करणीको कसुरमा इज्जत पीडित महिलाको जान्छ कि पीडक पुरुषको ?
केही दिनअघि स्नातक तहको एउटा कक्षामा अपराध र समाज नामक विषय पढाउँदै थिएँ । छलफल गर्दै जाने क्रममा महिला विद्यार्थीहरुमात्र भएको उक्त कक्षामा एउटा काल्पनिक प्रश्न सोधें । मानिलिनुहोस्, तपाईं एउटा यस्तो परिबन्दमा पर्नुभयो, जहाँ कुनै अपरिचित पुरुषले तपाईंलाई जबरजस्ती करणी गर्न खोज्यो र करणी गर्न नदिए तपाईंलाई मारिदिने भन्यो । यस्तो परिस्थितिमा पर्नुभयो र तपाईंले कि मर्न तयार हुनुपर्यो कि त करणी गर्न दिनुपर्यो भने तपाईं कुन विकल्प रोज्नुहुन्छ ? कक्षामा भएका २५ छात्रामध्ये १५ जनाले आफू बरु मर्न तयार हुने विकल्प रोज्नुभयो भने १० जनाले आफू बरु करणी गर्न दिन तयार हुने बताउनुभयो । किन भनी प्रश्न गर्दा मर्ने विकल्प रोज्नेहरुले बलात्कार पीडित भएर समाजमा बाँच्नु मर्नुभन्दा पीडादायक हुने बताउनुभयो । बरु करणी गर्न दिने विकल्प रोज्नेहरुले कुनै पनि अपराधको पीडा वा इज्जत प्रतिष्ठाभन्दा जीवनको मूल्य ठूलो हुने बताउनुभयो । छलफलले मेरो मस्तिष्कमा एउटा गहिरो प्रश्न छाडिदियो- यौन हिंसा र हिंसाका पीडित तथा पीडकको सामाजिक इज्जत र प्रतिष्ठाको सम्बन्ध के हो ?
कुनै पुरुषले कुनै महिलालाई करणी गरेको सन्दर्भमा इज्जत पीडित महिलाको जान्छ होला कि पीडक पुरुषको ? केहीबेर सोचेर उत्तर दिँदा हामीले पीडक पुरुषको इज्जत जान्छ भने पनि सामान्यतः हामी महिलाको इज्जत जान्छ भन्ने कथ्य र लेख्यका बीच जीवनयापन गरिरहेका छौं । यौनिकता र महिलाको इज्जत सामाजिक भाष्यमा मात्र अन्तर्निहित मानिएको होइन, राज्य निर्मित नीति नियम र कानूनमा समेत लेखबद्ध छ । न्यायपालिकाका कैयौं फैसलाहरुमा समेत यौनिक कसुरका कारण महिलाको इज्जतमा क्षति पुगेको भन्ने भाव उल्लेखित पाइन्छ । अर्थात यस धारणाले न्यायिक मान्यता ग्रहण गरिसकेको छ ।
वि.सं. २०७५ सालको नेपाल कानून पत्रिकाको अंक ०५ मा प्रकाशित जबरजस्ती करणीसम्बन्धी मुद्दाको फैसलाको प्रकरण १२ मा लेखिएको छ- ‘… कुनै पनि संरक्षक आमाबाबुले आफ्नो छोरीको सामाजिक इज्जत, सम्मान र प्रतिष्ठामा आँच आउने गरी छोरीलाई प्रयोग गरी जबरजस्ती करणी जस्तो जघन्य अपराधमा झूटा जाहेरी दिएको भनी अनुमान लगाउनु सर्वथा न्यायोचित नहुने ….।’ यस फैसलाको लेखनमा करुणा भाव पीडित बालिकाप्रति राखिएको भए तापनि जबरजस्ती करणी हुँदा बालिकाको सामाजिक इज्जत, सम्मान र प्रतिष्ठामा आँच आउँछ भन्ने धारणालाई चाहिं अदालतले आत्मसात गरेको छ ।
के यौन हिंसामा परेकी महिलाको शरीर सामान्यतः घृणित अवस्थामा हुन्छ ? के यौन हिंसामा परेकी महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्याति कमजोर हुन्छ ?
त्यस्तै २०७६ सालको नेपाल कानून पत्रिकाको अंक ०७ मा प्रकाशित जबरजस्ती करणीसम्बन्धी मुद्दाको फैसलाको प्रकरण १० मा लेखिएको छ- ‘… नाबालिकामाथि हुने जबरजस्ती करणी जस्तो घृणित तथा आफूउपर आजीवन सामाजिक दाग लाग्ने अपराधमा अन्य वस्तुगत तथा विश्वसनीय र ठोस प्रमाणबाट कसुर पुष्टि भएको अवस्थामा पीडितका जाहेरवाला … अदालतमा उपस्थित नभएको भनी त्यसको फाइदा प्रतिवादीलाई दिँदै जाने हो भने जबरजस्ती करणी मुद्दामा प्रतिवादीले सजायबाट सधैं उन्मुक्ति पाउने ….।’ फैसलाको उक्त लेखनमा पनि अदालतको करुणा भाव पीडित महिलाप्रति नै रहेको सजिलै बुझ्न सकिन्छ । तर सँगसँगै फैसलाको उल्लेखित अंशले के प्रष्ट्याउँछ भने कुनै पनि जबरजस्ती करणी पीडित महिलाउपर करणी भएको समाजले थाहा पायो भने निजउपर आजीवन सामाजिक दाग लाग्छ ।
मुलुकी ऐन २०२० को करणीसम्बन्धी महलको ७ नम्बरमा कसैले कुनै वेश्यासँग निजको अनुमतिविना करणी गरेमा सो व्यक्तिलाई पाँच सय रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो । जुन मुलुकी ऐनको एघारौं संशोधनद्वारा खारेज गरियो । उक्त व्यवस्थाको आशय वेश्या महिलालाई जबरजस्ती करणी गर्नु अन्य महिलालाई जबरजस्ती करणी गर्नुभन्दा कम गम्भीर हो भन्ने रहेको थियो । कुनै पनि महिला वेश्या भएकै कारण निजलाई जबरजस्ती करणी गर्दा कम सजाय हुनु अर्थात कसुरको गम्भीर्यता घट्नुको तात्पर्य भनेको निजको शारीरिक सम्प्रभुता अन्य महिलाको भन्दा कमजोर हुनु हो । जुन स्वीकार्य हुन सक्दैन ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ११ मा यस दफाबमोजिम कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्नेछ । तर, पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरी उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशीलताको सम्मान गर्दै पुरुष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्नेछैन भन्ने व्यवस्था रहेको छ । यो व्यवस्था पनि हेर्दा महिलाको इज्जत वा प्रतिष्ठालाई संरक्षण गर्ने खालको देखिन्छ । तर, विधायिकी मानसिकता चाहिं के हो भने कुनै पनि महिलाको स्तन, जाँघ, योनीलगायतका यौनिक अंग कुनै पुरुषले छोएमा त्यस्तो महिलाको इज्जत वा प्रतिष्ठामा आँच आउँछ ।
बेइज्जती हुनु भनेको के रहेछ भनी हेर्दा मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ को उपदफा २ (क) ले ‘अरुको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्नसक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिन्ह वा प्रचारप्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तो व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचारप्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रुपमा प्रयोग गरिएको कुनै चिज जानीजानी बिक्री वा वितरण गरेमा बेइज्जती गरेको मानिनेछ’ भनिएको छ ।
जबरजस्ती करणी पीडित बालिका तथा महिलाहरु, अनुसन्धान अधिकारीहरु, साथीहरु, छिमेकीहरु र आफन्त तथा परिवारका सदस्यहरुबाट समेत अपहेलित हुने, बेलाबखत यौनजन्य हिंसामा पर्ने, शैक्षिक संस्था तथा कार्यालयहरुमा समेत कार्यक्षमतामा ह्रास आउने समस्या देखिने गरेका छन् । यी समस्या देखिनुको प्रमुख कारण पीडितको इज्जत गुमेको भन्ने अर्थमा चित्रित गरिनु नै हो ।
उक्त परिभाषालाई हेर्दा यौन हिंसामा परेकी महिलाको उल्लेखित परिभाषाको कुन चाहिं अंशसँग तालमेल हुन्छ भन्ने चाहिं एकिन गर्न सकिएन । के यौन हिंसामा परेकी महिलाको शरीर सामान्यतः घृणित अवस्थामा हुन्छ ? के यौन हिंसामा परेकी महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्याति कमजोर हुन्छ ? यौन हिंसामा परेकी महिलाको शारीरिक सम्प्रभुतामाथि आक्रमण गरिन्छ । जुन कानून विपरीत हो । तर, उनले गुमाउने भनिएका चिजहरु शरीरको पवित्रता, सतित्व, नैतिकता, इज्जत, प्रतिष्ठा साँच्ची गुम्छन् ?
जबरजस्ती करणी आफैंमा एउटा जघन्य कसुर हो । यो सभ्यताको दृष्टिकोणबाट पनि घृणित, असामाजिक र अनैतिक कार्य हो । यसखालका कार्यप्रति कुनै नम्रभाव राख्न सकिँदैन । तर, जबरजस्ती करणीलाई पीडितको इज्जत-प्रतिष्ठासँग जोडेर पीडितलाई थप प्रताडित गरिरहेका छौं । जबरजस्ती करणीलाई हामीले महिलाको शारीरिक सम्प्रभुतामाथिको आक्रमणभन्दा बढी कुनै पुरुषको यौनिक एकाधिकार तोडिएको भन्ने दृष्टिकोणबाट त हेरिरहेका छैनौं ? जबरजस्ती करणीका पीडितहरुलाई थप पीडा नदिने र थप क्षति हुनबाट रोक्ने हो भने यसलाई इज्जत-प्रतिष्ठासँग जोड्नु नै हुँदैन । नत्र पीडकले दिएको पीडामा समाज थप पीडक बनिरहन्छ ।
संयुक्त राज्य अमेरिकामा गरिएको अध्ययनअनुसार जबरजस्ती करणीपछि पीडित बालिका तथा महिलाहरुमा ७० प्रतिशतमा डिप्रेसनको गम्भीर समस्या देखिने, ३३ प्रतिशतले आत्महत्याको प्रयास गर्ने तथा १३ प्रतिशतले आत्महत्या गर्ने र सामान्य व्यक्तिको तुलनामा ३ देखि १० गुणासम्म बढी लागूऔषध दुर्व्यसनीमा फस्ने पाइएको छ । साथै जबरजस्ती करणी पीडित बालिका तथा महिलाहरु, अनुसन्धान अधिकारीहरु, साथीहरु, छिमेकीहरु र आफन्त तथा परिवारका सदस्यहरुबाट समेत अपहेलित हुने, बेलाबखत यौनजन्य हिंसामा पर्ने, शैक्षिक संस्था तथा कार्यालयहरुमा समेत कार्यक्षमतामा ह्रास आउने समस्या देखिने गरेका छन् । यी समस्या देखिनुको प्रमुख कारण पीडितको इज्जत गुमेको भन्ने अर्थमा चित्रित गरिनु नै हो । त्यसैले समाज परिवर्तकहरुले यी र यस्ता मसिना ठानिएका विषयमा पनि गहिरो चासो र गहन कार्यको थालनी गर्न आवश्यक छ । पीडित मैत्री समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक छ । कानून बनाउनेहरु र व्याख्या गर्नेहरु चाहिं अलि बढी सजग हुनुपर्छ ।