सुनकोशी गाउँपालिकाका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू – Nepal Press

सुनकोशी गाउँपालिकाका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू

सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिकाले पालिकाभरका सामुदायिक तथा निजी विद्यालयहरुमा शैक्षिक सत्र २०८०/८१ बाट स्थानीय पाठ्यक्रम लागू गरेको छ ।

गाउँपालिकाभरका विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेर पठनपाठन सुरु गरिएको हो ।

संविधानले परिलक्षित गरेबमोजिम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले सबै विद्यालयहरुमा लागू गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको पहिलो वर्षमै शैक्षिक क्षेत्रमा स्थानीय विषयवस्तुलाई समावेश गर्न स्थानीय पाठ्यक्रम तयार पारेर विद्यालयहरुमा कार्यान्वयनका लागि पठाएको छ ।

गाउँपालिकाले बाघभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो । कार्यदलले दुई महिना लगाएर सरोकारवाला र सम्बन्धित विज्ञहरुसँग छलफल र राय सुझाव समेटेर ‘हाम्रो सुनकोशी’ स्थानीय पाठ्यक्रम तयार गरेको थियो ।

स्थानीय पाठ्यक्रममा गाउँपालिकाको परिचय, पालिकाभित्रका संस्कृति, संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदा, घरेलु उद्योग, पशुपन्छी, माछापालन, हाम्रा पेशा व्यवसायलगायतका नौ विषयवस्तु समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्य घण्टा, विषयवस्तुको विस्तृतीकरण, सिकाइ सहजीकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधि, विद्यार्थी मूल्यांकनलगायतका विषयवस्तुहरु समेटिएका छन् ।

स्थानीय पाठ्यक्रम लागु भएर कक्षा ८ सम्मको अध्ययन पूरा हुँदा सबै विद्यार्थी गाउँपालिकाभित्रको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्षम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

यसैबीच गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सार्वजजिनक गरेका छन् ।

उक्त अवसरमा गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले स्थानीय पाठ्यक्रम लागू भएपछि गाउँपालिकाभित्रका विद्यालयलाई आफ्नो भूगोलको बारेमा ज्ञान प्राप्त हुने बताए । आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअनुसार कक्षा १ देखि ८ सम्म नै पाठ्यपुस्तकसमेत तयार पारेर विद्यालयहरुमा उपलब्ध गराइने उनले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामाले स्थानीय विषयवस्तु समेटेर तयार पारिएको पाठ्यक्रम विद्यार्थी र शिक्षकहरुका लागि व्यवहारिक हुने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *