निराका हत्या आराेपित विनाेदलाई थुनामा पठाउने आदेश, सुन किन्नेसँग धराैटी माग
काठमाडौं । काठमाडौं जिल्ला अदालतले कपनमा एक महिनाअघि भएको हत्याकान्डका आरोपी विनोद विश्वकर्मालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालतका न्यायाधिश चन्द्रप्रकाश तिवारीले शुक्रबार थुनछेक आदेश गर्दै उनलाई थुनामा पठाएको हो । सरकारी वकिल कार्यालयले विनोदविरुद्ध जिवनभर कैदमा राख्न माग गर्दै बुधबार अभियोग पत्र दर्ता गरेको थियो ।
यो घटनामा विनोदले हत्यापछि लुटेको सिक्री किनेको आरोपमा पक्राउ परेका प्रदिप गदाइलीलाई भने धरौटीमा छाड्ने आदेश भएको छ । वैशाख ७ गते निरा आचार्य आफ्नै भाँडा पसलभित्र सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।
घटनाको ९ दिनपछि प्रहरीले ३६ वर्षीय विनोदलाई झापाबाट पक्राउ गरेको थियो ।
विनोदले आफू आर्थिक संकटमा रहेका कारण बाटोमा हिँड्दैगर्दा पसलभित्र एक्लै देखेकाले लुटपाट गर्ने उदेश्यले निराको हत्या गरेको बयान सरकारी वकिललाई दिएका थिए। निराको शरिरमा २० भन्दा बढी चोट देखिएको थियो ।