वस्तु आयात तथा निर्यात गर्न भन्सार एजेन्ट नै चाहिने
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरू हटाएको छ । नेपाल सरकारद्वारा भन्सार एजेन्टले नियुक्त गरेका प्रतिनिधि खारेज गरेको हो ।
भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजत पत्र सम्बन्धी व्यवस्थाको उपदफा १ मा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ’ भन्ने व्यवस्थालाई व्यवस्था थियो ।
संशोधन गरी सो को सट्टा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ’ भन्ने व्यवस्था गरेको छ ।
भन्सार प्रतिनिधिहरुले भन्सारमा काम गर्न पाउने छैनन् । भने, भन्सार एजेन्टले प्रतिनिधि तोक्न पनि पाउने छैनन् । यसभन्दा अघि भन्सार एजेन्टले नै भन्सार प्रतिनिधि तोक्न पाउने व्यवस्था थियो । एकजना भन्सार एजेन्टले २ जना प्रतिनिधि तोक्न पाउने व्यवस्था थियो । अब त्यो हटेको छ ।
अहिले करिब ३ हजारभन्दा धेरैले भन्सार प्रतिनिधिको रूपमा बस्तु आयात निर्यातमा काम गरिरहेका थिए ।
सो उपदफा १ को आधारमा भन्सार नियमावली २०६४ को नियम ३७ मा भन्सार एजेन्टको इजाजत पत्र सम्बन्धी व्यवस्थाको उपनियम ९ मा भन्सार एजेन्टले बढीमा २ जना व्यक्तिलाई आफ्नो प्रतिनिधिको रूपमा नियुक्त गर्न सक्ने व्यवस्था गरेको थियो ।
संशोधित भन्सार ऐन अनुसार अब भन्सार एजेन्ट स्वयं भन्सार कार्यालयमा उपस्थित भई मालवस्तु जाँच पास गर्नुपर्ने भएको छ । र यो व्यवस्था आर्थिक विधेयक सँगसँगै लागु भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा भन्सार विभागले ६ सय ६० जना नयाँ भन्सार एजेन्ट नियुक्ति गरेको छ ।
भन्सार विभागले २० वर्षअघि ४ सय जनाले भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो । २०६१ सालमा भन्सार एजेन्टको अनुमति पत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्रै परीक्षा लिनुपर्ने आदेश दिएको थियो । आर्थिक वर्ष २०७९/८० मा ऐनमा नै व्यवस्था गरेर नै ६ सय ६० जनाले नयाँ लाइसेन्स पाएका थिए ।
भन्सार एजेन्टको काम के हो ?
विदेशबाट बस्तु आयात गर्दा वा नेपालबाट नेपाली बस्तु विदेशमा निर्यात गर्दा भन्सार एजेन्टले सहजीकरण गर्ने छन् । विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् ।