथा अहिले प्रहरी नेतृत्वमै टकरावको अवस्था देखिएका समाचारहरु आएका छन् । यस विषयमा महानिरीक्षकको सचिवालयले विज्ञप्ति नै निकालेर खण्डन गर्नुपर्ने अवस्था आयो ।

‘त्यत्रो मेहनत गरेर, कुनै प्रभाव र दबाबको वास्ता नगरी अनुसन्धानमा खटियौं । बहालवाला सचिव र पूर्वगृहमन्त्रीलाई पनि पक्राउ गर्‍यौं । बलिया प्रमाणहरु जुटाउन हाम्रो मेहनत उत्तिकै थियो । अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि उल्टै आईजीपीले जोगाउन खोजेको भनेर समाचार आयो । आईजीपी व्यक्ति होइनन् संगठन हुन् । मोरल डाउन त भइहाल्छ नि’, ती अधिकारीले भने ।

राजनीतिक नेतृत्व र शक्तिकेन्द्रले भविष्यमा निशाना बनाउनसक्ने जोखिम मोलेर आफूहरुले काम गरेको आशय ती अधिकृतको थियो ।

आईजीपी नै विवादमा आएको विषयमा सरकारले औपचारिक रुपमा केही बोलेको छैन । तर, अनुसन्धान जहाँसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म नपुगेको वा पुग्ने हिम्मत नगरेको भनेर सरकारको आलोचना भइरहेको छ । बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले आईजीपी कुँवर र एआईजीहरुलाई गृह मन्त्रालयमा बोलाएर यो विषयमा चासो राखेका थिए ।

गृहमन्त्रीसँग कुँवरले आफूविरुद्ध अनर्गल प्रचार र षड्यन्त्र भएको भन्दै दुःख व्यक्त गरेको बुझिएको छ । स्रोतका अनुसार संगठनको इतिहासमा प्रहरीले गरेको यति ठूलो कामको श्रेय लिन आफूविरुद्ध संगठनभित्रबाटै षड्यन्त्र भएको गुनासो उनले निकटस्थहरुसँग पनि गरेका छन् ।

पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी कोही दुई जना व्यक्तिबीच भएको कुराकानीमा नाम आएकै कारण मात्र अनुसन्धानमा तान्न नहुने तर परिणाममा देखिएपछि जाँचबुझ गर्नुपर्ने बताउँछन् ।

‘१३ नम्बरबाट १ नम्बरमा उक्लिएर पछि आईजीपी बनेको त हो नि ! त्यसैले सरकारले जाँचबुझ गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ । कुँवर सुरक्षा निकायका प्रमुख हुन् । यस किसिमको घटनामा आईजीपीको संलग्नताबारे प्रश्न उठेपछि त्यसको निर्क्योल नगरी बस्नु राम्रो हुँदैन’, भण्डारी भन्छन् ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले तयार गरेको अभियोगपत्र बुधबार नै जिल्ला अदालत काठमाडौंमा दर्ता भइसकेको छ । अनुसन्धानमा आँट गरेको भनेर प्रशंसा बटुलेका प्रहरी अधिकारीहरुमाझ भने अब संगठनभित्र के हुँदैछ भन्ने अन्योल बढ्दो छ ।


प्रतिक्रिया

One thought on “साहसिक अनुसन्धानले उत्साहित प्रहरीमा एकाएक छाएको सन्नाटा

  1. प्रहरी प्रमुखलाई नै मुछेर प्रहरी संगठन र अनुसन्धानलाई कम्जोर बनाएर आरोपितलाई उम्काउने षड्यन्त्र हो भन्छु म त

Leave a Reply

Your email address will not be published. Required fields are marked *