कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान (भिडिओ)
काठमाडौं । नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्पगुच्छासहित सम्मान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए ।
मान्छे साहस, संकल्प ग¥यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमा नै पेश गरेकाले पार्टीले उनलाई सम्मान गरेको पनि स्पष्ट पारे ।
अध्यक्ष ओलीले उनको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे । उनको सो असाधारण काममा सघाउ पुर्याउने र प्रेरणा दिनेहरुप्रति पनि ओलीले आभार व्यक्त गरे ।
‘वास्तवमा हरि बुढामगरजीको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस गयो भने, मानिसले संकल्प गयो भने असम्भव देखिएका चिजहरु पनि सम्भव हुन्छ । अपांगता, साधारणतया यस्तो शारिरीक अपांगता भनेको हिँडनै नसक्ने, वरपर चल्नै नसक्ने भन्ने बुझिन्छ’, उनले भने, ‘तर उहाँ सगरमाथा चढेर आउनु भयो । भिरैभिर, चट्टाने भिर, हिउको भिर बाटो छैन । सगरमाथा जानेहरु भन्छन । कहिलेकहिले त्यहाँ यस्तरी लेक लाग्छ कि अनौठो हुन्छ । नआएको आवाज सुनिन्छ । कोही त्यहाँ गीत गाउने हुँदैन । तर गीत गाएको सुनिन्छ कहिलेकहिले । कहिलेकहिले त्यहाँ बस्ती हुँदैन । तर देखिन्छ आफूले । अनि, गाईडलाई सोध्यो भने गाईड हाँस्छ । किनभने त्यहाँ त्यस्तो केही पनि छैन । सामान्य अवस्थामा पनि त्यस प्रकारका कुराहरु हुन्छन । नभएको आवाज सुनिने । नभएको दृष्य देखिनेजस्ता कुराहरु हुन्छन भने उहाँ यस्तो स्थितिमा पनि सगरमाथा चढेर आउनु भएको छ ।’
संसारको सबभन्दा अग्लो शिखर सगरमाथा चढेर आएका मगरलाई सगरमाथाको शिखरमाथि शारिरीक अपांगता, त्यही पनि घुडामाथिबाटै खुट्टा विच्छेद भएको मानिसहरुको उचाई थपेको ओलीले बताए ।
‘यो सबैका लागि प्रेरणाको स्रोत बन्नु भएको छ । यसका निम्ति म उहाँलाई हार्दिक बधाई भन्न चाहन्छु । यो सफलता हामी सबैको सफलता हो । नेपालीहरुकै सफलता हो । र, यो विश्वकै एउटा साहसको सफलता हो । संकल्पको सफलता हो । केही गर्छु भन्ने अठोटको सफलता हो । बधाई भन्न चाहन्छु । यो असाधारण काम हो’, उनले भने, ‘असाधारण व्यक्तिबाट भएकै हुनाले हामीले उहाँलाई यो सम्मानको कार्यक्रम आयोजना गरेको हौं । यस सम्मान कार्यक्रमको सन्दर्भमा म उहाँलाई यसमा हौसला दिने, प्रेरणा दिने, साहस दिने, यो गर्न सकिन्छ भनेर उत्साहित गर्ने, उहाँलाई पर्वतारोहणमा प्रशिक्षण, तालिम जस्ता कुराहरु उपलब्ध गराउने र उहाँलाई साथ दिने यी सबै महानुभावहरुलाई म धन्यवाद भन्न चाहन्छु । सबैको वास्तवमा यसमा योगदान छ । जसबाट उहाँले सफलता प्राप्त गर्नु भएको छ । यी सबैलाई पनि म धन्यवाद भन्न चाहन्छु ।’
कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपांगता भएका व्यक्तिहरुमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोण गरेको बताए । त्यस अवसरमा उनले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि साथ र अवसर दिन आग्रह गरे ।
बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उचो राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताए । ‘मैले यो थ्रू एउटा कुरा मात्रै भन्न चाहन्छु जति पनि तपाईहरुको परिवारमा, कम्युनिटिजमा र तपाईहरुको छरछिमेकमा जे जति अपांगता भएका व्यक्तिहरु हुनुहुन्छ’, उनले भने, ‘उहाँहरुलाई सर्पोट र अपरच्यूनिटी दिनुहोला । म त्यो भन्न चाहन्छु । हामीलाई दया र माया भन्दा पनि अपरच्यूनिटी दिन आग्रह गर्न चाहन्छु । मेरो यो कामले नेपाल र नेपालीको शीर सगरमाथा भन्दा उचो राख्न सहयोग गयो होला भन्ने आशा राखेको छु ।’
ब्रिटिस गोर्खा सेनामा कार्यरहँदा रहँदा बुढामगरले दुवै खुट्टा गुमाएका थिए ।