भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल, सकिएको छैन परियोजनाको काम – Nepal Press

भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल, सकिएको छैन परियोजनाको काम

विराटनगर । निर्माण नसकिँदै भारतको बथनाहाबाट नेपालको विराटनगरमा कार्गो रेल सञ्चालन गरिएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे सेवाको उद्घाटन गरेका हुन् ।

बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर रेलवे र कार्गो रेलवे सेवाको उद्घाटन गरेसँगै आजै बथनाहाबाट नेपाली उद्योगका कच्चापदार्थ बोकेको कार्गो रेल विराटनगर आइपुगेको छ ।

कार्गो रेल विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) आइपुगेको हो । बथनाहाबाट आईसापीसम्मको दूरी ८ किलोमिटर रहेको छ । बथनाहाबाट छुटेको कार्गो रेल १५ मिनेटमा आईसीपीसम्म आइपुग्छ ।

बिहीबार आएको मालबाहक रेलमा आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री रहेका छन् ।

बुधबार परीक्षणका लागि आईसीपीसम्म कार्गो रेल आएको थियो । यसअघि भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनको परीक्षण गरिएको थियो ।

नेपाल-भारत दुवै देशका झन्डा राखेर २०७५ सालमै बथनाहादेखि आईसीपीको स्टेसनसम्म परीक्षणस्वरूप रेलको इन्जिन ल्याइएको थियो । यसपछि भारतीय पक्षले पटक पटक नेपाललाई आईसीपीसम्म कार्गो रेल सञ्चालन गर्न अनुरोध गर्दै आएको थियो ।

भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेल सञ्चालन गर्ने परियोजना सन् २०११ मा सुरु भएको थियो । १८ किलोमिटर लामो रेलमार्गको मुआब्जा विवादका कारण काम अगाडि बढ्न सकेको छैन ।

अहिले बथनाहाबाट आईसीपीसम्ममात्रै रेलको लिक निर्माण भएको छ । बाँकी ८ किलोमिटरको कार्य भइरहेको रेल विभागले जनाएको छ । कटहरी क्षेत्रको २ किलोमिटर लिक निर्माण भने मुआब्जा विवादका कारण अगाडि बढ्न सकेको छैन ।

भारतीय पक्षको आर्थिक र प्राविधिक सहयोगमा सो रेल परियोजना सुरु भएको थियो । भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिका-१ महेशपुरसम्म रेल आउने परियोजनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर