वडाध्यक्षलाई कारबाहीको माग गर्दै धनुषा प्रहरी कार्यालयअगाडि प्रदर्शन
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २४ बसहियाका बासिन्दाले वडाध्यक्ष उपेन्द्र सहनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि प्रदर्शन गरेका छन् ।
सहनीले एउटामात्र समुदायलाई लक्षित गर्दै गुण्डागर्दी शैलीमा जग्गा कब्जा गर्न उत्रिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । वडाध्यक्ष सहनीलाई कारबाही गर, सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन, सामाजिक सद्भाव बिगार्ने वडाध्यक्षलाई वहिष्कार गरौं लेखिएको प्लेकार्ड बोकेका थिए ।
वडाध्यक्ष सहनीले धर्मशाला बनाउन खोज्दा शुक्रबार स्थानीयले विरोध जनाए । सोही क्रममा वडाध्यक्षनिकटका व्यक्तिको कुटपिटबाट ९ जना घाइते भएका थिए । एकजना घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।
घाइतेका आफन्तले कुटपिटमा संलग्न वडाध्यक्षसहितका व्यक्तिमाथि कारबाहीको माग गर्दा प्रहरीले उजुरी लिन नमानेको गुनासो गरेका छन् ।
प्रदर्शनमा सहभागी सियाराम साह कलवारले वडाध्यक्ष सहनीले निश्चित समुदायलाई च्यापेर आतंक मच्चाएको आरोप लगाए ।
उनले भने, ‘सार्वजनिक जग्गा कब्जा गर्दा विरोध गर्न नपाइने ? विरोध गरेकै निहुंमा कुटपिट गर्नेहरूलाई प्रहरीले अविलम्ब कारबाही गरोस् ।’