संघीय बजेटमा लुम्बिनी: अधिकांश पुराना योजनाको निरन्तरता
रुपन्देही । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना महत्वपूर्ण परियोजनाले निरन्तरता पाएका छन् । केही योजना काटेर नयाँ योजना पनि बजेटमा समेटिएको छ ।
यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि बजेट राखेर निरन्तरता दिइएको छ ।
यस्ता छन् बजेटमा लुम्बिनीका महत्वपूर्ण योजना
- ४३ वर्षदेखिको लुम्बिनी गुरुयोजनाको बाँकी काम सञ्चालनको निरन्तरता ।
- बुद्ध सर्किटको यसअधिको योजनालाई अगाडि बढाइने ।
- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनको पहल, विमानस्थलबाट उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याडलिङ शुल्क छुट ।
- बौद्धमार्गीलाई प्रत्यक्ष रूपमा लुम्बिनीसँग जोड्न थाइल्याण्ड, श्रीलंका, चीन, भारतलगायतका मुलुकमा सीधा हवाई उडानको व्यवस्था गर्ने ।
- भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालन गरिने ।
- मोतीपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि अगाडि बढाइने ।
- गुल्मीको रेसुंगा, दाङको दंगीशरणलाई पर्यटन गन्तव्य क्षेत्र बनाइने ।
- लुम्बिनीमा हिल स्टेशन बनाइने ।
- रुपन्देहीको बुटवल कर्साघाटमा बृहत कृषि परियोजना सञ्चालन गरिने ।
- स्थानीय तहमा रहेका औद्योगिक ग्राम छिट्टै पूरा गरिने र तयार भएका हस्तान्तरण गरिने ।
- सिमेन्ट तथा ठूला उद्योग जाने बाटो निर्माण गरिने ।
- बुटवल-नारायणगढ खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट विनियोजन ।
- नवलपरासीको धौवादी उद्योग थप अनुसन्धान प्रक्रिया अघि बढाइने ।
- अर्घाखाँचीको चुनढुंगा खानी उत्खनन अगाडि बढाइने ।
- नेपालगञ्जको एकीकृत जाँच चौकी सञ्चालन र भैरहवाको छिट्टै निर्माण गरिने ।
- बुटवलमा मेडिकल कलेज सञ्चालन प्रक्रिया अगाडि बढाउने ।
- राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान विस्तारका लागि रकम विनियोजन ।
- सालझण्डी र बर्दघाटमा ट्रमा सेन्टर बनाउने योजना ।
- नेपालगञ्ज, लुम्बिनीमा एकीकृत ढल व्यवस्थापन योजना सञ्चालन गरिने ।
- नेपालगञ्जको प्रदेश रंगशाला निर्माणलाई अगाडि बढाइने ।
- तिनाउ नदीको सिग्नेचर पुल निर्माण अघि बढाइने ।
- बाँकेको नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन गरिने ।
- हुलाकी मार्गमा रहेका बाँकी जिल्लामा काम अघि बढाइने ।
- गुल्मी र रोल्पामा पर्ने मदन भण्डारी मार्ग निर्माणलाई अगाडि बढाइने ।
- कालीगण्डकी करिडोरलाई थप स्तरोन्नति गरिने ।
- राप्ती राजमार्ग स्तरोन्नति गरिने ।
- कोहलपुर-बुटवल सडक, बुटवल-पोखरा सडक स्तरोन्नति गरिने ।
- बुटवल-बेलहिया सडक बाँकी काम पूरा गरिने ।
- सिद्धबाबा सुरुङ मार्गलाई आवश्यक बजेट विनियोजन ।
- लुम्बिनी करिडोरमा एकीकृत विकास योजना ।
- नेपालगञ्जमा सभाहल निर्माण अगाडि बढाइने ।
- देउखुरीस्थित प्रदेश राजधानी पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन ।
- सिंचाइमा लगानी, खेतबारीमा पानीअन्तर्गत सिक्टा सिंचाइ आयोजना ५३ किलोमिटर पूरा गरिने ।
- रानीजमरा-गुलरिया आयोजनालाई अगाडि बढाइने ।
- बबई सिंचाइ आयोजनालाई अगाडि बढाइने ।
- भेरी-बबई डाइभर्सन आयोजनालाई थप व्यवस्थापन गर्न बजेट विनियोजन ।
- दाङको प्रगन्ना र बड्का सिंचाइ आयोजनालाई निरन्तरता ।
- राप्ती, बबईलगायतका जोखिम क्षेत्रमा नदी नियन्त्रण कार्यक्रम ।्
- बुटवल-कोहलपुर प्रशारण लाइन अगाडि बढाइने ।
माथिका अधिकांश आयोजना यसअघिकै निरन्तरता हुन् भने केही आयोजनाको मूल बजेटमा नाम छुटेको छ । गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको निर्माणका लागि बजेटमा विनियोजन गरिएको छैन । सिद्धार्थ क्रिकेट मैदानलाई यसअघि नियमित बजेट आए पनि अहिले समावेश छैन ।
त्यसैगरी अन्य पथान्तर आयोजनाको नाम समेटिए पनि कालीगण्डकी तिनाउ डाइभर्सनको योजना समावेश छैन ।