बजारमा नक्कली वस्तु छ्यापछ्याप्ती- उद्योग विभागमा उजुरीको चाङ, कारबाही नगण्य – Nepal Press

बजारमा नक्कली वस्तु छ्यापछ्याप्ती- उद्योग विभागमा उजुरीको चाङ, कारबाही नगण्य

उस्तै नाम राखेर बहुराष्ट्रिय कम्पनीकै उत्पादन

काठमाडौं । बजारमा नक्कली वस्तुको उत्पादन छ्यापछ्याप्ती देखिन थालेको छ । तर, कारबाही फितलो भन्दा बहुराष्ट्रिय कम्पनीका ब्रान्डसँग मिल्दोजुल्दो वस्तुको पनि बिगबिगी छ ।

ग्राहकलाई झुक्याउने गरी एउटै उच्चारणको नाम र लोगो भएको वस्तु खुलेआम बिक्रीवितरण हुन थालेपछि उद्योग विभागमा पेय पदार्थ, खाद्य वस्तु, इलेक्ट्रिकल वस्तु र लुगाको नक्कली उत्पादन गरेको भन्दै उजुरीको चाङ छ । बहुराष्ट्रिय साथै नेपाली कम्पनीहरूले उजुरी गरेका हुन् ।

उद्योग विभागका सूचना अधिकारी रमिला भण्डारीले नक्कली वस्तु उत्पादन गर्ने उद्योग र ट्रेडमार्क, डिजाइन र प्याटेन्ट चोरीविरुद्धको विरुद्धमा उजुरी आउने गरेको बताउँछिन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘नक्कली उत्पादन र नक्कली ट्रेडमार्कका उजुरीहरू आएका छन् । हालसम्म ट्रेडमार्कको ११ सय उजुरी आएका थिए । त्यसमध्ये ९० वटाको कानूनी प्रक्रिया सकिएको छ । उद्योग विभागको निर्णय अमान्य भए ती ९० वटा उजुरी पनि अदालत जान सक्ने छन् । भने, बाँकी रहेको १ हजार १० वटाको पनि अरु पनि प्रक्रियामा रहेको छ ।’

केही समयअघि अड्डै राखेर विदेशी मदिराहरूको समेत नक्कली उत्पादन भएको भेटिएको थियो । प्रहरीले विशेष अप्रेसन चलाएर नक्कली मदिरा उत्पादनको कारखानादेखि यसमा संलग्न गिरोहलाई पक्राउ गरिसकेको छ ।

बजारमा के-के देखिएका छन् नक्कली वस्तु ?

नाम उस्तै भएका वस्तुहरू बजारमा छन् । माउन्टेन ड्युजस्तै मेन्टेन ड्यु, कोकाकोलाजस्तै पलपलकोला, स्प्राइटजस्तै स्ट्राइकजस्ता नक्कली वस्तु छन् । नक्कली उत्पादनले गर्दा ग्राहक, बहुराष्ट्रिय कम्पनी र नाम चलेका स्वदेशी कम्पनीहरूलाई पनि अप्ठ्यारो परेको उजुरी विभागमा परेको छ ।

१ वर्षमा नै सिंगापुर बेभरेज नेपाल प्रालि, साम्भवी फुड एण्ड बेभेरेजेज प्रालि र मनकामना फुड एण्ड वेभेरेज प्रालि लगायातका विरुद्ध कोकाकोला कम्पनीले उजुरी दर्ता गराएका छन् । भने, पेप्सीले पनि साम्भवी फुड डीजे चिप्स इन्डस्ट्रिजलगायतविरुद्ध ट्रेडमार्क नक्कल गरेको भन्दै कारबाहीको माग गरेको छ ।

नक्कली वस्तु उत्पादन र ट्रेडमार्क चोरीको कारबाही उद्योग विभागले गर्छ । विभागको निर्णयउपर चित्त नबुझे अदालत जानसक्ने बाटो पनि खुलै रहन्छ ।

पेटेन्ट र ट्रेडमार्क ऐन, २०२२ को दफा १९ अनुसार गैरकानूनी तवरले ट्रेडमार्क प्रयोग गरेमा १ लाख रूपैयाँसम्म जरिवाना हुन सक्नेछ । उत्पादन भएको नक्कली मालसामान जफत हुने व्यवस्था छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराई उद्योग दर्ता र ट्रेडमार्क दर्ताको काम उद्योग विभागबाट हुने बताउँछन् ।

उनले भने, ‘वाणिज्य विभागले पनि नक्कली वस्तु उत्पादन भएको हो कि होइन भनेर हेर्छ । उत्पादनको अनुमति र ट्रेडमार्क उद्योग विभागले दिने भएकाले नै नक्कली वस्तुको उत्पादनको विषय उद्योग विभागबाट नै धेरै काम हुन्छ । अहिलेसम्म नक्कली पेय पदार्थ बजारमा भेटियो भनेर उत्पादनको र उपभोक्ता विभागमा आएका छैनन् । विभागमा कुनै उजुरी परेको छैन ।’

पेप्सीले भने विभागमा मुद्दा विचाराधीन रहेकाले प्रतिक्रिया दिन नमिल्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर