सरकारी निकायमा विदेशी ‘एन्टीभाइरस’को राजः नेपाली उत्पादक भन्छन्- मन्त्रालयमा विदेशी कम्पनीको चलखेल चल्दो रहेछ (भिडिओ) – Nepal Press

सरकारी निकायमा विदेशी ‘एन्टीभाइरस’को राजः नेपाली उत्पादक भन्छन्- मन्त्रालयमा विदेशी कम्पनीको चलखेल चल्दो रहेछ (भिडिओ)

काठमाडौं । उमेरले भर्खर २४ लागेका फरिद अलीले आईटी क्षेत्रमा काम गर्न थालेको एक दशक नाघिसक्यो । विज्ञताको हिसाबले उनी एप्लिकेशन डेभलपर हुन् । सन् २०१२ को समयमा चर्चित रहेको सामाजिक सञ्जाल ‘मिग ३३’ बाट प्रभावित भएर उनी यस क्षेत्रमा आवद्ध भए ।

व्यवसायिक परिवारमा जन्मेका उनलाई किशोर अवस्थामा ‘मिग ३३’ मा समय व्यतित गर्ने लत बस्यो । साथीभाइसँग च्याट गर्नमात्र नभई सो साइटमा रहेका अन्य ‘फिचर्स’ प्रयोग गर्न र गेम खेल्न उनले पैसा खर्च गर्न थाले । लत झाँगिँदै गएपछि र पैसा अलिक बढी नै खर्च हुन थालेपछि उनले सोचे- ‘अरुले बनाएको प्ल्याटफर्ममा यसरी पैसा खर्च गर्नुभन्दा आफैंले यस्तो प्ल्याटफर्म बनाउन पाए पैसा जोगिन्थ्यो र सायद पैसा कमाइन्थ्यो पनि ।’

सो समयमा उनलाई एप्लिकेशन कसरी बन्छन् भन्ने कुनै ज्ञान थिएन । तर पनि उनीमा ‘मिग ३३’ जस्तै प्ल्याटफर्म बनाउने हुटहुटी जाग्यो । मोबाइल एप्लिकेशन डेभलप्मेन्टसँग सम्बन्धित भिडिओ हेर्न थाले । लेखहरु किताबहरु खोजी खोजी पढ्न थाले । छोरो सिर्जनशील काममा व्यस्त हुन थालेको देखेर बुवाआमाले पनि उनलाई सहयोग गरे । सहज वातावरण निर्माण गरिदिए ।

आफ्नै ‘मिग ३३’ बनाउने उनको सपना सन् २०१५ मा पूरा भयो । ‘मिग ३३’ कै जस्तो फिचर्स भएको ‘मिग ३३’ को रेप्लिकालाई उनले नाम दिए ‘एनपी च्याट वर्ल्ड’ । ‘एनपी च्याट वर्ल्ड’ बनाइसकेपछि उनलाई लाग्यो- अब यो प्रोडक्टको बजारीकरण गर्नुपर्छ, यही प्रोडक्टले पैसा कमाउनुपर्छ ।’

यद्यपि उनको प्रोडक्टले नगन्य प्रयोगकर्तामात्र कमाउन सफल भयो । सँगसँगै उनलाई सो समयसम्म ‘कोडिङ’प्रति बढी नै लगाव उत्पन्न भइसकेको थियो । अन्ततः उनले ‘एनपी च्याट वर्ल्ड’को सोर्स कोड बेचिदिए ।

वेब बेस्ड एप्लिकेशनको प्रभुत्व रहेको त्यो समयमा उनलाई भने मोबाइल एप बनाउने रहर जाग्यो । उनी मोबाइल एप डेभलप्मेन्टतिर मोडिए । ६ महिनाको गम्भीर अध्ययनपश्चात उनले एबीसी एन्टी सेक्युरेटी नामक एन्टी भाइरस बनाउन थाले । सोही एन्टीभाइरसलाई व्यवसायिक बनाउने योजनाका साथ अघि बढे । समानान्तर रुपमा उनी फ्रील्यान्स काम पनि गर्दै थिए । सोर्स कोड बेचेर पनि राम्रो कमाइ हुँदै थियो । सोर्सकोड बेचेर प्राप्त गरेको पैसालाई वैधानिक बनाउने सोचले उनले २०१८ को अन्त्यमा आईटी कम्पनी दर्ता गरे । ‘आम्दानीमात्र गरेर हुँदैन, सरकारलाई कर पनि तिर्नुपर्छ भन्ने लागेर मैले कम्पनी दर्ता गरेको थिएँ’, उनी भन्छन् ।

सन् २०१९ सम्म आइपुग्दा सोर्स कोडमार्फत महिनाको ८-९ सय डलरको आम्दनी गर्ने गरेको उनी बताउँछन् । माध्यमिक तहसम्मको अध्ययन गर्दै गर्दा उनको विद्यालय जीवन र व्यवसायिक जीवनको तारतम्य मिलाउन खासै समस्या देखिएन । एसईई परीक्षा पास गरेपछि अब कुन विषय छान्ने भन्ने प्रश्नको उत्तर खोज्न भने उनलाई अलिक गाह्रो पर्‍यो ।

उनी भन्छन्, ‘सबैको चाहना मैले साइन्स पढ्दिए हुन्थ्यो भन्ने थियो । तर, मैले साइन्स लिए भने कोडिङको लागि र पढाइको लागि आवश्यक समय छुट्टाउन सक्ने अवस्था थिएन । त्यसैले मैले प्लस २ म्यानेजमेन्टमा गरें । अहिले बीसीए पढ्दैछु ।’

कक्षा ११ मा पढ्दै गर्दा उनले आफ्नो प्रोडक्टलाई नेपाली बजारमा बेच्ने योजना बनाएका थिए । योजनाअनुरुप उनले आफ्नो कम्पनीलाई अगाडि बढाउने निधो गरे । हाल उनको कम्पनीमा १२ जना कर्मचारी छन् । आर्थिक उपार्जनको लागि उनीहरु देश विदेशका विभिन्न प्रोडक्टहरु बनाउँछन् । यद्यपि उनीहरुको मुख्य प्रोडक्ट भनेको ‘एन्टी भाइरस’ हो । उनी नेपालका आमनागरिकका साथै आफ्नो एन्टी भाइरस नेपालका सरकारी निकायमा पनि प्रयोग होस् भन्ने चाहन्छन् । यद्यपि नेपालका आममानिस तथा सरकारी निकाय दुबै ‘डाटा प्राइभेसी’को महत्व बुझ्न नसकेको उनको भनाइ छ ।

‘अहिले मानिसहरुको सबैभन्दा ठूलो धन नै ‘डाटा’हरु हो । तर, हाम्रो जस्तो देशमा धेरै मानिसले यो कुरा बुझ्न सकेका छैनन् । अमेरिका जस्तो देशमा फेसबुकको डाटा चुनाव जित्नका लागि दुरुपयोग गरेको घटना हामीसँग छ । भर्खरमात्र डाटा सेक्युरिटीलाई लिएर अमेरिकी सदनमा टिकटकका सीईओलाई र्‍याखर्‍याख्ती पारेको भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । विदेशमा नागरिकहरुले फ्री एप चलाउन खोज्दैनन् । यहाँ हामी पेड एपको पनि क्रायक भर्सन खोज्छौं’, उनी भन्छन्, ‘व्यक्तिगतस्तरमा मात्र हैन हाम्रा सरकारी निकायको अवस्था पनि भयावह छ । आईटी क्षेत्र त सबैभन्दा डामाडोल छ । हालैमात्र लोकसेवा आयोगको डाटा डिलिट भयो भन्ने समाचार आयो । नेपाल सरकारका विभिन्न साइटहरु ह्याक हुन्छन् । सर्भर डाउन भएर प्लेन उड्न सक्दैन ।’

यस्तो अवस्था किन हुन्छ त ? उनी भन्छन्, ‘नेपालमा लोकसेवादेखि आएको मानिसले डाटा सेन्टर हेरेको हुन्छ । उनीहरुसँग व्यवहारिक ज्ञानको कमी छ । अदक्ष जनशक्तिलाई त्यति ठूलो जिम्मेवारी दिएपछि दुर्घटना हुँदैन ? हामीसँग आफ्नै डाटा सेन्टर छ । त्यो अत्यन्तै राम्रो कुरा हो । तर, हामीसँग सम्बन्धित निकायमा दक्ष जनशक्ति छैन । त्यो विडम्बना हो ।’

नेपालमा दक्ष जनशक्ति हुँदाहुँदै पनि उनीहरुलाई सम्बन्धित निकायले प्रोत्साहन नगरेको अलीको गुनासो छ । केही समय अगाडि राहदानी विभागको साइटमा देखिएको समस्या नेपालकै जनशक्तिले ३ घण्टामा समाधान गर्न सक्ने भए तापनि तीन दिन लगाएर विदेशबाट जनशक्ति मगाइएको भन्दै उनले आक्रोश पोखे ।

‘त्यो समयमा मैले प्रधानमन्त्रीकै सचिवालयमा फोन गरेर हामी यो समस्या समाधान गर्न सक्छौं भन्दा उहाँहरुले बाहिरबाट मान्छे ल्याउने प्रोसेस अगाडि बढिसक्यो भन्ने उत्तर दिनुभयो’, अलीले भने ।

अलीका अनुसार हाल नेपालका सरकारी निकायहरुमा एन्टीभाइरस पनि विदेशी प्रयोग गरिन्छ । नेपाली सरकारी निकायहरुले प्रयोग गर्दै आएको एक एन्टीभाइरस ‘क्यास्परस्काई’ युरोपका विभिन्न देशमा प्रतिबन्धित छ । डाटाको चुवाहटको कारण उक्त एन्टीभाइरसमा धेरै देशले प्रतिबन्ध लगाएको उनको दाबी छ ।

प्रयोगमा रहिआएको एन्टीभाइरसभन्दा आफ्नै देशमा बनेको एन्टीभाइरस प्रयोग गरी दिनुहोस् भनेर उनी सिहंदरबार धाएकै दुई वर्ष भयो ।

‘मैले धेरै प्रयास गरेको हुँ । नेपालमै बनेको हाम्रो प्रोडक्ट प्रयोग गरी दिनुहोस् । सुरुमा यसको परीक्षण गर्नुहोस् भनेर पनि भनेको हो’, अलीले भने । उनका अनुसार विदेशीको ठाउँमा नेपाली एन्टीभाइरस धेरै कोणबाट फलदायी हुनसक्छ ।

‘सरकारी निकायले प्रयोग गर्दै आएको एन्टीभाइरसभन्दा नेपालमै उत्पादित एन्टीभाइरस अत्याधुनिक प्रविधिमा आधारित छ । यसको डाटाबेस र सर्भर नेपालमै भएको हुँदा ‘डाटा’ बढी सुरक्षित हुन्छ । त्यसबाहेक शुल्क पनि हाल प्रयोग भएको एन्टीभाइरसको तुलनामा ५० प्रतिशत कममा स्वदेशी एन्टीभाइरस प्रयोगमा ल्याउन सकिन्छ’, उनले भने, ‘हामीसँग तीन वटा एन्टीभाइरस हुन्छ । पहिलो भनेको ‘फुल’ सेक्युरेटी एन्टीभाइरस जसको हाल २ हजार ५ सय शुल्क छ । हामीले १ हजार २ सयमा उपलब्ध गराउन सक्छौं । दोस्रो, ‘इन्टरनल सेक्युरिटी’ । जसको हालको मूल्य १ हजार ५ सयको वरिपरि छ । हामी ७०० रुपैयाँमा उपलब्ध गराउन सक्छौं । अर्को ‘बेसिक’ एन्टीभाइरस । जसको ७०० देखि १ हजारसम्म बिकेको छ । हामी यो ५०० रुपैयाँमा उपलब्ध गराउन सक्छौं ।’

यही कुरा बुझाउन सरकारी निकाय धाएको दुई वर्ष हुँदामा पनि खाली हात भएको अलीको भनाइ छ । सरकारी निकायले आफूलाई कहिल्यै पनि हुँदैन नभनेको उनको अनुभव छ । ‘तर, हुन्छ पनि भनेको छैन । मैले दुई वर्षदेखि एउटै जवाफ पाउँदै आएको छु- हामी हेर्छौं’, अलीले थपे, ‘उहाँहरुले दुई वर्षदेखि के हेर्दै हुनुहुन्छ भन्ने चाहिँ मलाई थाहा छैन ।’

अलीका अनुसार उनले सञ्चार मन्त्रालयमा आफ्नो ‘प्रोडक्ट’को सफल परीक्षणसमेत गरिसकेको थियो । तैपनि मन्त्रालयबाट कुनै प्रतिक्रिया नपाएको उनको भनाइ छ ।

‘नेपालमा अवसर छैन भन्ने गरिन्छ । मेरा धेरै साथीहरु क्यानडा, अमेरिकालगायतका देशमा गइसके । मेरो उमेर धेरै भएको छैन । त्यसैले नेपालमै काम गर्न सकिन्छ कि भनेर हालसम्म प्रयास गरिरहेको छु’, उनले भने, ‘नेपालमा उद्यमशीलता निकै चुनौतीपूर्ण छ । मलाई सरकारसँग धेरै आशा थियो । केही हुन्छ भन्ने थियो । तर, अब मलाई मन्त्रालय फोन गर्न पनि मन छैन । त्यहाँ विदेशी कम्पनीको चलखेल छ । हामीलाई त्यही एक जनाले भन्नुभयो- तिमीहरु प्रयास नगर, तिमीहरुको काम यहाँ हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर