किसान महासंघ लुम्बिनीको अध्यक्षतामा गिरी
रुपन्देही । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट महेन्द्र गिरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । दाङमा आयोजित अधिवेशनबाट यसअघि प्रदेश सचिव रहेका रुपन्देहीका गिरीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।
उपाध्यक्षमा जीवन शाही (बर्दिया) र उषा डाँगी (दाङ), सचिवमा मुक्ति पोखरेल (प्यूठान) र कोषाध्यक्षमा प्रेम बुढाथोकीलगायत रहेको ७५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको नवनिर्वाचित अध्यक्ष गिरीले बताए ।
नयाँ नेतृत्व चयनसँगै ३९ सूत्रीय दाङ घोषणापत्रसमेत जारी गरिएको छ । जारी घोषणापत्र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत बुझाएको थियो ।
आगामी वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा किसानका मागलाई सम्बोधन गर्नुपर्ने भन्दै नवनिर्वाचित अध्यक्ष गिरी नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।