पशुपतिनाथको जलहरीमा प्रधानमन्त्रीको स्पष्टीकरण- यो विषयमा ओलीलाई जोड्न मिल्दैन (भिडिओ) – Nepal Press

पशुपतिनाथको जलहरीमा प्रधानमन्त्रीको स्पष्टीकरण- यो विषयमा ओलीलाई जोड्न मिल्दैन (भिडिओ)

पशुपतिनाथको जलहरीलगायतको क्षेत्राधिकार पशुपति विकास कोषको हो

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा दाहालले पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भन्दै यसमा सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नभएको प्रष्टीकरण दिए ।

प्रधानमन्त्रीले यो विषय अख्तियारमा छानबिन गरिरहेको उल्लेख गर्दै छानबिनमा सरकारले सघाउने बताए ।

शनिबार प्रतिनिधिसभा बैठक सूरू हुनेवित्तिकै एमाले सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए । प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गरे ।

‘पशुपतिनाथ मन्दिरको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन, अनुसन्धान भइसकेको छ । स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ’, प्रधानमन्त्रीले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ ।’

संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

दाहालको अभिव्यक्ति फिर्ता नभएसम्म संसद् चल्न नदिने भन्दै शुक्रवार एमालेले संसद् अवरोध गरेपछि आज ४ बजेका लागि बैठक बोलाइएको थियो।

शनिवार बिहान शीर्ष तीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले सदन सुचारु गर्ने सहमति भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *