ईपीजी प्रतिवेदन सार्वजनिक गर्न भारत सकारात्मक हुनुपर्छ : डा. निहार नायक
'भारतले तल्लो तहको कूटनीतिज्ञ पठाएको टिप्पणी सुनेँ, उच्च राजनीतिक भेटघाटमा यस्तै प्रोटोकलको व्यवस्था छ'
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर भारतको भ्रमणमा छन् । प्रचण्डजस्तै व्यस्त छन् भारतका नेपाल मामिलाका जानकारहरू । यस्तै एक जानकार हुन् डा. निहार नायक । बुधबार प्रचण्डको सम्मानमा दिल्लीको बाह्रखम्बा रोड नेपाली दूतावासले प्रचण्डको स्वागतमा रात्रिभोज आयोजना गरेको थियो । कार्यक्रमका एक नोटेड निम्तालु थिए नायक । बहुसंख्यक निन्तालुहरू प्रचण्डको भाषण सुनेर खानपिनमा व्यस्त थिए । त्यही मेसोमा निहार भने नेपाल प्रेससँगको कुराकानीमा तयार भए । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा विद्यावारिधि गरेका नायकले नेपाल र भुटानका जानकारको सार्वजनिक छवि बनाएका छन् । वामपन्थी अतिवाद र माओवादका अध्येता पनि हुन् उनी । उनीसँग प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको सवाल र नेपाल-भारत कुटनीतिलगायतको विषयमा गरिएको कुराकानीको सारसंक्षेप नेपाल टकमा :
– अहिले चाहिँ प्रधानमन्त्री प्रचण्डको भाषणबाटै कुरा सुरू गरौँ, आजको रात्रिभोजमा उहाँले गरेको भाषणको हाउभाउमा तपाईँको टिप्पणी के छ ?
सम्बोधन राम्रो नै थियो । तर, नेपालीमा मात्रै नगरेको भए झन राम्रो हुन्थ्यो । किनभने त्यहाँ नेपाली भाषा बुझ्नेमात्रै थिएनन् । हो नेपाली भाषा भारतको पनि संविधानमै मान्यता पाएको भाषा हो । भारतमा ६० लाख बढी नेपाली भाषी छन् । हाम्रो सम्मान छ । तर, आजका दर्शक नेपालीका मात्रै थिएनन् । नेपाली केही बोलेर महत्वपूर्ण कुराहरू अंग्रेजीमा भनिएको भए धेरैले बुझ्ने थिए । अनुवादक राखिएको भए पनि राम्रो हुन्थ्यो ।
– प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा दौरासुरुवाल लगाएका छन् । भारतमा आउँदा सडकमा राखिएका पोस्टरहरूमा पनि दौरासुरुवालकै तस्बिर प्रयोग भएको छ । यो संयोग हो कि यसको सांस्कृतिक राजनीतिक केही अर्थ छ ?
यसको अर्थ हुनुपर्छ । भारतीय प्रधानमन्त्रीले गुजराँती पहिरन लाएर विश्व जानुहुन्छ । नेपालको पहिरन दौरासुरुवाल भएको तस्बिरको पोस्टरले स्वागत गर्नु राम्रो हो ।
– प्रचण्डको अहिलेको भारत भ्रमणका प्रमुख महत्व के हुन् ?
समयको हिसाबले यो भ्रमण निकै नै महत्वपूर्ण छ । रुस-युक्रेन युद्धले ऊर्जा संकट ल्याएको छ । खासगरी कोभिड महामारीपछि नेपालले पछिल्लो समयमा आर्थिक संकट झेल्दै आएको छ । यस्तो अवस्थामा कुनै ठूलो पूर्वाधार परियोजना वा आर्थिक सहायता नेपाललाई आवश्यक छ । यही समयमा नेपालभन्दा धेरै ठूलो अर्थतन्त्र र स्रोत भएको भारतजस्तो देशले नेपालमा केही परियोजनामा सहयोग गर्न सक्छ । त्यसतर्फ यो भ्रमण निकै महत्वपूर्ण हुनसक्छ । नेपाल र भारत देशका हिसाबले बराबर हुन् । सार्वभौम । तर, सामर्थ्यका हिसाबले, आर्थिक हिसाबले भारत बलियो पोजिसनमा भएकोले भारतले नेपाललाई एउटा छिमेकीको रूपमा सहयोग गर्नु दायित्व पनि हो । यो भ्रमणले त्यसतर्फ काम गर्न सक्छ । खासगरी प्रशारण लाइन र केही ठूला पूर्वाधार परियोजनामा राम्रो काम हुन सक्छन् ।
– नेपाल र भारतको उच्च राजनीतिक तहमा विश्वासको वातावरण कत्तिको छ ?
पछिल्ला ६ वर्षमा नेपालका ६ प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभएको छ भने मोदीले पछिल्ला ९ वर्षमा ५ पटक नेपाल भ्रमण गर्नुभएको छ । यसले उच्च तहको राजनीतिक तहको विश्वासलाई दर्शाउँछ ।
– भारतसँग नेपालले थप हवाई रुट मागिरहेको छ । भारतसँगको सीमा समस्या सुल्झाउन सहयोग मागिररहेको छ । यसतर्फ केही उपलब्धि होला त भ्रमणमा ?
यसमा केही न केही उपलब्धि हुनसक्छ । नेपालले मागेका सबै हवाई रुट भारतले नदिन सक्ला । तर, केही नयाँ दिनसक्ने देख्छु । सीमाको कुरामा पनि केही न केही सहमति हुनसक्छ ।
– नेपाल-भारत प्रवुद्ध समूहले तयार गरेको ईपीजी प्रतिवेदन लिन भारतले आलटाल गरिरहेको छ । यसमा तपाईँको धारणा के छ ?
भारत ईपीजी प्रतिवेदन सार्वजनिक गर्न सकारात्मक हुनुपर्छ । मलाई व्याक्तिगत रूपमा भारतले ईपीजी प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, हुनुपर्छ । दुवै देशका समितिका सदस्यले सार्वजनिक गरेको कुरा सार्वजनिक गर्न हिचकिचाउनु हुँदैन ।
– नेपालले चीनसँग केही गर्यो कि अथवा भारतलाई चित्त नबुझ्ने केही भयो कि चीनसँग जोड्ने भारतीय मिडियाका कुरामा के भन्नुहुन्छ ? नेपाल भारतभन्दा चीनसँग धेरै नजिकिएको भन्ने भारतीय भाष्यमा तपाईँको बुझाइ के हो ?
मलाई मिडियाका सबै कुरामा विश्वास लाग्दैन । पछिल्लो ६ वर्षमा नेपालका ६ प्रधानमन्त्रीको भारत भ्रमण भएको छ । विगत ९ वर्षको मोदीकालमा मोदीको पाँच पटक नेपाल भ्रमण भएको छ । सन् २०१४ मा चुनावबाट सरकारमा आउनेबित्तिकै मोदीले नेपालको भ्रमण गर्नुभएको थियो । मोदीले सबैभन्दा पछिल्लो समयमा प्रधानमन्त्री देउवा हुँदा लुम्बिनी भ्रमण गर्नुभएको थियो । यो धेरै राम्रो सम्बन्ध भएको उदाहरण हो । भारतको छिमेक पहिलो नीति नै हो । छिमेकीलाई प्रथामिकता दिने भन्ने हो ।
– भारतको छिमेक पहिलो नीति भन्ने छ, पाकिस्तानबाहेक हो ?
पाकिस्तानको भारतसँगको आतंकवादका कारणले राम्रो नभएको हो । मोदीले नराम्रो गर्न खोजेको होइन । पहिलोपटक प्रधानमन्त्री भएपछिको शपथग्रहणमा पाकिस्तानी प्रधानमन्त्री बोलाउनेदेखि पाकिस्तान भ्रमण गर्नुभएको हो ।
– सार्क शिखर सम्मेलन नेपालमा सन् २०१४ मा भयो । नेपाल अध्यक्ष भएर पाकिस्तानलाई पद हस्तान्तरण गर्ने समयमा भारतले बहिष्कार गर्दा अहिलेसम्म सार्क शिखर सम्मेलन भएको छैन । नेपाल सार्क अध्यक्ष भएकोले प्रचण्डले मोदीसँग यो विषयमा कुरा राखेमा भारतीय प्रतिक्रिया के हुन्छ ?
नेपाल अध्यक्ष भएको संस्था र सचिवालय नेपालमा भएको संस्थाको सहज नेतृत्व हस्तान्तरण गर्न खोज्नु धेरै राम्रो हो । स्वाभाविक हो । तर, भारतले त्यो स्वीकार गर्ने अवस्था छैन । भारत र पाकिस्तानका दुईपक्षीय काश्मिर मुद्दा पाकिस्तानले सार्क मञ्चमा उठाउने गरेको छ । सार्कको विधानले त्यसो गर्न दिँदैन ।
– सार्कमा सँगै नबस्ने भारत र पाकिस्तान सांहाई कर्पोरेसन अर्गनाइजेसन र ब्रीक्सका कार्यक्रममा चाहिँ सँगै हुन्छन् । यो विरोधाभाष भएन र ?
सार्कमा जस्तो अरु मञ्चमा पाकिस्तानले काश्मिर मुद्दा उठाउँदैन र त्यसो भएको हो । फेरि सार्क आफ्नै क्षेत्रको भएकेले त्यसमा भारतले पाकिस्तानी मुद्दामा अस्वीकार गरेर चासो नदिएको हो ।
– पाकिस्तान संसदले भारतसँग सम्बन्ध सुधारको पक्षमा केही कदम बढाएका समाचार आएका छन् । पाकिस्तान लचक भएमा सार्क पुरानो अवस्थामा आउन सक्छ ?
पाकिस्तान सुध्रेर आएको खण्डमा त्यो सम्भावना हुनसक्छ ।
– केही महिनाअगाडि धनगढीमा भएको अनौपचारिक कार्यक्रममा तपाइँले पछिल्लो समयमा बजारमा आएर चर्चा पाएको पुस्तक अल रोड लिड नर्थले धेरै पश्चिमाहरुको सहानुभुति पाउनु र पश्चिमाको आर्थिक सहयोगमा पुस्तकका कतिपय खण्डको फिल्ड भ्रमण भएको भन्नु भएको थियो । त्यस्तो किन भन्नुभयो ?
कुनै पनि कुरा प्रमाण, तथ्यको आधार हुनुपर्छ । नेपालको सबै सम्बन्ध चीनसँग मात्रै नजिक छ जस्तो गरेर गर्नु राम्रो होइन । पछिल्लो ७० वर्षमा नेपाल चीनसँग भन्दा भारतसँग ज्यादा झुकावमा छ । र, यो यात्रा जारि हुनेछ ।
– फरक प्रसंग, हालसालै अमेरिकी सरकारले ल्याएको सन २०२२ को धार्मिक स्वतन्त्रता प्रतिवेदनमा नेपालमा हिन्दू राज्य स्थापना गर्न बीजेपीका नेताहरूले पैसा दिएको भनिएको छ । यसमा तपाईँको भनाइ के छ ?
त्यो बेकारको कुरा हो । त्यो प्रतिवेदनमा नागरिक समाजको नेताको नाममा त्यसो भनिएको छ । दुनियाँलाई थाहा छ नागरिक समाजको फन्ड अमेरिकाको छ । स्वतन्त्र नागरिक समाज भन्ने तर अमेरिकी फन्ड लिने कुरा आफैँमा नमिल्ने कुरा हो । नागरिक समाजको नाममा अमेरिकाकै धज्जी उडाइरहेको छ ।
– यो भ्रमणलाई लिएर छुटेका केही टिप्पणी छन् ?
मैले केही नेपाली मिडियाहरूमा भारतले तल्लो तहको कूटनीतिज्ञ पठाएर प्रोटोकलमा राम्रो नगरेको भन्ने गरेको सुने । त्यसो होइन । पहिले पनि उच्च राजनीतिक भेटघाटमा यस्तै प्रोटोकलको व्यवस्था हुने गरेको छ ।