भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गर्छाैं: मन्त्री साउद (भिडिओ) – Nepal Press

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गर्छाैं: मन्त्री साउद (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गरेका छन् ।प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ । उनले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताए ।

उनले भ्रमणका क्रममा ब्यापार तथा पारवहन, हवाइ तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकाश, आर्थिक सहयोग लगायतका मुद्दाहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।

उनले भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्नेकुरालाई मुख्य जोड दिइने बताए । उनले भारतीय भूमी प्रयोग गरी बंगलादेशमा उर्जा व्यापार गर्नेकुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको बताए ।

मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गरे । उनले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेण्डाहरुको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताए । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रश्ताव राख्ने उनको भनाइ छ ।

उनले भने, ‘कमिटमेण्ट आउने, कार्यान्वयनको पक्ष कमजोर हुने पक्ष कुनै न कुनै रुपमा दुवै पक्षबाट यस्तो भइरहेको छ भन्ने अनुभव छ । हामी छलफलको सन्दर्भमा, उच्चस्तरीय छलफलको सन्दर्भमा कुनै सहमतिमा पुगेपछि त्यसको कार्यान्वयनलाई पनि हामीले सुनिश्चित गरेर लैजानुपर्छ । जुन एजेण्डा हामी अगाडि बढाउँदै छौँ, ती एजेण्डाको कार्यान्वयन हुनेछ । विशेष गरी पञ्चेश्वरदेखि केही महत्वपूर्ण परियोजनाका सन्दर्भमा यसको निर्माणको प्रक्रियामा ढिलाइ भयो भन्नेकुरा छ। एयर ट्रान्जिटको कुरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान सेवाका इस्युहरु भारतसँग छन्, ती कुरामा पनि छलफल गरेर हामी टुंगोमा पुग्ने प्रयत्नमा छौँ ।’

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने बताए ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जाने भएको छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर