कैलाली कारागार पुगेका रेशमलाई बन्दीले भने- तपाईं रिहा हुँदा खुशी छौं, अब हामीलाई पनि छुटाउनु होला
कैलाली । टीकापुर घटनामा पक्राउ परेकाहरूलाई भेट्न रेशम चौधरी कैलाली कारागार पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी संघीय दुई सांसद र प्रदेशसभाका एक सांसदसहित कैलाली कारागार पुगेका थिए ।
उनीहरुबीच करिब १० मिनेट संवाद भएको थियो । कारागारमा रहेका बन्दीहरुले चौधरी छुटेकोमा खुशी हुँदै आफूहरुलाई पनि रिहा गर्न अपिल गरेका थिए ।
केही समयअघि कारागारमा रहेका सन्तकुमार चौधरी निर्दोष सावित भएर रिहा भएका थिए । नागरिक उन्मुक्ति सरकारमा गएपछि पेशी चाँडो चाँडो आएको र सन्तकुमार चौधरी निर्दोष सावित भएको उनीहरुको भनाइ थियो ।
उनीहरुले आफूहरुलाई पनि रिहा गर्न अपिल गरेको र रेशमले आफू त्यही काममा लागेको बताएको स्रोतको दाबी छ । भेटका क्रममा असोज ३ गते रिहा गराउने गरी आफूले पहल गरिरहेको चौधरीले बताएका थिए । अहिले कारागारमा प्रदीप चौधरी, वीरबहादुर चौधरी र हरिनारायण चौधरी छन् ।
प्रतिनिधिसभा सदस्य अरुण चौधरी र गङ्गा चौधरी तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरीसहित रेशम कारागार पुगेका थिए ।