सांसद विकास कोषलाई कक्षा ११ र १२ को शिक्षा निःशुल्क गर्न प्रयोगको माग गर्दै अनेरास्ववियुको ध्यानाकर्षण (भिडिओ)
काठमाडौं । अनेरास्ववियुले सरकारले सांसद विकास कोषलाई छुट्याइएको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गर्न रुलिङको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरेको सांसद विकास कोषको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो ।
अनेरास्ववियुले बिहीबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यसको निम्ति सरकारलाई रुलिङ गर्न आग्रह गरेको छ । सभामुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले देशको अर्थतन्त्र शिथिल भएको बेलामा सांसद विकास कोषको स्थापना गरी सांसदहरुलाई ५/५ करोड रुपैयाँ वितरण गर्नुले सांसदहरु जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको बताए ।
उनले सो कोषका लागि कानूनी व्यवस्था नभएपनि बद्नियतका साथ अगाडि बढाइएको उल्लेख गरे । उनले कोषका लागि छुट्टयाइएको ८ अर्ब २५ करोड रुपैयाँ रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क बनाउनका लागि प्रयोग गर्नुपर्ने बताए ।
ज्ञापनपत्र बुझ्दै सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । उनले सरकार, संसद लगायत राज्यका अंगहरुको आआफ्नो क्षेत्राधिकार हुने भन्दै सो कुरालाई मनन गर्न आग्रह गरे ।
ज्ञापनपत्र बुझाउनका लागि अनेरास्ववियुका अध्यक्ष समिक बडाल लगायतको प्रतिनिधि मण्डल सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेको थियो ।