बागमतीका पाँचवटा प्रहरी चाैकी भवन बनाउन प्रदेश सरकारले सवा ६ करोड दिने – Nepal Press

बागमतीका पाँचवटा प्रहरी चाैकी भवन बनाउन प्रदेश सरकारले सवा ६ करोड दिने

हेटौँडा । संघीय सरकार मातहतको प्रहरी भवन निर्माणको लागि बागमती प्रदेश सरकारले ६ करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ५ वटा प्रहरी चौकी भवनका लागि ६ करोड १५ लाख ५६ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले चितवन जिल्लाको सौराहास्थित प्रहरी चौकी निर्माणका लागि ९७ लाख ३३ हजार, जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला व्यारेक भवन निर्माणका लागि ८४ लाख २२ हजार, सिन्धुली जिल्लाको प्रहरी चौकी खाङसाङको भवन निर्माणका लागि १ करोड ३ लाख ३९ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

यस्तै, जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन निर्माणका लागि १ करोड ३२ लाख ६१ हजार रुपैयाँ र मकवानपुरगढीस्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि १ करोड ९८ लाख १ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप सशर्त अनुदान दिने निर्णयसमेत गरेको छ । बैठकले नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र १ करोड १० लाख रुपैयाँ र मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख दिने निर्णय गरेको हो ।

बैठकले प्रदेशका १० पालिकालाई १० लाख रुपैयाँका दरले स्थानीय विपद् कोषमा रुपैयाँ जम्म गर्ने निर्णय गरेको छ । दोलखाको गौरीशंकर गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, र चितवनको इच्छाकामना गाउँपालिकाको स्थानीय विपद्कोषमा १० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले सिन्धुली अस्पतालमा यही जेठ ९ र १० गते हुनगएको भौतिक क्षतिको कारण इमर्जेन्सीबाहेक अन्य सेवा सञ्चालन गर्न अप्ठ्यारो परिरहेकाले अन्य सेवा सुचारु गर्न क्षति भएको भौतिक पूर्वाधार निर्माणका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *