बजेटलाई पूँजी बजारको रातो बत्ती- तीन बुँदाको अन्योलमा परेका लगानीकर्तालाई यस्तो छ सरकारको जवाफ – Nepal Press

बजेटलाई पूँजी बजारको रातो बत्ती- तीन बुँदाको अन्योलमा परेका लगानीकर्तालाई यस्तो छ सरकारको जवाफ

पहिले नै मर्ज भइसकेका कम्पनीहरुले एफपीओ जारी गर्दा प्राप्त रकमको पनि कर तिर्नुपर्ने

काठमाडौं । आर्थिक वर्ष (२०८०/८१) को बजेटले पूँजी बजारका ५० लाख बढी लगानीकर्तालाई नै झुक्याएको छ । आर्थिक विधेयक २०८० को दफा २६, २७ र २९ को बुँदाले लगानीकर्ताहरु अन्योलमा परेका छन् ।

यी बुँदाले लाग्दै नलाग्ने करमा पनि अतिरिक्त भार थप्न खोजेको आरोप लगानीकर्ताको छ । आर्थिक विधेयकको बुँदा २६ मा एफपीओ (फर्दर पब्लिक अफरिङ) प्रिमियम मूल्यमा जारी गर्दा प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस शेयरको रुपमा वितरण गरेको रकमलाई आय मानी उक्त रकममा लाग्ने कर मंसिरसम्म तिरे शुल्क ब्याज मिनाहा हुनेछ भनिएको छ ।

यस्तै विधेयककै दफा २७ ले मर्जर र एक्विजिसनमा गएका कम्पनीलाई दिएको कर छुट अहिले लिन खोजेको लगानीकर्ताहरुले बताएका छन् । यसबाट लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाउने दाबी उनीहरुको छ ।

के भन्छन् विज्ञ ?

यता दफा २९ ले प्राकृतिक व्यक्तिबाहेकले तिर्दै आएको कर अब प्राकृतिक व्यक्तिले नै तिर्नुपर्ने हो कि भन्ने अन्योल देखिएको लगानीकर्ताहरुले बताएका छन् । ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष भरत रानाभाट यसले पहिले छुट दिएको रकम अहिले सरकारले लिन खोजेको बताउँछन् । यसको सीधा असर लगानीकर्तामा पर्ने उनको बुझाइ छ ।

अब प्राकृतिक व्यक्तिले पनि सोबाहेककाले तिर्दै आएको कर बराबर नै आव २०७६/२०७७ देखिकै कर दाखिला गर्न आगामी चैत मसान्तसम्म समय दिएको जस्तो देखिने पूर्वअध्यक्ष रानाभाटले बताए ।

उनी भन्छन्, ‘प्राकृतिक व्यक्तिभन्दा बाहेककाले ट्याक्स फाइल गरेर अडिट रिपोर्ट पेश गर्नुपर्ने र त्यो नै अन्तिम कर हुने व्यवस्था थियो । तर, अब प्राकृतिक व्यक्तिको पनि त्यही प्रक्रिया अपनाउन कर छुटको नाम दिएर अतिरिक्त चार्ज लिन खोजेको छ ।’

अल्पकालीन लगानीकर्ताले साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिरिरहेका थिए । तर, त्यसका अतिरिक्त अरु पनि चार्ज लगाउन खोजेको रानाभाटले बताए ।

तर, शेयर बजार विश्लेषक डा. केशव श्रेष्ठ भने कुनै पनि प्राकृतिक व्यक्तिले शेयरसँगै अन्य आम्दानी (घरभाडा, बिजनेश वा जागिर) पनि गरेको छ तर, करको दायरामा आएकौ छैन भने सो व्यक्तिले कमाएको रकमलाई ह्वाइट बनाउन यसले समय दिएको बताउँछन् ।

उनी भन्छन, ‘शेयर मात्रबाट आम्दानी गर्नेले पूँजीगत लाभकर तिरेपछि उसले कर चुक्ताको प्रमाणपत्र पाउन सक्छ । तर, अन्य आम्दानी पनि सँगै गरेको छ भने मैले यो योबाट वार्षिक यति आम्दानी गर्छु भनेर स्वघोषणा गरेर मंसिर मसान्तसम्म सो रकमको ५० प्रतिशतमात्र तिरे पनि पेनाल्टी नलाग्ने भनिएको हो ।’

बजेटले शेयर बजारबारे कुनै पनि नयाँ कुरा नबोलेको उनको बुझाइ छ ।

लगानीकर्ता निराश

आगामी बजेटमार्फत पूँजीगत लाभकर घटाउन लबिङ गरिरहेका लगानीकर्ता अन्ततः निराश भएका छन् । लगानीकर्तासँग आबद्ध संघसंस्थाले प्रधानमन्त्रीदेखि अर्थमन्त्री डा. प्रकाशशरण महत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कर घटाउन लबिङ गरेका थिए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बजेटले शेयर बजारको विषयमा खासै नबोलेको बताए । लगानीकर्ताको ठूलो अपेक्षामाथि बजेट मौन रहेको उनको भनाइ छ ।

बजेटको बुँदा नम्बर ४१७ र ४१८ मा पूँजी बजारसम्बन्धी विषय समेटिएको छ । यसमा संस्थागत लगानीकर्तालाई प्रोत्साहन गरिने, एनआरएनलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गरिने व्यवस्था गरिएको छ ।

यता धितोपत्र बजारसम्बन्धी कानूनी व्यवस्था समयानुकूल संशोधन गरिने र कमोडिटिज एक्सचेन्ज मार्केट र एमएमई प्लेटफर्म सञ्चालनमा ल्याइने विषय बजेटले बोलेको छ । यो विषय प्रक्रियामा गइसकेको विषय हो । चालू वर्षमा नसकिने भएर आगामी आर्थिक वर्षमा सक्ने गरी बजेटले व्यवस्था गरेको विज्ञहरुको बुझाइ छ ।

के भन्छ सरकार ?

आन्तरिक राजस्वको जिम्मा पाएको आन्तरिक राजस्व विभागले सरकारले गरेका यी व्यवस्थाले लगानीकर्ताकै हित हुने दाबी गरेको छ । बुँदा २६ को व्यवस्थामा पहिलेदेखि लाग्ने करको दायरामा करदाता नआएकाले समय दिएर दायरामा आउन भनिएको महानिर्देशक दीर्घराज मैनाली बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेको आर्थिक विधेयकको दफा २६ को व्यवस्था आयकर ऐनको दफा ५६ मा थियो । १०० रुपैयाँको शेयर किनेर ५०० मा बेच्ने र बाँकी ४०० रुपैयाँको हिसाबकिताब नदेखाउने भएकाले यो व्यवस्था गरिएको हो ।’

यता दफा २७ को व्यवस्थामा नेपाल राष्ट्र बैंकले नै लिखित रुपमा पहिले नै कर लाग्ने व्यवस्था गरेको थियो । बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान अरु कुरामा सहुलियत दिएर प्रोत्साहन गरिएको थियो । तर, मर्ज गर्दा प्राप्त लाभवापतको रकमलाई आयमा समावेश गरी कर दाखिला गर्न पाउने व्यवस्था थियो ।

अर्को दफा २९ मा भने घाटा खाइरहेका लगानीकर्ताको राहतका लागि यो व्यवस्था गरिएको मैनाली बताउँछन् ।

उनी भन्छन्, ‘अहिले शेयरमा लगानीकर्ताले घाटा खाइरहेका छन् । तैपनि साढे ७ प्रतिशत तिरिरहेका छन् । ५० लाख घाटा खाएर बेचेको शेयरको २० लाख कर पनि तिरेका छन् । अब त्यस्तो नोक्सान आगामी वर्षको लागि सार्नसक्ने गरी यो बुँदाले व्यवस्था गरेको हो । यसले लस क्लेम गर्न पाउने र टीडीएस पनि फिर्ता लिन पाउने गरी कार्यविधि बनाउँदैछौं ।’

यस्तो छ विधेयकका तीन दफा

बुँदा २६ : फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहासम्बन्धी विशेष व्यवस्था :

कुनै निकायले एफपीओबाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस शेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिला नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

बुँदा २७ : मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहासम्बन्धी विशेष व्यवस्था :

निकायहरु आपसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिला नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

बुँदा २९ : ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्थाअन्तर्गत प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको पचास प्रतिशत रकम २०८० साल चैत मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा व्याज मिनाहा हुनेछ । यसरी कर दाखिला गर्ने प्राकृतिक व्यक्तिको सोभन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’

शेयर बजारमा करिब ५० अंकको गिरावट

सोमबार अर्थमन्त्रीले बजेट ल्याएपछि मंगलबार भएको पहिलो कारोबार नै निराशाजनक देखिएको छ । शेयर कारोबार भएको साढे २ घण्टामा करिब ५० अंकले बजार घटिसकेको छ । यो समाचार तयार पार्दासम्म शेयर बजार ५०.४२ अंकले घटेको छ ।

लामो समयदेखि घटिरहेको बजारले मंगलबार पनि ओरालो यात्रा गरिरहेको छ । यद्यपि कारोबार रकम भने १ अर्ब ४० करोड माथि छ । कारोबार सुरु हुनुअघि (प्रि-ओपन सेसनमा) १९४४ विन्दूसम्म पुगेको बजार लगातार घटेर अहिले १८९२ विन्दुमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर