सुनकोशीमा खसेको जीप अझै भेटिएन, धनेघाटमा भेटिएको एउटा शवको पहिचान खुलेन
काठमाडौं । सिन्धुलीको गोलोन्जोर गाउँपालिका- ७ लौकुनमा शुक्रबार दिउँसो सुनकोशी नदीमा खसेको सीटीईभीटीका कर्मचारी सवार जीप अझै भेटिएको छैन ।
घटनामा परी ३ जना बेपत्ता छन् । सिन्धुली प्रहरी प्रमुख राजकुमार सिलवालले घटनास्थलभन्दा केही पर सुनकोशी नदीमा एक जनाको शव भेटिए पनि पहिचान खुल्न बाँकी रहेको बताए ।
‘धनेघाटमा एक जनाको शव भेटियो भन्ने छ । यही घटनासँग सम्बन्धित हो कि होइन, हेर्दैछौं’, एसपी सिलवालले भने ।
उनले सशस्त्र प्रहरी बलको गोताखोर टोली घटनास्थल आइपुगेको बताए । ‘अब खोजी कार्य सुरु हुन्छ । पानीको तीव्र बहाव भएको क्षेत्र भएकाले सामान्य तरिकाले उद्धार गर्न सकिएन’, उनले भने ।
बेपत्ता हुनेमा सीटीईभीटीका निर्देशकद्वय कृष्णबहादुर केसी र यामप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल रहेका छन् ।
जीप सडक किनारबाट करिब डेढ सय मिटर तल सुनकोशी नदीमा खसेको थियो । जीपमा ४ जना सवार रहेकोमा चालक कृष्ण चौधरी भने पौडेर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।