सिन्धुपाल्चोकको २१ किलो-लिसंखु-वाफाल सडक ट्रयाक खनेको ४१ वर्षपछि कालोपत्रे – Nepal Press

सिन्धुपाल्चोकको २१ किलो-लिसंखु-वाफाल सडक ट्रयाक खनेको ४१ वर्षपछि कालोपत्रे

सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिकाको ‘लाइफ लाइन’ को रुपमा रहेको २१ किलो-अत्तरपुर-वाफल सडक निर्माण गरिएको झण्डै ४१ वर्षपछि कालापत्रे सुरु भएको छ । २०३९/४० सालदेखि २१ किलोदेखि ठोकर्पा श्रमथली सडक नाम राखेर उक्त सडक निर्माण सुरु गरिएको थियो ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार निर्देशानलय, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले पहिलो चरणमा ४ दशमलब २ किलोमिटर सडक अबको केही दिनभित्रै कालोपत्रे सक्नेछ ।

२०७७ सालमै ठेक्का लागेर २०७८ असारभित्र सडक कालोपत्रे सम्पन्न गर्नुपर्ने भए पनि कोरोनालगायतका कारणले उक्त सडक कालोपत्रे सम्पन्न हुन समय लागेको थियो ।

बागमती प्रदेश सरकारको ९ करोड १९ लाख ९ हजार रुपैयाँमा ठेक्का स्वीकृत भएर सडक फराकिलो बनाएर कालोपत्रे सम्पन्न हुन लागेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।

यो सडक कालोपत्रेसहित स्तरोन्नति भएपछि लिसंखु पाखर, सुनकोशी गाउँपालिकाको १ र २ वडा, काभ्रे र दोलखाका केही स्थानीय तहका स्थानीयलाई आवतजावतमा सजिलो हुने लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिए । यो सडक सम्पन्न भएपछि दोलखा पुग्न पनि निकै छोटो हुने उनले बताए ।

आलु उत्पादनमा चर्चित लिसंखु पाखरमा यो सडक कालोपत्रे र स्तरोन्नति भएपछि उत्पादन बजार लैजान सहज हुने अध्यक्ष लामाले बताए ।

‘अहिले गाउँपालिकाको कार्यालयभन्दा केही अगाडिसम्म कालोपत्रे सम्पन्न हुँदैछ । आगामी वर्ष वाफलसम्म पुग्ने सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न प्रदेश र संघ सरकारसँग अनुरोध गरेका छौं’, उनले भने, ‘यो लिसंखु पाखरको मात्रै होइन लामोसाँघु जिरी सडकको बैकल्पिक सडकसमेत हो ।’

लिसंखु पाखरको २१ किलोदेखि सुनकोशी गाउँपालिकाको सुकुटेसम्म ३७ किलोमिटर सडक कालापत्रे हुने गरी संघीय सरकारसँग समन्वय गरेर वैकल्पिक राजमार्गको रुपमा विकास गर्ने गरेर आफूहरुको कार्यकालमा सडक स्तरोन्नति सुरु गरिएको लिसंखु पाखर गाउँपालिकाका पूर्वअध्यक्ष कमल नेपालले जानकारी दिए । आफूहरुको कार्यकालमा सडक कालोपत्रे सम्पन्न नहुँदा धेरै आलोचना खेप्नुपरे पनि अहिले निर्माण सम्पन्न हुन लागेकोमा खुशी लागेको उनले बताए ।

सुनकोशी गाउँपालिकाको सुकुटेदेखि ठोकर्पाको १२ किलो मिटर भने यसै वर्ष कालोपत्रे हुँदैछ । १२ किलोदेखि ठोकर्पाको भञ्ज्याङसम्म सुनकोशी गाउँपालिकाले सडक स्तरोन्नति गरिरहेको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

आगामी आर्थिक वर्षमा समेत यो सडक स्तरोन्नतिका लागि प्राथमिकतामा राखेको पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्रमुख श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *