बेरोजगार हुनुहुन्छ ? काठमाडौंमा आजदेखि सुरू भयो रोजगार मेला (भिडिओ)
काठमाडौं । काठमाडौंमा आजदेखि रोजगार मेला सुरू भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा टेकुस्थित महासंघको कार्यालयमा दुई दिनसम्म मेला चल्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला आयोजना गरिएको हो । उद्घाटन समारोहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारको खोजीमा रहेकाबीच पुलको काम गर्ने बताए ।
यसअघि वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न गरेको र राम्रो प्रतिक्रिया पाएको भन्दै ढकालले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउनु सहयोग पुर्याउने बताए ।
मेलामा आएकी प्रतीज्ञा घिमिरेले रोजगार मेलाले पछिल्लो समय बढ्दै गएको बरोजगारीको समस्या थोरै भएपनि कम हुने आशा जनाइन् । रोजगारी नपाएर विदेश जाने युवा बढेको भन्दै मेलामा आएर कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने अनुभव उनले सुनाएकी छन् ।
त्यस्तै, हिरामाया श्रेष्ठले अनलाइनहरूमा फेक रोजगारी प्रचार हुने प्रत्यक्ष रूपमा बुझ्न मेला आएको बताइन् । किसानदेखि भान्सासम्म सब्जी ल्याण्डमा रोजगारी पाएको उनले बताइन् ।
मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य छ । कामको खोजीमा रहेकालाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला सुरू भएको हो ।
रोजगार मेलामा १०० भन्दा बढी रोजगारदाता कम्पनीको सहभागिता छ । महासंघले मेलामा कामको खोजीमा रहेका ५ हजारभन्दा बढी युवालाई अवलोकन गराउने लक्ष्य राखेको छ ।
अवलोकनकर्तालाई रोजगारी, सीप एवं जनशक्ति विकासलगायतका विषयमा विभिन्न परामर्श शेसनसमेत हुनेछ ।